काठमाडौं । गायक गौरब दर्पणको गीत‘पसिनाको सार्बजनिक भएको छ ।
आत्मस्पर्श गर्ने गीतको म्युजिक भिडियोमा कास्ट छन् कलाकार कामेश्वर चौराशीया र लक्ष्मी वर्देवा। कामेश्वर वैदेशिक रोजगारीमा गएको मजदुर पात्रको भूमिकामा छन् भने लक्ष्मी उही पात्रको जहानको भूमिकामा छिन्।
भिडियोको कथा पूरानै छ। सुनिआएकै र भोगिआएकै वास्तविकता। यद्यपि, प्रस्तुति र अभिनयले कथामा नयाँपनको आभास भिडियोले गराउँछ।
फिल्मका ठूला पर्दाहरूमा प्रायः मधेशी पात्रको भूमिकामा देखिने कामेश्वर यस म्युजिक भिडियोमा मजदुरको भूमिकामा देखिएका छन्, अब्बल अभिनयको साथमा। उनको हिँडाइ, इसाराजन्य बोलाइ र अनुहारको भावभंगिमाले नै वास्तविक मजदूरको अवस्थालाई बलियो चित्रण गर्छ।
ठूला भवनहरूमा जोखिमपूर्ण काम गरिरहेको दृश्य भावनात्मक छन्। लामो समय फिल्ममा काम नपाएर एक समय माछा तारिरहेका थिए कामेश्वरले। निकै अवधिपश्चात् भिडियोमार्फत देखा परेका उनले प्रमाणित गरिदिएका छन्, कि फरक भूमिकामा अब्बल अभिनयमार्फत्।
थिएटर पृष्ठभूमिकी लक्ष्मी स्वयम्ले म्युजिक भिडियोको निर्देशन गरेकी हुन्। ‘पसिनाको कमाइ’मा गाढामा पसल थाप्ने महिलाको भूमिकामा छिन् लक्ष्मी। बाध्यताका कारण श्रीमान् टाढा हुनुको पीडा उनको अनुहारमा प्रष्ट झल्कन्छ।
परदेशीएको पतिको यादलाई पसलमा आउने एक जोडीको प्रेमालापले गाढा बनाएको दृश्य मार्मिक छ।
पति परदेश हुँदा एउटा महिलाले भोग्नु परेको दुर्व्यवहार पनि भिडियोमार्फत् देखाउन खोजिएको छ।
भिडियोमा स–साना कुरालाई कलात्मक ढंगले बुनेर भन्न खोजिएको छ। एउटा दृश्य- स्कुटीमा बच्चा लिएर गइरहेकी छिन् एक महिला। गाढामा पसल गरेकी मजदुर वर्गको प्रतिनिधत्वझैं लाग्ने अर्की महिला आफ्नो छोरालाई गाढामा राखेर लिएर गएकी छिन्। यी दुई कृयाकलापलाई तुलना गरेर सोच्दा एउटा कारुणिक बिम्ब मस्तिष्कमा बन्न जान्छ।
यसर्थ गरिब हुनुको पीडा र बाध्यतालाई भिडियोले पृथक र मार्मिक ढंगले दर्शाएको छ।
लक्ष्मीले यसभन्दा अघि पनि म्युजिक भिडियोमा निर्देशन गरिसकेकी छन्। उनले निर्देशन गरेको ‘नसा’को म्युजिक भिडियोलाई थुप्रै दर्शकले रुचाएका थिए।
भिडियोको अन्य कास्टहरूमा सुदीपजंग कार्की, विशाल डोटेल र प्रसंग गौतम रहेका छन्।
https://youtu.be/UkKMWEUdcP4