काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुनावका बेला जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न सकेको छैन । जनतामा सरकारको व्यापक आलोचना भइरहेको छ ।
दशैंतिहारको मुखमा सरकारले बजारमा महंगी नियन्त्रण गर्न सकेको छैन । महंगीको मारमा सर्वसाधारण परिरहेका छन् । यस्तो बेला ओली सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरकार आफैं खसीबोका बेच्न पसल थाप्न सक्ने घोषणा गरेका छन् ।
सरकारको काम खुला बजारमा ग्राहकमाथि ठगी गर्नेलाई कारवाही गर्ने हो । तर मन्त्री कारवाही गर्न नसक्ने तर जनतालाई झुक्याउन अर्काे प्रतिबद्धता जनाएर खसीबोका बेच्ने कुरा गरिरहेका छन् । बजारमा ठगी गर्नेलाई सरकारले नियन्त्रण गर्न सकेको छैन ।
दशैंअघि चलिरहेको बजार अनुगमनका विषयमा जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उद्योगी ब्यापारी सच्चिएनन् र मूल्य बढाउन रोकेनन् भने मन्त्रालय आफैं बसेर खसीबोकादेखि चामल बेच्ने अवस्था आउने छ ।’
अनुगमनका क्रममा व्यापारीले अवरोध गरेको समेत मन्त्री यादवले गुनासो गरे । रञ्जना मलमा अनुगनमा गएका कर्मचारीमाथि व्यापारीले आक्रमण गरेको भन्दै मन्त्री यादवले व्यापारीको नियत नै ठग्ने देखिएको जनाएका छन् ।
‘उपभोक्ता ऐनले व्यापारीलाई नछोओस् भन्ने चाहन्छौं । कृपया ठगी गर्ने काम नगर्नुहोस्,’ उनले भने, ‘हुँदाहुँदै पनि छैन भनेर अभाव सिर्जना गराउनेलाई सरकारले कारवाही गर्छ । राज्य चुप लागेर बस्दैन । यो चेतावनी हैन, अनुरोध हो ।’ सरकारले चेतावनी ठूल्ठूला दिएपनि कारवाही नगर्दा व्यापारीको मनपरी बढेको छ ।