बाहुण्डाँगी । जब दशैं आउँछ सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको बर्दिमा सजिएका एक व्यक्तिको तस्बिर एकाएक सामाजिक सञ्जालमा भाइरल हुन पुग्छ । तस्बिरमा देखिने व्यक्ति नेपाली दर्शकमाझ अतिनै लोकप्रिय छन् तर धेरैलाई उनको नाम थाहा छैन किनकी उनि मिडिया तथा नेपाली कला जगतमा चर्चित त भए तर आफ्नो नामलाई अगाडि कहिले सारेनन् । कति ट्रोल पेजहरुलेत उनलाई आजकल भ्वाइस अफ नेपाल सिजन २ का पृथ्वी खनाल सँग तुलना गर्न पनि भ्याएका छन् । हरेक दशैमा सामाजिक सञ्जालमा भाइरल हुने यी व्यक्ति सशस्त्र प्रहरीका निरीक्षक दीपक कोइराला हुन् ।
काठमाण्डौको मध्य बानेश्वर स्थित रत्न राज्य माध्यमिक विद्यालयबाट स्कुले जीवन पार गरेका उनी दोलखा जिल्लाको पवटी भन्ने स्थानमा पिता देवी प्रसाद र माता देब कुमारीको जेष्ठ सुपुत्रका रूपमा २०३७ सालमा जन्मेका हुन् । परिवार सहित २०४३ सालतिर काठमाण्डौ छिरेका कोइरालाले उच्च शिक्षा भने काठमाण्डौको प्रदर्शनीमार्ग स्थित रत्न राज्य लक्ष्मी क्याम्पसबाट पूरा गरे । पत्रकारिता विषयका विद्यार्थी उनले करिब ८ वर्ष मिडियामा काम पनि गरे सँगसँगै विभिन्न इन्स्टिच्यूटमा पत्रकारिता विषय अध्यापन गराउन थाले । पारिवारिक समस्या र आवश्यकताका कारण १८ वर्षको कलिलो उमेरमा गोकर्ण पखाथोक की लीला भण्डारीसँग २०५४ सालमा विवाह गरेका हुन । हाल उनका २ छोरी १ छोरा छन । उनका बाबु अवकाश प्राप्त नेपाली सेनाका प्रमुख सूबेदार हुन , छोरालाई फौजको अधिकृत बनाउने बाबुको सपना पूरा गर्न कोइराला पत्रकारिता छाडेर द्वन्दकालमै २०६० सालमा सशस्त्र प्रहरीमा सहायक निरीक्षकको रूपमा सेवा प्रवेश गरे ।
प्रष्टवक्ता पत्रकारितामा दख्खल राखेको व्यक्ति भएकै कारण उनलाई सशस्त्र प्रहरीमा पनि मीडिया सँग सम्बन्धित श्रव्यदृश्य शाखामा सेवा गर्ने अवसर मिल्यो । शाखामा रहँदा कोइरालालाई तात्कालीन डि एस्पी रवि थापा र राघब सिंह थापा संग मिलेर अभिनय सिक्ने अवसर मिल्यो । २०६४ सालमा खुल्ला प्रतियोगिता बाट निरीक्षकमा नाम निकालेपछि उनले श्रव्यदृश्य शाखाको प्रमुखको रूपमा लामो समय काम गरे जुन अवधिमा उनी कलाकारबाट कुशल उद्घोषक , कार्यक्रम प्रस्तोता र चलचित्र एबं वृत्तचित्र लेखक तथा निर्देशक बने । उनीसँग सशस्त्र प्रहरीका १०० भन्दा बढी टेलिचलचित्र एबं १५० वृत्तचित्रको लेखन अभिनय तथा निर्देशनको अनुभव छ ।
सशस्त्र प्रहरीमै रहँदा उनले हरेक दशैमा एउटा फौजीले भोग्ने पीडा समेटेर जयनन्द लामाको लय समातेर २०६२ सालतिर दशैंको खसी नामक टेलिचलचित्र को क्लाइमेक्स गीतको रूपमा धानकै वाला झुलाउला भन्ने गीतको शब्द कोरे र उक्त टेलिचलचित्रमा नायक आफै भएकोले आफैले अभिनय पनि गरे , दशैंको फूलपातीको दिन टेलिचलचित्र नेपाल टेलिभिजन बाट प्रसारण भएपछि एकाएक उक्त गीतको चर्चा हुन थाल्यो र सशस्त्र प्रहरीलाई गीतमात्र काटेर दिन टेलिभिजन हरुबाट अनुरोध आए पछि प्रशारण शुरू भएको उक्त गीतबाटनै हालसम्म पनि दशैं शुरू भएको आम दर्शकले अनुभूति गर्ने गरेका छन् ।
धान कै वाला पछि उनले राइफलको सिरानी , फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार , घरदेश परदेश जस्ता कालजयी गीतमा शब्द कोरेर अभिनय पनि गरे जुन गीतहरू हरेक वर्षको दशैमा सामाजिक सञ्जालहरुमा भाइरल हुने गर्छन र टेलिभिजनहरुमा पनि त्यतिकै बज्ने गर्छन । प्राय सबै गीतहरूमा दशैमा घर जान नपाएको पीडा समेटिएको हुने हुनाले उनका प्रशंसक हरुले उनको तस्बिरमा ट्रल नै बनाई “यी दाजुले यो दशैमा बिदा पाउलान् की नाई “ लेखेर भाइरल बनाउने गरेका छन् । निरीक्षक कोइराला हाल सिरहाको सुखीपुरमा कार्यरत छन् । कला क्षेत्र छोड्नुको कारण के हो भनी प्रश्न गर्दा उनले भने “ म यो देशको सिपाही हुँ , संगठनले स्थान दियो मैले आफ्नो रहर पूरा गरे अब जनताको सेवा पनित गर्नु पर्यो , अधिकृतका रूपमा ठाउँ ठाउँमा हेर्ने आफ्नो बुद्ध बाबुको रहर अनि सपना पनि त पूरा गर्न पर्यो ।“ उनले थपे “ कलाकारले श्वास फेर्न विर्सेला कला र साधना छोड्दैन , म मेरा प्रशंसकहरुलाई कोशेली दिन एकदिन फेरि आउनेछु “
( दीपक कोइराला सँग गरिएको टेलिफोन कुराकानीमा आधारित )
https://www.youtube.com/watch?v=bNqGb2lX1xM&feature=youtu.be&fbclid=IwAR3OTUWRB-qAj9tyxZB3qCmPywBwl7FLSmX73BHNxfD77fzcb-NQqk_hYuA