बर्दिया : जिल्लामा पछिल्लो समय बालविवाह बढ्दै गएको छ। उमेर नपुगी धेरै किशोर किशोरीले बालविवाह गर्ने गरेका छन्। केही समयअघि परिवारका कारण हुने गरेको बालविवाह क्रमिक रुपमा घट्दै गए पनि किशोर किशोरीहरू यो चपेटामा पर्ने गरेका छन्। १० देखि १९ वर्ष मुनिका किशोरीले बालविवाह गर्ने गरेको पाइएको छ। विशेष गरी वालिका र महिलाको सवालमा बालविवाहले एउटै मात्र अधिकारको उल्लंघन नगरी उनीहरूको जीवन चक्रमा थुप्रै अधिकारको उल्लंघन श्रृंखला सिर्जना गरी थप हिंसामा पर्ने अवस्थालाई निम्त्याइ दिन्छ। बालविवाह उच्च रहेका मुलुकहरू मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ। दक्षिण एशियामा बालविवाहमा नेपाल बंगलादेश र भारतपछिको तेस्रो स्थानमा छ।
२०६८ मा गरिएको जनगणना अनुसार विवाहित जनसंख्याको तथ्यांकले १० देखि १९ वर्षभित्र विवाह गर्नेको संख्या जम्मा विवाहित जनसंख्याको ४८.९५ प्रतिशत देखाएको छ। चेतनाको अभाव, सही सूचनाको अभाव, विद्यालय पहुँचको अभाव, किशोरीका लागि सुरक्षाको अभाव तथा सामाजिक वहिस्कार जस्ता पक्षहरूले गर्दा बालविवाह भइरहेको छ। कानुनले बन्देज गरे पनि बालविवाह भने बढ्दै अहिले विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ। उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा वालवालिकाको उमेर अनुसार बढीमा तीन वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था समेत गरिएको छ। बालविवाहले समाजमा धेरै जोखिमता निम्त्याएको छ। बालविवाहले उनीहरूलाई शिक्षाबाट बञ्चित गराउनुको साथै अनिर्णयको बन्दी बनाइएको छ। मातृ स्वास्थ्य तथा उनीहरूको स्वास्थ्यमा असर गरेको छ भने घरेलु हिंसा बढाउन उत्तिकै भूमिका खेलेको छ। 'बाविवाह न्यूनीकरणका लागि तिनै तहका सरकारले कानुन बनाएर अघि बढिरहेका
छन्' उनले भने, 'कानुनी जटिलता हुँदाहुँदै पनि गुपचुप रुपमा बालविवाहका घटना बढ्दै गइरहेका छन्। स्थानीय समुदाय आफैँ अग्रसर नभएसम्म बालविवाह न्यूनीकरण गर्न सकिन्न।' अहिले बर्दिया जिल्ला अदालतमा बालविवाहका घटना न्यून मात्रामा मात्रै दर्ता हुने गरेका छन्। कानुनको भागीदार भइने भन्दै स्थानीयले बालविवाहलाई गोप्य राख्ने गरेका छन्। स्थानीयले कानुनको बेवास्था गरि कानुन पालना नगर्नाले पनि बालविवाह न्यूनीकरण हुन नसकेको हो। विद्यालयबाटै विवाह उमेर नपुग्दै बिहे गर्नेमा स्कुले बालबालिका रहेको पाइएको छ। बर्दियाका विभिन्न पालिकामा आठ-नौ कक्षाका विद्यार्थीले बिहे गर्ने गरेको पाइएको जनप्रतिनिधिले जनाएका छन्। बर्दियामा कक्षा ९ र १० मा विद्यालय छाड्ने छात्राको संख्या बढ्दै गएको पाइएको छ। अभिभावकले असहमति जनाए पनि बालबालिकाले बिहे गर्ने गरेको उनीहरूको भनाइ छ। स्वास्थ्य संस्था अनुगमनका क्रममा १४/१५ वर्षमै आमा बन्ने गरेको पाइएको छ। बालविवाह न्यूनीकरणको पहल अहिले बर्दियामा बालबिवाह न्यूनीकरणका लागि प्रयासहरू नभएका भने होइनन्। विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहकार्य र साझेदारीमा
बालविवाहविरुद्धको अभियान चलिरहेको छ। बढ्दै गइरहेको बालबिवाह न्यूनीकरणका लागी बर्दियाको सदरमुकाम गुलरियामा केन्द्रीय कार्यालय रहेको दलित महिला संघले प्रयास गर्दै आएको छ। बर्दियाका ४ वटा नगरपालिकामा बालविवाह न्यूनीकरणका लागि सञ्जाल गठन गर्ने क्रममा बिहीबार ठाकुरबाबा नगरपालिकामा उक्त सञ्जाल गठन गरिएको छ। बर्दिया जिल्लाका ४ वटा नगरपालिका ठाकुरबाबा, गुलरीया, मधुवन र राजापुरमा बालबिवाह न्यूनीकरणका लागि पहल थालिने दलित महिला संघका कार्यक्रम संयोजक देविका केसीले जानकारी दिए। उक्त समितिले ठाकुरबाबा नगरपालिकामा बालविवाह न्यूनीकरणका लागि बिभिन्न चरणमा स्थानीयसँग छलफल गर्ने जनाइएको छ। यसअघि ठाकुरबाबा नगरपालिकामै किसोर किशोरीहरुको नगरस्तरीय सञ्जाल गठन गरिसकिएको छ। यस्तै बर्दियाका बिभिन्न पालिकाहरूले पनि बालविवाह न्यूनीकरणका लागि पहल थाल्दै आएका छन्। जनप्रतिनिधिले विद्यालय स्तरमा बालबालिकालाई सचेत बनाउन विद्यालयमै पुगेर सचेतीकरण गर्ने गरेका छन्। स्थानीय तहको निर्वाचन भइसकेपछि जनप्रतिनिधिको प्रयासममा बालविवाह केही हदसम्म कम भए पनि अझै बालविवाह गर्ने क्रम भने बढ्दो छ।
आफैं सचेत नभए बालविवाह न्यूनीकरण गर्न कठिन बालबालिका स्कुल पढ्दा पढ्दै प्रेम विवाह गर्ने गरेका छन्। बर्दियामा यस्ता थुप्रै उदाहरणहरू छन्। बालवालिका आफै सचेत नभएसम्म बालविवाह न्यूनीकरण गर्न असम्भव हुने केही अगुवाले बताएका छन्। जबसम्म विवाह गर्ने उमेर समूहका किशोर किशोरी विवाह गर्ने कुरामा सचेत हुँदैनन् तवसम्म समाजमा कुरीतिका रुपमा जरा गाडेर रहेको बालविवाह न्यूनीकरण गर्न नसकिने परिस्थिति सिर्जना भएको उनीहरूले बताएका हुन्। ठाकुरबााब नगरपालिकाका
नगरउपप्रमुख कृष्णा कुष्मा थारुले बाल विवाहका कारण समाज प्रभावित भइरहेको बताए। उनले पछिल्लो समय मागी भन्दा पनि भागी विवाह बढ्दै गएको पनि बताए। यसलाई सामाजिक संस्कारले समेत प्रभाव पारेको छ। बढ्दै गइरहेको बाल विवाह न्यूनीकरणका लागि विवाह गर्ने उमेरका किशोर किशोरी नै सक्रिय हुनुपर्ने देखिएको छ।
समाजमा बाधक बनेर रहेको बाल विवाह न्यूनीकरणमा शिक्षक, बिद्यार्थी तथा अभिभावकका साथै स्थानीय सरकार समेत सक्रय भएर लाग्नु पर्छ। सबैको सक्रिय प्रयासमा बालबालिकालाई सचेत बनाएर सानो उमेरमा विवाह गर्दा हुने समस्याका विषयमा सचेतना जगाउन सकियो भने क्रमिक रुपमा बालविवाह न्यूनीकरण हुँदै जानेमा बर्दियाका केही अगुवाहरूले बिश्वास लिएका छन्।