काठमाडौँ । काठमाडौँको कपनमा पसल गर्दै आएकी ५५ वर्षीय कमला कार्कीलाई लठ्याउने औषधि खुवाइएर हत्या गरेको खुलासा भएको छ । हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई विभिन्न स्थानबाट शनिबार र आइतबार पक्राउ गरेको हो ।
असोज १ गते बिहान कपनको तेन्जिङ चोकनजिकैको खाजा पसलको भित्रपट्टी कार्कीको हत्या भएको थियो । आफ्नै कोठामा हात खुट्टा बाँधी,मुखमा कपडाको बुझो हाली कुटपिट गरेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।
बियरमा लठ्याउने औषधि मिसाएर खुवाइएको अनुसन्धानमा खुलेको जनाएको छ । सुन र पैसा लुट्नकै लागि हत्या योजना बनाएको देखिएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।
कमला कार्की पछि उनको साथबाट चार वटा औंठी र ४५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरु नाम सहित थप बिवरण
1, ओखलढुंगा जिल्ला मनु गाउँपालिका वडा नं.७ घर भई हाल काठमाण्डौं जिल्ला टोखा स्थितमा बस्ने बर्ष ३१ को आले भन्ने पासाङ तामाङ ।
2, मकवानपुर जिल्ला छतिवन गाउँपालिका वडा नं.४ घर भई हाल काठमाण्डौं जिल्ला कपन स्थितमा बस्ने ब र्ष २७ को सोमलाल थिङ ।
3, रौतहट जिल्ला चन्द्रनिगाहपुर घर भई हाल काठमाण्डौं जिल्ला भृकुटीचोक स्थितमा बस्ने बर्ष १९ की पासाङ भन्ने सविना तामाङ ।
4, ओखलढुंगा जिल्ला खिजिदेम्वा गाउँपालिका वडा नं.९ घर भई हाल काठमाण्डौं जिल्ला नारायणटार स्थितमा बस्ने बर्ष ३१ को पासाङ शेर्पा ।
5, जिल्ला ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं. - ४ घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. ११ बस्ने बर्ष ३२ को राम कृष्ण भन्ने बुद्धीमान कार्की ।