काठमाडौं । सोमबार अपरान्हदेखि एउटा समाचारले नेपाली सञ्चारमाध्यमलाई तरंगित बनायो । सोमबार रातिदेखि मंगलबारसम्म सामाजिक सञ्जाल, राजनीतिक व्यक्ति, नागरिक समाज हुँदै जनतासम्म उक्त समाचारले मुलुक तरंगित भएको छ । त्यो हो- कानुन बनाउने - प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारीमाथि गरेको बलात्कारको प्रयास ।
संसद सचिवालयमै काम गर्ने ती महिला कर्मचारीले महरामाथि आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी छन् । उनले आइतबार राति महरा आफ्नो डेरामा आएर मादिरा सेवन गरेको र पछि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।
आइतबार साँझ सभामुख महराले ती कर्मचारीलाई फोन गरेर आफू उनीकहाँ आउन लागेको बताएका थिए । उक्त घटना सार्वजनिक भएपछि पनि ती महिलाले सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा पनि सभामुख महराले उक्त घटना सामान्य भएको र धेरै नलम्ब्याउन आग्रह गर्दै फोन गरेका थिए ।
तर, सोमबार साँझ घटना सार्वजनिक भएलगत्तै सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले एक वक्तव्य जारी गर्दै सभामुख आइतबार दिउँसो २ बजेपछि कहीँ ननिस्किएको भन्दै खण्डन गरेका थिए । उक्त वक्तव्यमा भनिएको, "सभामुखज्यू हिजो (आइतबार) दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ निस्किनु भएको छैन ।"
उक्त समाचार कपोलकल्पित र भ्रामक भएको भन्दै स्पष्टिकरण दिइएको थियो । तर, उक्त स्पष्टिकरण र सभामुखले सञ्चारमाध्यमका बोलेका कुराको कुनै तालमेल छैन । सभामुख महराले आफू ती महिलाको डेरामा गएको स्वीकार गरिसकेका छन् । उनले त्यहाँ जाँदा एक बोतल मदिरासमेत बोकेर गएको पुष्टि भइसकेको छ ।
एक कानुन बनाउने व्यक्तिले कानुन विपरित गतिविधि गर्नु पहिलो गल्ती भयो । सभामुखजस्तो व्यक्ति राति समयमा मदिराको बोतल बोकेर परस्त्रीको डेरामा जानु हुँदैनथ्यो । त्यो उनको पद र नैतिकताले दिने कुरा भएन । कानुनी प्रक्रियालाई नै प्रभावित हुने गरी वक्तव्य सार्वजनिक गर्नु अर्को ठूलो गल्ती भयो । उनले सञ्चारमाध्यमलाई एउटा कुरा भन्ने, प्रेस सल्लाकारले अर्कै कुरा भन्ने अनि पीडित महिलालाई अर्कै कुरा भन्ने गर्नुमा सभामुख महरा कहीँ न कहीँ दोषी छन् भन्ने देखिन्छ ।
उनी यसअघि पनि चीनलाई ५० करोड रुपैयाँ माग गरेर सांसद खरिद गर्ने खोज्ने विवादित पात्र हुन् । चिनियाँ प्रतिनिधिसँग सांसद खरिदका लागि ५० करोड माग गरेको टेलिफोन अडियो नै सार्वजनिक भएको थियो । त्यो समयमा पनि उक्त घटना यतिकै सेलाएको थियो ।
सभामुख महराले बिहानै यस विषया प्रधानमन्त्री केपीशर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलसँग परामर्श गरिसकेका छन् । प्रधानमन्त्री ओलीले उनलाई राजीनामा दिन सुझाएको स्रोतले बताएको छ । उनी केही समयमा राजीनामा दिने तयारीमा छन् ।
राजीनामा मात्रै हो त समाधान ?
उनी नैतिक रुपमा राजीनामा दे'लान अथवा न'देलान त्यो उनको व्यक्तिगत विषय भयो । बलात्कारजस्तो जघन्य अपराधको आरोप लागेको व्यक्ति सभामुखको पदमा रहनु यसै पनि उचित हुँदैन । उनले पदमा रहिरहने नैतिकता भने गुमाइसकेका छन् । किनकी हिजोका दिनमा अमर्यादित शब्द बोलेकै भरमा कानुनमन्त्री शेरबहादुर तामाङ्ले राजीनामा दिएका थिए, त्यस्तै प्रदेश ३ का मन्त्री केशव स्थापित र सुदूरपश्चिम प्रदेशका मन्त्री दिर्घ सोडारीले राजीनामा दिएका थिए । त्यसअघि पनि रोपाइँमा महिलामाथि दुर्व्यवहार गर्ने हरि पराजुलीले पनि पदबाट राजीनामा गरेका थिए । त्यसकारण राजीनामा दिनैपर्छ ।
तर, राजीनामा र माफी मागेरमात्र यो समस्या समाधान हुँदैन । हुनत, आरोप लाग्दैमा कोही पनि अपराधी ठिहरिँदैन । यस्तै सडक, सामाजिक सञ्जाल वा सञ्चार माध्यमले फैसला सुनाउने काम गर्नु पनि हुँदैन । तर, आरोप लागेपछि त्यसको निष्पक्ष र स्वतन्त्र अनुसन्धान भने हुनैपर्छ । महरा पनि यसको अपवाद बन्न सक्दैनन् । महराले दाबी गरेजस्तै उनको ‘चरित्र हत्या’ गर्ने षड्यन्त्र गरिएको रहेछ भने पनि छानबिनबाट स्पष्ट हुनुपर्छ । सत्ता र शक्तिको आडमा छानबिन गरिएन वा घटनालाई सामसुम पारियो भने महरामाथि समाजको औंला सधैँ ठाडो हुनेछ भने उनको शिर सधैँ नै निहुरिनेछ । यसैले पनि घटनाको निष्पक्ष र गहन छानबिन गरिनु आवश्यक छ ।
बलात्कारजस्तो जघन्य अपराधका विषयमा गहन छानबिन हुनुपर्छ । उक्त छानबिनबाट महरात निर्दोष ठहरिए फेरि राजनीतिमा फर्किनसक्ने ढोका उनका लागि खुला नै रहनेछ । यदी दोषी ठहरिएमा शक्ति र सत्ताको बलमा त्यसलाई नकार्न, कानुनी प्रक्रियालाई प्रभावित पार्न र उम्किने बाटो रोज्नु अर्को गल्ती हुनेछ ।
कानुनीभाषामा बलात्कार भन्नु जबर्जस्ती करणी हो। विनामन्जुरी, करकाप, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौनसम्पर्कलाई बलात्कार भनिन्छ। त्यसैगरी उमेर नपुगेको व्यक्तिलाई ललाइफकाइ, मन्जुरी लिई वा नलिई गरिने यौनक्रीडालाई पनि बलात्कारकै रूपमा लिइन्छ। यो कार्य नैतिकताको दृष्टिले घृणित र कानुनी दृष्टिले अपराधमूलक हो । यस्तो अपराध गरेको ठहरेमा महरालाई ५ देखि ७ वर्षसम्म कैद हुने कानुनी प्रावधान छ ।
प्रहरी कहाँ चुक्यो ?
प्रहरी घटनाको सुरुवातदेखि नै चुक्दै छ । बलात्कारजस्तो गम्भीर आरोपमा पीडित महिलाले प्रहरीलाई बोलाएर ‘क्राइम सिन’ देखाउनु र सम्पूर्ण बयान दिनुभन्दा ठूलो अर्को जाहेरी अरु हुन सक्दैन । प्रहरीले त्यहीँ महरामाथि अनुसन्धान बढाउन लिखित निवेदन दिनुपर्छ भनेको भए पनि उनले जाहेरी नदिने कुरै थिएन । प्रहरी र मिडियालाई उनले भनेकै कुराले पनि उनी आफूमाथि बलात्कार गर्नेलाई कारबाही गराउन दृढ छन् भन्ने देखाउँछ ।
घटनास्थलमा पुगेका तीनकुने चौकीका प्रहरीले अनुसन्धानअघि बढाउनुको सट्टा नेपाल प्रहरी हेडक्वार्टरलाई जानकारी गरायो । तुरून्तै छानबिनको निर्देशन दिनुको सट्टा प्रहरी नेतृत्वले तालुकदार गृह मन्त्रालयमा जानकारी गरायो । प्रहरीले गृह सचिव प्रेमकुमार राई र गृहमन्त्री रामबहादुर थापालाई सो घटनाबारे सोमबार बिहान नै जानकारी गराएको गृह स्रोतले बताएको छ ।
गृहसचिव र गृहमन्त्रीले घटनाको जानकारी पाइसकेपछि पनि बलात्कारजस्तो जघन्य आरोपमा अनुसन्धान अघि बढेन । प्रधानमन्त्रीले घटना थाहा पाएलगत्तै गर्नुपर्ने पहिलो काम हो- प्रहरीलाई तुरून्तै अनुसन्धान अघि बढाउन निर्देशन दिने।
बलात्कारजस्तो जघन्य आरोपमा सबैभन्दा पहिले हुनु पर्ने पार्टीभित्र छलफल होइन, स्वतन्त्र अनुसन्धान हो । प्रहरी र गृह प्रशासन त चुक्यो, अब के बालुवाटार पनि यसमा चुकेको छ । यसलाई ढाकछोप होइन निष्पक्ष छानबिन गर्न सघाउनु जिम्मेवार सबैको मुल दायित्व हो ।
यदी यस घटनालाई पनि ढाकछोप गर्न खोजे र गृहमन्त्रीले रामबहादुर थापा बादलले भनेजस्तै यस्ता घटना भइरहन्छन् भन्ने ठानेर लापरबाही गरे भने फेरि यस्ता श्रृंखलाहरु दोहोरिनेछन् र मुलुकमा अपराधिले राज गर्नेछ ।