काठमाडौं – सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी गरेको भनेर मिडियामा आएकी संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीले आफ्नो बयान फेरेकी छन् ।
कर्मचारी शाहीले अनलाइन मिडिया हाम्राकुरा डटकममा अन्तर्वार्ता दिँदै सभामुख महराले करणी गरेको आरोप लगाएकी थिइन् । त्यही आरोपपछि सभामुख महराले पदबाट राजीनामा दिएका छन् ।
सभामुख महराले पदबाट राजीनामा दिएपछि शाहीको बयान फेरिएको छ । आरोप लगाएको भोलिपल्ट शाहीले नागरिकखबर डटकममा अन्तर्वार्ता दिँदै सभामुख महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको दाबी गरेकी छन् ।
आफू डिप्रेसनको औषधी खाने र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले गलत आरोप लगाएको उनले पछिल्लो अन्तर्वार्तामा बताएकी छन् । नागरिकखबरलाई दिएको भिडियो अन्तर्वार्तामा उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको बताएकी छन् ।
‘त्यो दिन मेरो कोठामा कोही आएको छैन, महरा सरसँग संसद सचिवालयमा कहिलेकाहीँ बीपी चेक गराउँदा भेट हुने हो,’ उनले अन्तर्वार्तामा भनेको कुरा उदृत गर्दै नागरिकखबरले लेखेको छ, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’
अन्तर्वार्तामा शाहीले महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै रिसको झोकमा आफूले भनेका सबै कुरा गलत भएको दाबी गरेकी छन् ।