काठमाडौं । कृष्णबहादुर महराको यौन उत्पातको खुलासा गर्ने चर्चित पत्रकार अजयबाबु शिवाकोटी सोमबारको रात घरमा सुतेनन् । उनलाई कसैले पछ्याएको भान भयो, असुरक्षा महशुस भयो । त्यसपछि उनी साथीहरुसँग घरबाहिरै बसे ।
हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयले सभामुख महराको यौनलीलाको खुलासा गरेका थिए । महरा अब पूर्व सभामुख भइसकेका छन् र गुमनामीको खाडलमा जाकिएका छन् भने अजयको चाहिँ चर्चा चुलिएको छ ।
०५७ सालमा रेडियो नेपालको घटना र विचार कार्यक्रमबाट पत्रकारिता थालेका अजय संलग्न हाम्रा कुरा निकै पूरानो अनलाइन हो ।
सोमबार बिहान साढे सात बजेतिर महराको यौनलीलाको सूचना पाएको उनले बताए । त्यसपछि उनी सूचनाको पुष्टि गर्नेतिर लागे । पीडित भनिएकी महिलाको बारेमा विस्तृत जानकारी हासिल गर्न आवश्यक थियो । सामान्य जानकारी हासिल गर्दागर्दै करिब ११ बजेको थियो । त्यसबेला सम्म अजय हाम्राकुराको कार्यालयमा पुगिसकेका थिए । उनले आफ्नो टिमभित्र यो सूचना शेयर गरिसकेका थिए ।
‘सम्पूर्ण रुपमा सूचना पुष्टि भयो, अब एक्सनमा उत्रनु थियो’– अजयले सुनाए ।
उनलाई पहिलो पटक जसले सूचना दिए, उनले अरु सूचना पनि दिए । त्यसपछि अजयले पीडित भनिएकी महिलालाई फोन गरे । ‘अफिसकै ल्याण्डलाइन नम्बरबाट कल गरेको थिएँ, भेट्न राजी भइन्, तर अन्र्तवार्ता दिन मानिनन्’– अजय भन्छन् ।
ती महिलाको निवासमा जाँदा अजयले एकजना क्यामरामेन पनि लगेका थिए । तर, भित्र लगेनन् । करिब एक घन्टाजति कुराकानी गरेपछि ती महिला अन्र्तवार्ता दिन राजी भइन् ।
कसरी राजी भइन् ? जवाफमा अजय भन्छन्– ‘मैले यो घटना होइन प्रवृत्ति हो भने । महिलाले यस्ता घटनामा सहने हो भने यस्तो प्रवृत्ति बलियो हुन्छ भनेर कन्भिन्स गरें । त्यसपछि उहाँ अन्र्तवार्ता दिन मान्नुभयो ।’
अजयले फोनबाटै भिडियो अन्तर्वार्ता लिए, क्यामरामेनलाई भित्र बोलाएनन् ।
सबै सूचना मिल्यो, महिलाको अन्र्तवार्ता पनि भयो, घटनास्थलको भिडियो पनि भयो । अब के अजयले ढिला गरेनन् । अफिस आएर धमाधम लेख्न थाले । अजयको पूरै टिम लेख्ने र सम्पादन गर्नेम व्यस्त भयो ।
प्रकाशित भयो । प्रकाशित हुँदा राती साढे सात भएको थियो । शीर्षक थियो– ‘सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्ती करणीको आरोप ।’
समाचार प्रकाशित हुनासाथ अजयको मात्र नभएर पूरै हाम्राकुराका सहकर्मीहरुको फोन बज्न थाल्यो । डढेलो झैं खबर फैलियो । स्तब्ध पार्ने समाचार थियो ।
‘त्यसपछि यति धेरै फोन बज्यो कि अहिले हेर्दा सात सयवटा मिसकल देखिन्छ,’– अजय भन्छन्– ‘म्यासेज त कति आयो कति । जवाफ दिएर पनि भ्याइएन । अहिलेसम्म व्यस्त छु फोनमै ।’सनराइज खबरमा समाचार छ ।
‘यो समाचारको श्रेय मेरो टिमलाई जान्छ’– अजय भन्छन्– ‘माधव चम्लागाईं, अखिल सिटौला, गौरव पोखरेल सहितका सहकर्मीहरुको टिमले यो समाचार बाहिर ल्यायौं ।’
अजय भन्छन्– ‘म असुरक्षित हुन्छु कि भनेर घरपरिवारले समेत चिन्ता गरे ।’