• काठमाडौं । संघीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामासम्बन्धीे सूचना प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दुव्र्यवहार भएको आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी उनले मङ्गलबार संवैधानिक व्यवस्थाअनुरुप उपसभामुखसमक्ष राजीनामा दिएका थिए।

    उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेको आदेशअनुसार सचिवलयले प्रतिनिधिसभा नियमावलीबमोजिम सभामुख महराको राजीनामासम्बन्धी विषय बुधबार सूचनापत्रमार्फत जानकारी गराएको हो । सङ्घीय संसद्को अधिवेशन चालू रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूचनामार्फत जानकारी गराउने व्यवस्था रहेको उपसभामुख तुम्वाहाङ्फेले जानकारी दिइन् ।

    “विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि राजीनामा दिएको छु”, महराले प्रतिनिधिसभाको सभामुख पदबाट दिएको राजीनामालाई उद्धृत गर्दै सूचनापत्रमा भनिएको छ ।

    रिक्त भएको सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाउन सङ्घीय संसद्को पाँचौँ अधिवेशन प्रारम्भ आह्वान हुनुपर्ने छ । त्यसअघि दलहरुबीच कुन दलले सभामुख प्राप्त गर्ने भन्ने विषयमा छलफल हुनुपर्ने आवश्यकता देखिएको छ । दलहरुबीच सहमति नभएको खण्डमा निर्वाचनको माध्यमबाट सभामुखको चयन हुनेछ । संविधानको भावनाअनुसार सभामुख र उपसभामुखमध्ये फरक दल र फरक लिङ्गको हुनुपर्दछ ।

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरक फरक राजनीतिक दल रहेको अवस्थामा सभामुख र उपसभामुखको चयन भए पनि दुवै दलको एकीकरणपछि दुई पदमध्ये एक पद फरक दलको हुनुपर्छ भन्ने प्रश्न उठ्दै आएको थियो । सभामुख महराको राजीनामा आएसँगै अब यो विषय पुनः कार्यान्वयनमा जानेछ ।

    यसअघि सभामुख पदमा महरा निर्विरोध निर्वाचित भएका थिए भने उपसभामुख पदमा मतदान भएको थियो । अब सभामुखको चयन नियमित अधिवेशनबाट हुन्छ कि विशेष अधिवेशन बोलाउन आवश्यक छ भन्ने प्रश्नमा उपसभामुखले भनिनन्, “नियमित अधिवेशनबाट सभामुखको चयन गर्ने कि त्यसका लागि विशेष अधिवेशन आह्वान गर्ने भन्ने सन्दर्भमा राजनीतिक दल र सरकारबीच हुने छलफल र सहमतिका आधारमा तय हुनेछ ।”

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…