काठमाडौं – पतिको निधनपछि एक्लै भएका एकल महिलालाई देशभर सरकारले भत्ता दिने गरेको छ । तर त्यस्तै अवस्थाका पत्नी मरेर एकल भएका पुरुषले भत्ता पाउँदैनन् ।
अब सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले भत्ता पाउने भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित हेलम्बु गाउँपालिकका अध्यक्ष निमाग्याल्जेन शेर्पाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेका छन् ।
गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । निर्णय कार्यान्वयन हुँदा एकल महिलाजस्ता एकल पुरुषले पनि सामाजिक सुरक्षा भत्ता पाउने छन् ।
पत्नीको मृत्यु भएका सबै एकल पुरुषलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको अध्यक्ष शेर्पाले बताए । एकल पुरुषलाई मासिक ५ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराइने छ ।
भत्ता वितरणअघि गाउँपालिकाका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको जनाइएको छ ।
गाउँपालिकामा करीब ३ सय ५० एकल पुरुष रहेको अनुमान गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।