• काठमाडौँ । अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ ।

    नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी
    (नेकपा) चलाएको छ । सभामुखबाट महराले दिनुभएको राजीनामा भने बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको छ ।

    सङ्घीय संसद् सचिवालयमै कार्यरत एक महिलाले जबर्जस्ती करणीको अभियोग लगाएपछि महराले सभामुखबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा लगत्तै आरोपित भनिएकी महिलाले आफ्नो आरोप खण्डन पनि गर्नुभएको थियो ।

    संवैधानिक व्यवस्था अनुसार, सभामुख वा उपसभामुख फरक राजनीतिक दलको हुनुपर्छ । सभामुख वा उपसभामुखमध्ये एक फरक लिङ्गको हुनुपर्ने पनि संवैधानिक व्यवस्था नै छ । अहिले उपसभामुख तत्कालीन एमालेबाट निर्वाचित हुनुभएकी डा. शिवमाया तुम्बाहाङ्फे हुनुहुन्छ । यसअघि सभामुखमा माओवादी केन्द्रबाट महरा उम्मेदवार बन्नुभएको थियो । दुई दल एकीकृत भएपछि विपक्षी दलले पुनः निर्वाचनको माग गरे पनि सशक्त कार्यसूची भने बनाउन सकेको थिएन ।

    अबको समीकरण अनुसार उपसभामुखमा तुम्बाहाङ्फेलेलाई निरन्तरता दिएमा सभामुख नेकपाले पाउने छैन । अन्य दललाई सभामुख दिन नेकपाले नचाहेमा उपसभामुखको राजीनामा अनिवार्य छ ।
    तर, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने पात्र र सभामुख चयनको मितिबारे औपचारिक रूपमा कुनै पनि छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले भर्खर मात्रै अप्रत्याशित घटना फेस गरेका छौँ । अब सभामुख चयनको प्रक्रिया दलीय सहमतिमा नै अघि बढ्छ । व्यक्तिबारे हामीले कुनै छलफल गरेका छैनौँ । सम्भवतः अब अर्को अधिवेशनमा नै चयन प्रक्रिया अगाडि बढ्छ ।’’

    तर, सङ्घीय संसद्को चौथो अधिवेशनमा पारित भएका केही विधेयक प्रमाणीकरणको प्रक्रियामा छन् । ती विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुअघि सभामुखले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । सभामुख नहुँदा तत्काल प्रमाणीकरण हुनुपर्ने विधेयक भने अगाडि बढ्न सक्ने अवस्था छैन । यो परिस्थितिअनुसार भने विशेष अधिवेशनबाट पनि सभामुखको चयनको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहन्छ ।

    रिक्तताको सूचना टाँसियो
    यसैबीच सङ्घीय संसद् सचिवालयले सभामुखबाट महराले दिनुभएको राजीनामा सनाखत गरी रिक्तताको सूचना टाँस गरेको छ । सचिवालय सचिव भरत गौतमले रिक्तताको सूचना जारी गर्नुभएको हो । प्रतिनिधिसभा नियमावलीको नियम २११ (२) बमोजिम सूचना जारी गरिएको हो ।

    राजीनामा परिष्कृत
    यसैबीच राजीनामाको भाषालाई लिएर आलोचना भएपछि महराले दोस्रो राजीनामापत्र बुझाउनुभएको हो । मङ्गलबार साँझ नै दोस्रो पत्र प्रेषित गरिएको हो । दोस्रो राजीनामापत्र सनाखत गरी सचिवालयले सूचना जारी गरेको हो ।

    पहिलो राजीनामामा महराले छानबिन प्रक्रिया नसकिँदासम्म भन्ने शब्द प्रयोग गर्नुभएको थियो । तर दोस्रोमा ‘छानबिन प्रक्रियाको सहजताका लागि आजैका मितिदेखि’ भन्ने शब्द प्रयोग गर्नुभएको छ ।

    महराले प्रेषित गर्नुभएको दोस्रो राजीनामा पत्रमा भनिएको छ, ‘‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु ।’’ गोरखापत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…