• काठमाडौँ । दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका सुनसान देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।

    अघिपछि सवारी जाम हुने यहाँको विभिन्न चोकहरुमा रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका छन् । सवारी कम भएकाले ट्राफिक प्रहरीहरु फुर्सदिला देखिन्छन् ।

    कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा अझै केही भीडभाड रहे पनि अन्य क्षेत्रमा भने आइतबारदेखि काठमाडौँको सवारी र मानवीय चहलपहल थप सुनसान हुनेछ ।

    बडादशैंको सार्वजनिक बिदा भएकाले धेरै सवारी र यात्रुहरु राजधानी बाहिरिएका छन् ।

    कति बाहिरिए ?
    महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार एकैदिन चार लाख ३२ हजार ७० यात्रु उपत्यकाबाट बाहिरिएका छन् । दशैँ मनाउन शनिबार सबैभन्दा बढी यात्रु राजधानी बाहिरिएको महाशाखाले जनाएको छ ।

    यसअघि बिहीबार र शुक्रबार क्रमशः दुई लाख १५ हजार र दुई लाख ४० हजार यात्रु राजधानीबाट बाहिरिएका थिए । प्रहरीका अनुसार अहिलेसम्म राजधानीबाट दशैँ मान्नका लागि करीब २२ लाख मानिस बाहिरिएका छन् ।

    असोजको दोस्रो साता यातायातका साधन बिग्रिएकाले नागढुङ्गा–नौबिसे सडकको यातायत आवागमनमा केही दिन समस्या देखिएपछि तत्काल समाधान गरी यातायात सहज बनाइएको र अन्य क्षेत्रमा यसपालि ठूलो समस्या नदेखिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

    पोखरेलले यसपालि विगतको भन्दा शान्ति सुरक्षा प्रभावकारी भएको उल्लेख गर्दै अप्रिय र जघन्य घटना नभएको जानकारी दिए । उनका अनुसार दशैँको अवसरमा शान्ति सुरक्षाका लागि देशभरका आठ हजार ५०० स्थानमा ४३ हजार प्रहरी परिचालन गरिएको छ ।

    प्रहरीले निगरानी बढाउँदाबढाउँदै पनि यातायातमा भने तोकिएभन्दा दोब्बर बढीसम्म भाडा असुल्ने गरेको पाइएको छ । तर प्रहरीले निगरानी बढाएकाले विगतमा जस्तो समस्या नदेखिएको भन्दै प्रवक्ता पोखरेलले अहिलेसम्म भाडा बढी लिने ३५० गाडीलाई कारवाही गरिएको जानकारी दिए ।

    प्रहरीले उपत्यकाबाट घर छाड्नेलाई छिमेकी तथा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । अहिलेसम्म दुई–तीन सयले मौखिकरुपमा घर छाडेको जानकारी दिएकाले सो क्षेत्रमा प्रहरीको मोबाइल गस्तीमार्फत निगरानी भइरहेको महानगरीय प्रहरी परिसर काठमडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

    उपत्यकाको सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहिले ४३० प्रहरी थप खटाइएको र बसपार्क तथा विभिन्न नाकाका १५ स्थानमा विशेष जाँच भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए ।

    ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयंसेवक र कलाकारहरुले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ । यसपटक झण्डै ५०० स्वयंसेवक उपत्यकामा ट्राफिक व्यवस्थापनमा खटिएका छन् ।

    प्रहरीले यही असोज ५ गतेदेखि चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको थियो । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमकै कारण यसपटक शान्ति सुरक्षा सवल भएको जिकिर गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…