•  

    तेजन खड्का

    उर्लाबारी । मोरङमा बसोबास गर्ने सन्थाल यतिबेला परम्परागत नृत्य दासाईको तयारीमा जुटेका छन्।

    दशैको बेला आयोजना हुने मेलामा  नृत्य प्रदर्शनको तयारीका लागि उनीहरु सन्थाल भाषाका गीत गाउने, नाच्ने दैनिक अभ्यासमा व्यस्त छन्। मोरङमा बसोबास गर्दै आएका सन्थाल आदिकालदेखि नै हिन्दूको चाड दसैँ र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन्।

    यो समुदायले कलासंस्कृतिको जगेर्ना गर्न युवालाई यो जातिको नाच र संस्कृतिको विषयमा नाच्न–गाउन सिकाइरहेका छन्। मूर्ति बनाउने र मूर्ति पूजा नगर्ने यी सन्थाल दसैँको घटस्थापना सुरु भएदेखि घरमा थन्क्याएर राखिएका मादल, ढोल, झ्याम्टा आदि झिकेर अरूको घरघर गई चामल, चिउरा माग्दै नृत्य सुरु गर्दछन्।

    यसले सन्थाल नृत्य सुरु भएको सङ्केत गर्दछ। उनीहरूको यो नृत्य प्रचलन दसँैको मूल टीकाको दिनसम्म जारी रहन्छ। जब दसैंको एकादशी सुरु हुन्छ, त्यस दिनदेखि पूर्णिमासम्म भव्यरूपमा सामूहिक तवरले विभिन्न स्थानमा दसैं मेलामा उनीहरूले परम्परागत नृत्य प्रस्तुत गर्दछन्।

    सन्थाल अगुवा दसैँको बेलामा नाचिने नृत्य भएकाले नै यो नाचको नाम दासाई भएको बताउँछन्। तर दसैँ र दासाई नाच बीचको सम्बन्धका बारेमा कुनै जानकारी नभएको नेपाल सन्थाल आदिवासी उत्थान सङ्घका सचिव बुद्धिलाल सोरेनको भनाइ छ। दसैँ र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल युवाको दासाई नाच प्रमुख आकर्षण हुने गरेको छ।

    मोरङ उर्लाबारीका गोरे हेमरनले दासाई नाचले सन्थाल जातिको जातीय एवम् सांस्कृतिक पहिचान जोगाइराखेको बताउँछन्। उनले भने–“दासाई नृत्यमा लगाउने पोसाकमा समेत एकरुपता ल्याउन सकेका छैनौँ।” धिमाल, राजवंशी, ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने जाति मानिन्छ।

    सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाईजात्रे पहिरन, रङ्गीचङ्गी भावभङ्गीमा, रङ्गीन कमिज, पञ्ची, धोती जस्तो कपडा, शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिकरूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ। यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थाल हुन्छन् भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिला पनि उत्तिकै सक्रिय हुन्छन्।

    नृत्यको मध्य अवस्थामा महिलाले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचिरहेका सन्थाल आफूलाई बहादुर साबित गर्न हातको सहायताबिना जमिनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन्।

    खासगरी मोरङ जिल्लाको रङ्गेली, रामचौक, दोमना, आमतोला, लक्ष्मीपुर, कर्सिया, खोरकाटा, विसनपुर र लक्ष्मुनिया, राजघाट, होक्लाबारी, बयरवन, शनिश्चरे र केरौनमा सन्थालको बसोवास छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…