• नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्नुभएको छ ।

    विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड हो भन्नुभएको छ ।

    नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको यो पर्व बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र नेपालको मौलिकता भएको सभापति देउवाले सन्देशमा बताउनुभएको छ ।

    “मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधताबीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले हामीबीचको एकतालाई अझ मजबूत बनाएको छ”, सन्देशमा उहाँले भन्नुभएको छ ।

    सभापति देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको बताउँदै लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गर्नुभएको छ ।

    संसारभरि शान्तिको सन्देश फैलाउने देशको रुपमा नेपालले आफ्नो परिचय बनाएको, एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजयादशमी पर्वले हामीबीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई बिर्सेर, देशको सर्वाङ्गीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने उहाँले बताउनुभएको छ ।

    सभापति देउवाले विजया दशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…