• काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुख नै बन्ने चाहना राखेकी छिन् ।

    यौन दूराचारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । र, महरा प्रहरी हिरासतमा छन् ।

    सभामखु र उपसभामुख एउटै पार्टीको हुनु नहुने संवैधानिक प्रावधानका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर भए पनि सभामुख छाड्न नहुने तर्क गरिरहेका छन् ।

    पूर्वसभामुख सुवास नेम्वाङले उपसभामुखले पनि राजीनामा दिने यसअघि नै बताइसकेका छन् । सभामुख व्यक्ति नभएकाले पदलाई सम्बोधन गरेर राजीनामा दिन बाधा नपर्ने र संसद् सचिवालयले सूचना टाँस गरेपछि उपसभामुख पद पनि रिक्त हुने र दुवै पदका लागि निर्वाचन गर्न बाटो खुल्ने उनको तर्क छ ।

    स्रोतका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाम्फेलाई आइतबार बालुवाटारमा छलफलका लागि बोलाएका थिए । भेटमा प्रधानमन्त्रीले उपसभामुखबाट राजीनामा दिन नभनेको बरु उनको कुरामात्र सुनेको स्रोतको दाबी छ ।

    भेटमा उपसभामुख तुम्बाहाम्फेले सभामुख कृष्णबहादुर महराको आफ्नै गल्तीका कारण सभामुखजस्तो पद गएको बताउँदै त्यसको सजाय आफूले नबेहोर्ने बताएकी थिइन् ।

    कतिपय नेताले उपसभामुखबाट राजीनामा दिन लगाउने र त्यसको क्षतिपूर्तिस्वरूप मन्त्री बनाउने चर्चा चलेको भन्दै तुम्बाहाम्फेको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, “म उपसभामुख पदसँग मन्त्री साट्ने पक्षमा छैन । पार्टीले राजीनामा दिन भन्छ भने उपसभामुख छाडुँला तर मन्त्रीसँग पद साट्दिनँ ।”

    उनले आफूले संसद्मा खेलेको भूमिकाका आधारमा पनि उपसभामुखबाट राजीनामा दिएर मन्त्री पद साट्ने पक्षमा नरहेको बताएकी हुन् । सातवटै प्रदेशमा महिलालाई उपसभामुखमात्रै बनाउँदा आलोचना बेहोर्नुपरेको स्मरण गराउँदै उनले सङ्घीय संसदमा महिलालाई सभामुख बनाउनुपर्नेमा जोड दिएको स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार आइतबारको भेटमा अध्यक्ष ओलीले तुम्बाहाम्फेलाई पार्टी एकतापूर्व र एकतापश्चात्को आन्तरिक समीकरण र वस्तुस्थितिका बारेमा अवगत गराएका थिए ।

    “पार्टीले सभामुख छाड्नु हुँदैन भन्ने नै हो । यसबारेमा पार्टीमा कुरा भएको छैन । प्रचण्डजीसँग पनि मैले कुरा गरेको छैन । कुरा हुन्छ नै,” त्यसदिन अध्यक्ष ओलीले तुम्बाहाम्फेलाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो ।

    त्यसो त तुम्बाहाम्फे प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीकै जोडबलमा लाभको पद पाउँदै आएकी छन् । राजदूत सिफारिसदेखि संसद् सदस्य र उपसभामुख बनाउन ओलीकै भूमिका थियो ।
    तसर्थ ओलीले आफूलाई नचिढ्याउने बरु सभामुखै बन्न सघाउने विश्वास उनको छ ।

    पार्टी संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले पनि तुम्बाहाम्फेलाई नै सभामुख बनाउन जोड दिँदै आएका छन् ।

    छैटौं पटक सभामुख बन्ने चाहना छैन, नयाँलाई अवसर दिनुपर्छ भन्नुको तात्पर्य तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्छ भन्नु हो भन्ने कतिपयको बुझाइ छ ।

    तुम्बाहाम्फेलाई अहिलेसम्म कसैले उपसभामुखबाट राजीनामा दिन नभनेको र मन्त्री बन्न प्रस्तावसमेत नगरेको उनीनिकट स्रोत बताउँछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…