• काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसले १४ मंसिरमा ५२ पदमा हुने उपनिर्वाचनमा उम्मेदवार बनाउनेको नाम सिफारिस गर्न मातहतका संगठनलाई दिएको निर्देशन बमोजिम केन्द्रमा नाम सिफारिस भएर आउन थालेका छन् ।

    एक स्थानमा उम्मेदवार बनाउन तीन जनाको नाम सिफारिस गर्न केन्द्रले मातहतका समितिलाई निर्देशन दिएको थियो ।

    कांग्रेस केन्द्रिय कार्यालयका अनुसार कांग्रेसको जिल्ला कार्यसमितिबाट बागलुङ २ ‘ख’ र धरान उपमहानगरपालिबाट उम्मेदवारको सिफारिस आइपुगेको छ ।

    पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाका प्रत्यासीको नाम टुंगो लागेको जानकारी केन्द्रिय कार्यालयलाई गराइएको छ, सिफारिस भने आइनपुगेको कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

    कांग्रेस विधानमा प्रदेश उम्मेदवारका लागि क्षेत्रीय कार्यसमितिले सिफारिस गरेका नाममा जिल्ला कार्यसमितिले रायसहित नाम केन्द्रलाई पठाउन सक्ने अधिकार दिइएको छ ।

    प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने कास्की क्षेत्र नं २ मा दर्जन बढीले इच्छा देखाएका छन् । निधन भएका पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग पराजित देवराज चालिसेसहित खेमराज पौडेल, शोभियत बहादुर अधिकारी, माधव बास्तोला, वीरेन्द्र नारायण बिजुक्छे, लक्ष्मी पाण्डे, महादेव गुरुङ, ऋषि काफ्ले र गुरु बरालले इच्छा देखाएकाले जिल्ला कार्यसमितिले निर्णय गरेर केन्द्रमा पठाउन सकेको छैन ।

    केन्द्रले तीन नाम सर्वसम्मतिले पठाउन भनेकाले सहमति जुट्न नसकेको जिल्ला कार्यसमितिका एक पदाधिकारीले बताए ।

    धरान उपमहानगरका लागि सर्वसहमतिमा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा पराजित तिलक राईलाई पुनः उम्मेदवारमा दोह¥याउने सिफारिस केन्द्रमा आइसकेको छ । राई धरान उपमहानगरका इकाई सभापति पनि हुन ।

    बागलुङ २ ‘ख’ मा जिल्ला कार्यसमितिले केन्द्रमा चार जनाको नाम सिफारिस गरेर पठाएको केन्द्रिय कार्यालयले जानकारी दिएको छ ।

    कांग्रेसका बागलुङ जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले द्रोण कुँवर, कुमारसिंह घर्ति, जीत शेरचन र टेकराज पौडेलको नाम सिफारिस गरेको जानकारी दिए ।

    सिफारिस भएका कुँवर क्षेत्रीय सभापति हुन् भने अन्य महाधिवेशन प्रतिनिधि । गत निर्वाचनमा नेकपाको गठबन्धनबाट विजयी राष्ट्रिय जनमोर्चाका टेक बहादुर घर्तीको निधन भएको थियो । घर्तिका प्रतिस्पर्धी कांग्रेसका शेरचन थिए ।

    दाङ ३ ‘ख’मा क्षेत्रीय कार्यसमितिले नाममा टुंगो लगाउन सकिरहेको छैन । नेकपाबाट प्रदेश ५ का प्रदेशसभा सदस्यमा विजयी अहिले निधन भएका उत्तमकुमार ओलीसंग पराजित बुद्धिराम भण्डारीले भने पुनः उम्मेदवार बन्न इच्छा देखाएका छैनन् ।

    तर, भरत केसी, केशव आचार्य, शंकर डांगी र खेम प्रसाद खराललगायतले उम्मेदवार बन्नका लागि लविङ गरिरहेका छन् ।

    रिक्त भक्तपुर १ ‘क’ मा कांग्रेसबाट तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थसहित गत निर्वाचनमा पराजित जीवन खत्री, मनोजकुमार थापा, जगन्नाथ कार्की, हरि नेपाल, किरण न्यौपाने, राजाराम खड्का, सुरेश श्रेष्ठ उम्मेदवार बन्न लविङमा लागेकाले सहमति जुट्न नसक्दा केन्द्रमा जिल्ला समितिले नाम पठाउन सकिरहेको छैन ।

    पाँचथरस्थित फाल्गुनन्द गाँउपालिकाका अध्यक्षमा वृजहाङ आङदम्वेलाई केन्द्रमा पाँचथर कांग्रेस जिल्ला कार्यसमितिले सिफारिस गरेको छ ।

    संखुवासभाको मकालु गाँउपालिकाका अध्यक्षमा इच्छा राख्नेहरु धेरै हुदा केन्द्रमा सिफारिस हुन सकेको छैन् ।
    महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्षमा पनि क्षेत्रीय कार्यसमितिले नामावली सिफारिस गर्न धेरैले उम्मेदवारी दावी गर्दा सकिरहेको छैन ।

    सिफारिस भएका नामबाट उम्मेदवार छनोट गर्न र उपनिर्वाचनको रणनीति तय गर्न पार्टी केन्द्रको बैठक कार्तिक आव ७ गते बोलाइएको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…