• काठमाडौं, ८ कात्तिक । म नै राज्य हुँ भन्ने फ्रेञ्च शासक लुई चौधौंको सिद्धान्तबाट प्रेरित पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिका सबैभन्दा बढी अस्थिर र बेचैन पात्र हुन् । सधै आफूलाई केन्द्रमा राखेर राजनीतिक जुवा खेल्दै आएका उनको बेचैनी केही समय यता निकै बढेको छ ।

    प्रचण्डको त्यही बेचैनीलाई भरपुर उपयोग गर्ने रणनीतिमा उत्रिएको छ, नेपाली कांग्रेस । जसले प्रचण्डलाई देखाउनु पर्ने लोभका ललिपप सबै देखाईरहेको छ । त्यही ललिपप देखाएर अहिले प्रचण्ड नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बार्गेनिङ गर्न खोजिरहेका छन् ।

    चिनियाँ राष्ट्रपतिको भ्रमण लगत्तै प्रचण्ड सुटुक्क सुकुटे रिसोर्टमा पुगे । सधै पारिवारिक गोठ लिएर जाने प्रचण्डसँग यस पटक भने केही कांग्रेसीहरु रहेको थाहा भएको छ ।

    दोलालघाट नजिकै खोला किनारको चिसो रिसोर्टमा अमरेशकुमार लगायतका कांग्रेसीहरुसँग प्रचण्डले नयाँ छलाङको विषयमा छलफल गरेका सूत्रहरुले बताएका छन् ।

    त्यसपछि कांग्रेसीहरुमा एक खालको उत्साह बढेको पाइएको छ । कांग्रेसीहरु तिहारपछि राजनीतिले रङ फेर्ने र सत्ताको नयाँ समीकरण बन्ने प्रचार गर्न थालेका छन् । कांग्रेसीहरुले ओलीसँग छुट्टिए पछि हुने उपलब्ध हुने अवसरको मात्रै घाँस प्रचण्डलाई हालेका छैनन् ।

    ओलीसँग रहँदा आईलाग्न सक्ने खतराको त्रास पनि देखाउने गरेको बुझिएको छ । प्रचण्ड आफैं नेकपामा रहेर आफ्नो हैसियत यो भन्दा माथि नजानेमा निश्चित हुन थालेका छन् ।

    प्रधानमन्त्री ओलीले सहमति अनुसार अर्को वर्ष प्रधानमन्त्री दिनु त कता हो कता उल्टै कहाँनेर कुन काण्डमा फसाईदिन्छन् भन्नेमा प्रचण्ड र उनका सहयोगी माओवादीहरु सशंकित भइरहेका छन् ।

    सभामुख कृष्णबहादुर महरा प्रकरणपछि पूर्व माओवादीहरु निकै त्रसित देखिएका छन् । कतिपय त आखिर शहरमा पनि सुरक्षित नभईने हो भने जंगलै जानु बेश हुने भन्दै विप्लवतिर जाने घुर्की पनि देखाउन पछि परेका छैनन् ।

    यद्यपी त्यो उनीहरुको बोक्रे घुर्की मात्रै हो भन्नेमा शंका छैन । किनभने शहर पसेर भद्दा मस्ती गर्न पल्केका र दर्जनौं रोगले ग्रस्त शरीर बोकेर उनीहरु जंगल जान्छन् भन्ने कुरा बच्चाले पनि पत्याउने कुरा होइन ।

    तर, शहरमा बस्दा पनि कहीँ न कहिँ कुनै न कुनै मुद्दामा फसिने त्रास उनीहरुमा बढ्दो छ । यस्तै दोधार, बेचैनी र त्रासका बीचमा प्रचण्डले निकटवर्तीहरुसँग पनि अबको बाटोबारे छलफल घनीभूत बनाईरहेका छन् ।

    ४० प्रतिशत पुग्ने अवस्था रहेको भए प्रचण्डले कुनै पनि घडी पार्टी विभाजनको विगुल फुक्ने अवस्थामा पुगेको बताइन्छ । तर, जताबाट प्रयास गर्दा पनि ४० प्रतिशतको भ्यागुताको धार्नी नपुगेकाले प्रचण्ड थप तनावमा रहेका छन् ।

    कतिपयले त पार्टी विभाजन गर्ने निर्णयमा पुग्दा ४० प्रतिशत भन्दा बढी पुग्ने आंकडा पनि देखाउने गरेको बताइन्छ । तर, प्रचण्डलाई केही पूर्व माओवादी नेताहरुप्रति नै विश्वास नहुँदा समस्या बढेको हो भनिएको छ ।

    कतिपयले भने ओलीसँग नयाँ प्याकेज सहमतिको बार्गेनिङ गर्न र त्यसो गर्न ओली तयार नभए आ–आफ्नो बाटो लाग्ने निर्णय सुनाईदिन भनेको पनि प्रचण्ड निकटका सूत्रहरुले बताएका छन् ।

    आखिरी अवस्थामा जति सकिन्छ त्यत्ति लिएर निस्कने र त्यसपछिका उल्झनहरु व्यहोर्दै जाने निचोड हो प्रचण्ड निकटका एक नेताले सबैभन्दा किनारको निष्कर्ष सुनाए ।

    ४० प्रतिशत नपुगे पनि कांग्रेससँग मिलेर सरकार बनाउन पुग्ने संख्या लिएर निस्केपछि सत्ता शक्ति प्रयोग गरेर पेल्दै जान सकिन्छ भन्ने सुझाव कांग्रेसीहरुले पनि दिने गरेका छन् ।

    कांग्रेसीहरुले पनि प्रचण्डलाई बाँकी कार्यकालका लागि प्रधानमन्त्रीको आश्वासन मात्रै होइन, प्रचण्डलाई सबैभन्दा बढी सताईरहेको द्वन्द्वकालिनमुद्दाहरुको समाधान गर्न देशी विदेशी वातावरण मिलाउने आश्वासन पनि दिएको बताइन्छ ।

    उता, प्रधानमन्त्री ओली भने झन कठोर रुपमा प्रस्तुत हुने संकेत गरिरहेको देखिन्छ । विकास निर्माण र जनराहतका काममा असफ लबनेको सरकारलाई कोरामिन दिन ओलीले नयाँ सूत्र अघि सारेका हुन कि भन्ने देखिन थालेको छ, नेपालीपत्रमा उल्लेख छ ।

    त्यो भनेको विगतमा राजनीतिक आडमा भएका व्यक्ति हत्याका घटनाहरुलाई उघिन्ने र राजनीतिको आडमा ढलिमली गर्ने अपराधीहरुलाई खोरमा हाल्ने ।

    पछिल्लो दशकमा राजनीतिक आडमा अपराध गर्नेहरु लगभग सबै गैर एमालेहरु रहेका छन् । पूर्व माओवादी र कांग्रेसीहरु ठूलो संख्यामा फस्ने निश्चित छ । कांग्रेस समातेपछि थुप्रैको मुटुमा ढ्याङग्रो ठोक्न थालेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…