• मनोज भुजेल
    गत कार्तिकमा उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँमा १३ वर्षीया बालिका एल्जिना खड्काको सामुहिक बलात्कारपछि हत्या गरिएको शव जंगलमा भेटियो। घटनाको भोली पल्ट कुकुर मार्फत हत्याको अनुसन्धानको लागी १ नं. प्रदेश प्रहरी कुकुर शाखा धरानका इन्र्चाज सई दयानन्द श्रेष्ठको कमाण्डमा ४ जनाको टोलीमा ट्रयाकर डग ‘लैला’ घटनास्थल पुग्छ।

    लैला घटनास्थल पुग्न साथ शव भेटिएको करिब ३० मिटर आसपास सुँधेर घटनास्थलदेखि करिब १ किलोमिटर वरको एक घर पुगेर ‘भुक्न’ थाल्छ। त्यहाँको स्थानिय प्रहरीलाई पनि शंका लागेको व्यक्तिको घरलाई संकेत गदै लैलाले ‘ग्रिन सिग्नल’ दिएपछि बालिकाको हत्यामा संलग्न दुईजना युवा पक्राउ पर्छन।

    लैलाले बलात्कार भएको स्थान र शव भेटिएको स्थान दुवै ठाँउमा पुगेर अपराधीको गन्ध पहिचान गरी घर पुगेर दोषी पक्ता लगाउन प्रहरीलाई मद्धत गरेको थियो।

    लैलाले २०७५ मा सप्तरीको खडक नगरपालिका– ५ का सबुरी साह दम्पतिको हत्यामा संलग्न अपराधीको कपडा पहिचान गरेको थियो। घटनास्थलबाट पश्चिमतर्फ करिब डेढ किलोमिटर दुरीमा रहेको पोखरीमा गएर लैला अड्किएको थियो। त्यही पोखरीमा अपराधीले नुहाएर कपडा फेरी फरार भएका थिए। पछि बरामद कपडाको आधारमा अपराधीक समुहको पहिचान गरी पक्राउ गरिएको थियो।

    यस्तै २०७१ मा सप्तरी हनुमान नगरको कपडा व्यवसायी प्रेमसुख वेगवानी दम्पति हत्या प्रकरणमा पनि ट्रयाकर डग ‘माईक’ ले अपराधी भागेको बाटो पहिचान गरेको थियो।

    ट्रयाकर डग ‘लैला’
    गत जेठमा पाँचथरमा ९ जनाको हत्या प्रकरणमा पनि लैला र पिकु नाम गरेका ट्रयाकर डगले प्रहरी अनुसन्धानलाई सघाएका थिए।

    माथि उल्लेखित लैला, माईक र पिकु ट्रयाकर (अपराधीको २४ घण्टासम्मको गन्ध घटनास्थलबाट सुँधेर पत्ता लगाउने कुकुर) बिधामा पर्छन । माईक एक बर्षअघि मात्र बिरामीको कारणले मृत्यु भयो । अहिले प्रहरीको ट्रयाकरमा लैला र पिकु छन्। पिकु अहिले तालिमरत छ।

    नेपाल प्रहरीको केनाइन महाशाखा र १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको मातहतमा रहने कुकुर शाखा धरानमा अहिले ९ वटा कुकुर छन्। जसमा ट्रयाकरमा २, बिस्फोटक पदार्थमा ३, लागुऔषधमा ३ र रेस्क्युमा १ वटा कुकुर छन् । यी कुकुरहरु जर्मन सेफर्ड, लाब्राडोर र गोल्डेन रिट्रिभर जातका हुन्।

    ९ वटा मध्ये बिस्फोटक पदार्थ बिधाको ज्याक र लागुऔषको बिधाको लुना र लुसी बिराटनगर बिमानस्थलमा बस्ने गर्छन।

    २०४७ मा दुईवटा कुकुरबाट स्थापना भएको १ नं. प्रदेश प्रहरी कुकुर शाखामा अहिले प्रहरी नायब निरीक्षकको कमाण्डमा ९ जना प्रहरी कार्यरत छन्। यी नै अनुभवी प्रहरीले बिभिन्न बिधाका कुकुरलाई दैनिक तालिम, सरसफाई, खानपान र फिल्डमा लैजाने गर्छन।

    कर्तव्य ज्यान जस्ता संम्वेदनशिल घटनाहरुमा अपराधी पहिचान गर्न ट्रयाकर बिधाको डग प्रयोग गरिन्छ। भिआईपी सुरक्षा, संसद भवन, बिमानस्थल सुरक्षा तथा सार्वजनिक स्थानमा राखिएका बिस्फोटक पदार्थ पत्ता लगाउन ‘एक्सप्लोसिव’ बिधाको कुकुरको प्रयोग गरिन्छ।

    यस्तै लागुऔषध बिधाका कुकुरले लुकाइ छिपाइ राखिएको लागुऔषध बरामद देखि बोक्ने व्यक्तिको पहिचान गर्ने गर्छ भने रेस्क्यु बिधाको कुकुरले दैबी प्रकोपमा फसेका वा पुरिएका व्यक्तिको उद्धार गर्ने गरेको छ।

    मानिस भन्दा ५ गुना बढी सुध्ने शक्ति भएका यस्ता तालिमप्राप्त कुकुरले घटना भएको २४ घण्टाभित्रै अनुसन्धानमा खटाउँदा कम्तीमा ८६ प्रतिशतसम्म सफलता प्राप्त हुने कुकुर शाखाका सई दयानन्द श्रेष्ठले अपराध न्यूजलाई जानकारी दिए।

    उनि भन्छन् ‘अहिले धेरै घटनामा तालिमप्राप्त कुकुरलाई मगाइन्छ । कतिपय घटनामा त कुकुर नआएसम्म शवसमेत उठ्दैन। कुकुरले प्राय सबै घटनामा अपराधी पहिचान गर्न सक्छ भन्ने होइन तर अनुसन्धानको पाटोलाई भरपुर मद्धत हाम्रो कुकुरले गर्ने गरेको छ। कुकुर प्रयोग भएका घटनाको परिणाम पनि सकारात्मक आउने गरेको छ’।

    हामीसँग अहिले लैला, पिकु, लुना, लुसी र ज्याक अलावा बिस्फोटक पदार्थ बिधाका सिमा र पिड्की, लागुऔषध बिधामा सिना र रेस्क्यु बिधामा एक्सभेना नाम गरेका कुकुर छन्। प्रदेश १ को संसद भवनमा ‘एक्सप्लोसिव’ बिधाको ज्याकले बैठक हुनु अगाडी दैनिक सर्च गर्ने गर्छ। सर्च गरेपछि मात्र बैठक शुरु हुने गरेको छ।

    यस्तो छ तालिम र सुबिधा

    ९ वटै कुकुरलाई ‘डग ह्यान्डलर’ ले बिहान ६ देखि आधा घण्टा दौड र पिटी खेलाइने गरिन्छ। त्यसपछि बिहानको ब्रेक फास्ट अनि ८ बजेदेखि फिल्डमा बिषयगत तालिम दिइन्छ। ९ बजे सरसफाई अनि १० बजे खाना दिइने गरेको छ। त्यसपछि २ बजेदेखि पूनं ५ बजेसम्म बिषयगत तालिम र रिहल्सल गराइन्छ।

    यी कुकुरलाई सामान्य मानिसले खाने भन्दा भिन्नै ‘डग फुड’ खुवाइने गरिन्छ। एउटा स्वस्थ कुकुरलाई १ केजी तौल बराबर १ सय ३२ क्लोरिनको आवश्यकता पर्छ। एउटा कुकुरले दैनिक ६ सय ग्राम डग फुड खान्छ। अहिले कुकुरको दैनिकभत्ता ३ सय २५ छ।

    कुकुरलाई तालिम गराउन सक्षम प्रहरी जवानलाई ‘ह्यान्डलर’ भनिन्छ। एउटा कुकुरलाई एक जनाले नै ह्यान्डल गर्ने गर्छन्। कुकुरले जसले तालिम दियो उसैको मात्र निर्देशन मान्ने गर्दछ। दैनिक तालिममा यी कुकुरहरुलाई लागुऔषध र बिस्फोटक पदार्थ जस्ता कुरा लुकाइन्छ र खोज्न लगाइन्छ। ह्यान्डलरले तालिम गराउँदा सांकेतिक भाषा, कोड, डिकोड कुकुरलाई बुझाइन्छ।

    एउटा कुकुरलाई दिइएको बिधामा ‘ट्रेण्ड’ हुन कम्तीमा पनि १ बर्षसम्म लाग्ने कुकुर शाखाका ह्यान्डलर प्रहरी हबल्दार उपेन्द्र थापा बताउछन्।

    लागुऔषध, बिस्फोटक पदार्थ र रेस्क्यु बिधाका कुकुरहरु प्राय ६—७ महिनामा ‘ट्रेण्ड’ हुन्छन् भने ट्रयाकर बिधामा १ बर्षसम्म लाग्ने उनको अनुभव छ

    यता १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिआईजी ठाकुर प्रसाद ज्ञवाली पनि अपराध अनुसन्धानमा कुकुरको प्रयोगले राम्रो नतिजा निस्कने धारण राख्छन्। उनी भन्छन्, ‘कुकुर नेपाल प्रहरीको अभिन्न अंग भइसकेको छ।’

    उमेर बढ्दै गएपछि कुकुरको स्मरण शक्ति कम हुने, ट्र्याक छोडेर अर्काेतिर जाने वा अटेरी गर्नेे हुँदा अनुसन्धानका लागि डेढ वर्षदेखि ६ वर्षसम्म उमेरका कुकुर बढी उपयुक्त हुने ज्ञवाली बताउछन्।

    अपराध अनुसन्धानमा कुकुरबाट सहयोग पुग्ने बुझेरै २०२७ सालमा तत्कालीन प्रहरी महानिरीक्षक डीबी लामाले नेपाल प्रहरीमा कुकुर इकाइ खडा गरेको इतिहास छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…