काठमाडौं । राजधानी काठमाडौं उपत्यकाको ललितपुर जिल्लामा सत्तारुढ नेकपाका कम्युनिस्ट ‘अरिङ्गाल’ले नेपाली कांंग्रेसका नेतामाथि मरणासन्न कुटपिट गरेका छन् ।
सत्ताको आडमा एक समुहले ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका–१ बस्ने नेपाली कांग्रेस इकाई पूर्व सभापति जनक लामालाई मरनासन्न हुने गरी कुटपिट गरिएको हो ।
गम्भीर घाइते भएका लामाको धापाखेलस्थित सुमेरु हस्पिटलको आईसीयूमा उपचार भइरहेको छ । घाइते लामा बेहोस अवस्थामा छन् ।
घाइते लामाको लिभरमा रगत जमेको अस्पतालका डा। डीबी कार्कीले बताएका छन् । लामालाई भेट्न ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्य, युवा नेता मीनकृष्ण महर्जन, कोन्ज्योसोम गाउँपालिकाका वडाध्यक्ष तीर्थ घलान लगायत थुप्रै नेता सुमेरु हस्पिटल पुगेका छन् ।
कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ भने बाँकी ५ जना फरार रहेका छन् । कुटपिटमा संलग्न भएपछि पक्राउ पर्नेमा नेकपाका स्थानीय कार्यकर्ता दीपक स्याङ्ताङ र सागर स्याङ्ताङ रहेका छन् ।
कम्युनिस्ट सरकारको आडमा नेकपाका कार्यकर्ताले गरिरहेको गुण्डागर्दीको नमूना ललितपुरमा देखिएको छ । वैचारिक र राजनीतिक रुपमा कमजोर परेपछि नेकपाका कार्यकर्ता कुटपिट र लडार्इमा उत्रिएका कांग्रेस जिल्ला सभापति अमात्यले बताए ।
‘कम्युनिस्टले चुनावका बेला गरेका वाचा पूरा गर्न सकिरहेका छैनन्, जनतामा बदनाम भएका छन् ।
मतदातासामु मुख देखाउन सकिरहेका छैनन्,’ सभापति अमात्यले भने, ‘नेकपाको बदनामीलाई ढाकछोप गर्न अनेक काण्ड गरिरहेका छन्, खबरदारी गर्ने विपक्षीमाथि भौतिक आक्रमण गरिरहेका छन्, यो बौद्धिक दरिद्रताको उपज हो ।’
एक वर्ष अघि पनि तरुण दल जिल्ला सदस्य बुद्ध बहादुर श्रेष्ठ र क्षेत्रीय सचिब अनिल श्रेष्ठमाथि गोदावरी नगरपालिका वडा नम्बर ८ डुकुमामा कम्युनिस्टकै कार्यकार्ताहरुले मार्ने गरि धारिलो हतियार प्रहार गरि सख्त घाईते बनाएका थिए ।
पछि प्रहरीले स्थानीयको सहयोगमा घाईतेको उद्दार गेरी पटन हस्पिटल पुर्याएको थियो। त्यस बेलामा कम्युनिस्ट नेताहरुको दबाबका कारण प्रहरीले जाहेरी लिन भने मानेको थिएन् ।