•  

    काठमाडौँ । नेपालीका लागि महत्त्वपूर्ण चाडबाडका बेला ‘भयानक तथा पीडादायी’ सवारी दुर्घटना नियतिजस्तै भएका छन् । यस वर्षको दशँै, तिहार, नेपाल संवत् र छठ पर्व त्यस्ता दुर्घटनाबाट अछूतो रहन सकेनन् ।
    दोलखाबाट काठमाडौंँ आउँदै गरेको बा। २ ख ७२४६ नम्बरको बस आइतबार दिउँसो सिन्धुपाल्चोकस्थित सुकुटेमा दुर्घटना भई सुनकोसी नदीमा खस्दा १७ जनाले ज्यान गुमाएका छन् । दुर्घटना भएको केही समयअघि म्याग्दीको बिम भीरमा ग। १ ज २४३६ नम्बरको मिनी बस दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् भने २२ जना घाइतेको उद्धार गरिएको छ । बस भीरको बीचमा रूखमा अड्केको थियो ।

    चाडपर्व मनाएर गन्तव्य फर्किंदै गरेको बेलामा भएका यस्ता दर्दनाक तथा पीडादायी दुर्घटनाले चालकको लापरबाही कि यात्रुको नियति भन्ने कुरालाई प्रस्ट पारेको छ । प्रहरी अधिकारीका अनुसार अधिकांश दुर्घटना चालक र यात्रुको कमजोरीका कारण हुने गरेका छन् ।
    सिट क्षमताभन्दा बढी यात्रु बोक्दा भार थाम्न नसकी, ‘ब्रेकफेल’ भएर बारम्बार यस्ता दुर्घटना हुने गरेको दाबी प्रहरी अधिकारीको छ । यी दुई घटना हुनुभन्दा चार दिनअघि मेलम्चीबाट काठमाडौँ फर्किंदै गरेको बा। ५ ख ५०७० नम्बरको बस साँखुमा दुर्घटना भएको थियो ।


    उक्त दुर्घटनामा तीन जनाको मृत्यु र २४ जना घाइते भए । दशैँ र तिहार मनाएर फर्किंदै गरेका यात्रुले खचाखच भरिएको बस सिन्धुपाल्चोक–काठमाडौंँ सीमा जरसिंहपौवाको ओरालोमा भारी लोडका कारण चिप्लिएर पल्टिँदा यतिको क्षति भएको प्रहरीको अनुसन्धानले देखाएको हो । सो दुर्घटना भएको २४ घण्टा नबित्दै महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको महाकाली यातायातको ना। ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका गेरुपानीमा शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु ३४ जना घाइते भएका छन् ।

    मानवीय क्षति हुने गरी भएका यी दुई बस दुर्घटनाको रगत सुक्न नपाउँदै आइतबार पुनः सिन्धुपाल्चोकको सुकुटेमा भएको भयानक दुर्घटना पनि क्षमताभन्दा बढी यात्रुको भार थेग्न नसकेर नदीमा पल्टिएको अनुमान गरिएको छ । करिब ३८ सिट क्षमता भएको बसमा ७० जनाभन्दा बढी यात्रु सवार थिए । चाडबाडको बेला हुने यस्ता दुर्घटना नियन्त्रण गर्न सम्बन्धित निकाय असफल भएका छन् ।


    तर, उल्लिखित दुर्घटनाले सम्बन्धित निकायको त्यो अभियानलाई निरर्थक बनाइदिएको छ । बस दुर्घटनामा ट्राफिक प्रहरी र चालक दुवैको कमजोरी देखिन्छ । ट्राफिक नियम पालना गर्ने गराउनेको कमजोरीले दुर्घटना भएको दाबी प्रहरीको छ । नेपाल प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, गोँगबु नयाँ बसपार्क र काठमाडौँ महानगरपालिकालगायतका निकायले यसपटकको चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउन उत्कृष्ट चालकलाई सम्मान र बसपार्कहरूमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको थियो ।

    केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेल दुर्घटनाका विभिन्न कारणमध्ये चालक र यात्रुको लापरबाही मुख्य देखिएको बताउनहुन्छ । चालकलाई पैसा कमाउनुपर्ने, यात्रुलाई गन्तव्य नपुगी नहुने भएकाले ‘ओभरलोड’का कारण पनि बस दुर्घटना हुने गरेको उहाँले स्पष्ट पार्नुभयो ।
    चाडबाडको बेला ट्राफिक नियम पालना नहुँदा दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालको भनाइ छ । “चालक मात्र के, कतिपय सचेत नागरिक पनि सवारी नियमको वास्ता गर्दैनन”, उहाँले थप्नुभयो, “सवारी साधनको अवस्थादेखि चालकको लापरबाही र यात्रु सचेत नभइदिँदा यस्ता दुर्घटना हुने गरेका हुन् । ” गाोरखापत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…