• धरान । आउँदो मंसिर १४ गतेको उपनिर्वाचनको लागि धरानमा दलहरुले आफ्ना अभियानलाई तिब्रता दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले हिजो औपचारिकरुपमा धरानमा मेयरको उम्मेद्वार घोषणा गरेसँगै दलहरु चुनाबी मैदानमा उत्रिएका हुन् ।

    यसअघि प्रमुख प्रतिपक्षले तिलक राईलाई सर्वसम्मत उम्मेद्वार घोषणा गरिसकेको अवस्थामा नेकपाले हिजो प्रकाश राईलाई उम्मेद्वार घोषणा गर्यो । धरानमा समाजवादी पार्टी, लिम्बुवान मञ्च र एक स्वतन्त्र उम्मेद्वारले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

    नेकपाले हिजो सोमवार उपमहानगर निर्वाचन परिचालन कमिटि तथा उम्मेदवार घोषणा गर्दै धरानको सर्वाङ्गिण विकासमा नेकपाको विकल्प नभएको बताएको छ । कार्यक्रममा नेकपाका सुनसरी जिल्ला सदस्य प्रकाश राईलाई मेयर पदको उम्मेदवारको रुपमा घोषणा गरियो ।

    नेकपाले केन्द्रमा प्रकाश राईसँगै, चोत्लुङ, वेणु काफ्ले र विजय राईको नाम पठाएको थियो । नेकपाको आइतबार बसेको सचिवालय बैठकले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    नेकपाले निर्वाचनकै लागि अनुगमन तथा सुपरीवेक्षण समितिका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज धर्मराज निरौलाको संयोजकत्वमा ५३ सदस्यीय कमिटि गठन गरेको छ । प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव रमेश बस्नेत संयोजक रहने गरी २१०५ सदस्यीय उपमहानगर निर्वाचन परिचालन समिति समेत गठन गरिएको घोषणा गरियो ।

    निर्वाचन परिचालक समिति संयोजक बस्नेतले उक्त समितिमा धरान घर भएका सबै जिल्ला सदस्य, नगर र वार्डका सदस्यहरु, जनप्रतिनिधिहरु, साविक एमाले र साविक माओवादीका जनसंगठनका नगर र सोभन्दा माथिका सबै सदस्यहरुलाई समेटिएको बताए ।

    नेकपाले अशोक राईको संयोजकत्वमा जनपरिचालन उपसमितिको गठन गरेको छ । उक्त समितिअन्र्तगत ज्येष्ठ नागरिक, महिला, युवा तथा विद्यार्थी, बुद्धिजिवि, मजदुर, जनजाति र दलित लगायत विभिन्न क्षेत्रको जिम्मेवारी तोकिएको छ । निर्वाचनकै लागि स्रोत व्यवस्थापन तथा आर्थिक उपसमिति संयोजकमा मिनकुमार सुब्बा, प्रचारप्रसार तथा प्रकाशन उपसमिति संयोजकमा भीम राई ज्वाला, कानुनी परामर्श उपसमिति संयोजकमा पदम लिम्बु रहेका छन् ।

    कार्यालय समन्वयन उपसमितिको जिम्मेवारी धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, राजनीतिक दलहरुसँग अन्तर संवादको जिम्मेवारी इन्द्र राईलाई दिइएको छ ।

    चुनाबी प्रचासप्रसारलाई तिब्रता दिन नेकपाले आज मंगलबारदेखि वडास्तरमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । भने, वडास्तरीय निर्वाचन परिचालन समिति पनि गठन गर्ने र प्रचार सामग्री तयार गर्ने बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…