• नेपाली कांग्रेसका ९ जना नेताहरुले भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भुमि लिपुलेक र कालापानी समेतलाई भारतीय भुमिमा पारिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

    कांग्रेस नेताहरु डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना सेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे र प्रदिप पौडेलले एक संयुक्त विज्ञप्ती निकाल्दै नेपालको अविभाज्य अंगलाई भारतको नक्सामा राख्ने तथा भूभाग मिच्ने अधिकार कसैलाई नभएको प्रष्ट पारेका छन् ।

    वक्तव्यमा नेताहरुले यस घटनामा नेपाल सरकारलाई तत्काल भारत सरकारसँग स्पष्ट कुरा गर्न आग्रह गरेका छन् । वक्तव्यमा भारतसँगै चीनको प्रसङग समेत उल्लेख गरिएको छ ।

    वक्तव्यमा भनिएको छ, “शदियौंदेखि एक आपसका घनिष्ठ छिमेकीको रूपमा रहेका भारत र चीन दुवै देशले आपसी सद्भाव, भाइचारा, बन्धुत्व र मैत्रिपूर्ण सम्बन्धको धरातलमा उभिएर अन्तर्राष्ट्रिय नियम, प्रचलन र मान्यतालाई ख्याल गरि छिमेकी राष्ट्रहरूसँग सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।’

    यस्तो छ संयुक्त वक्तव्य

    केही दिनअघि भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भुमि लिपुलेक र कालापानी समेतलाई भारतीय भुमिमा पारिएको घटनाप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ ।

    सन् १८१६ मा नेपाल र अङ्ग्रेजशासित भारतबिच सम्पन्न सुगौली सन्धिले किटान गरेका महाकाली पूर्वका भूभागहरू नेपालका हुन भन्ने व्यहोराबाट ती सबै भूभागहरू नेपालका अविभाज्य अंग हुन भन्नेकुरा स्पष्ट हुन्छ ।

    यस धरातलीय यथार्थलाई नजरअन्दाज गर्नु कसैको पनि हितमा हुदैन । नेपाली भूभाग मिच्ने अधिकार कसैलाई छैन । हाम्रा पूर्खाहरुले ज्यानको बाजी लगाएर ठूलो बलिदानको मूल्यमा कायम राखेको सिमा तलमाथि गर्न खोज्ने जो कसैलाई नेपाली जनताले माफ गर्न सक्तैनन् । यस घटनाबाट अहिले ३ करोड नेपाली जनता स्तब्ध, दुःखी र आक्रोसित छन् ।

    नेपाल सरकारले यस दुखद घटनाका सन्दर्भमा भारत सरकारसँग स्पष्ट कुरा गर्नु पर्दछ । यस बिषयमा सरकारले बोलाएको सर्वदलीय बैठकलाई सकारात्मक सुरुवातका रूपमा लिदै पछिल्लो घटना लगायतका सिमा अतिक्रमणका अन्य स्थानहरूका बिषयमा समेत सार्थक, परिणाममूखी र दिगो समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण रहेको छ ।

    शदियौंदेखि एक आपसका घनिष्ठ छिमेकीको रूपमा रहेका भारत र चीन दुवै देशले आपसी सद्भाव, भाइचारा, बन्धुत्व र मैत्रिपूर्ण सम्बन्धको धरातलमा उभिएर अन्तर्राष्ट्रिय नियम, प्रचलन र मान्यतालाई ख्याल गरि छिमेकी राष्ट्रहरूसँग सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।

    शक्ति,बल र अभिमान प्रदर्शन गरि साना राष्ट्रहरूलाई थिचोमिचो र दुव्र्यबहार गर्न मानवता, दर्शन र हाम्रो सभ्यताले पनि हामी कसैलाई अनुमति दिदैनन भन्ने कुरा पनि स्मरण गराउन चाहन्छौं । जय नेपाल

    नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना सेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…