काठमाडौं, २६ कात्तिक । प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महरा यौन दुराचारको आरोपमा पुर्पक्षका लागि थुनामा पुगेपछि नयाँ सभामुख को हुने भन्ने चर्चा परिचर्चा राजनीतिक बृत्तमा सुरु भएको छ ।
संविधान २०७२ ले एउटै पार्टी र एउटै लिंगको सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । तसर्थ यहि अवस्थामा नेकपाबाट सभामुखका लागि उम्मेदवारी दर्ता गर्न पाइदैन ।
अहिलेकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नेकपाबाट उम्मेदवार भएर निर्वाचित भएकी हुन । तत्कालिन एमाले र माओवादीबीच एकिकरण नहुँदै पूर्वमाओवादी केन्द्रबाट महरा सभामुख र एमालेबाट तुम्बाहाम्फे उपसभामुख बनेका थिए ।
पार्टी एकिकरण भएपछि संविधानको व्यवस्था अनुरुप एउटा पद छोडन प्रमुख प्रतिपक्षी कांग्रेसले दवाव बढाउदै आएको थियो । तर, नेकपाले मानेको थिएन ।
अब भने उम्मेदवार दर्ता नै गर्न नपाउने भएको छ । त्यसैले पहिला उपसभामुखलाई राजीनामा गराएर आफ्नो पार्टीको सभामुख बनाउने र अन्य पार्टीलाई उपसभामुख दिने तयारीमा नेकपा रहेको निकटस्थ स्रोतहरु बताउँछन् ।
त्यस्तो अवस्थामा हाल नयाँ सभामुखका लागि पार्टी एकीकरण भए पनि एमालेबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा माओवादी केन्द्रबाट देव गुरुङ, अग्नि सापकोटा र पूर्वसभामुख ओनसरी घर्तीको चर्चा सुनिन्छ ।
नेम्वाङ प्रधानमन्त्री ओलीका तथा गुरुङ र सापकोटा अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । यसअघि भागवण्डामा सभामुख माओवादीको भागमा परेकाले सभामुखमा गुरुङ बलिया दावेदार रहेको स्रोत बताउँछ । अभियान टाइम्सका साथमा ।