• काठमाडौं, २६ कात्तिक । पहिलो प्रधानमन्त्रीकालमा आफूले रोपेको पिपलमा पानी चढाएर ६ फागुन २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा दोस्रो पटक बालुवाटारमा प्रवेश गरेका थिए ।

    सायद त्यसबेला उनको मनमा सरकार संचालनको दुई वर्ष नपुग्दै सिंगो सचिवालय र सरदर सबै मन्त्री फेर्ने दिन आउला भन्ने लागेको थिएन । तर, परिस्थिति त्यस्तै बन्दै गएको छ ।

    आफूले अत्यन्त विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिएका मन्त्रीहरु र सचिवालयबाट परिणाम नआएपछि ठूलै परिवर्तनको तयारीमा देखिन्छन् ।

    त्यसक्रममा उनले प्रमुख राजनीतिक सल्लाहकार डा.राजन भट्टराईलगायत सचिवालयको सिंगो टिमसँग सामूहिक राजीनामा मागिसकेका छन् । केही समयभित्रै सबै मन्त्रीलाई राजीनामा गराउने उनको तयारी रहेको बुझिएको छ ।

    यसकारण सचिवालयसँग ओली रुष्ट पार्टी, सरकार र जनतासँगको समन्वय प्रभावकारी बनाउन नसकेको मात्र होइन, प्रधानमन्त्रीको स्वास्थ्य संवेदनशीलताप्रतिसमेत बारम्बर गम्भीर खेलवाड भएपछि सचिवालयको सिंगै टिम फालिने अवस्था बनेको हो मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई एकैपटक धेरै मानिसको सम्पर्कमा पुग्न नदिनुपर्नेमा २०७५ सालको दसैंमा सचिवालयले बालुवाटारमै प्रधानमन्त्रीको हातबाट टिका ग्रहणको कार्यक्रम राखेको थियो ।

    लगातार पाँच दिनसम्म प्रधानमनत्रीले सर्वसाधारणलाई टिका लगाइदिएका थिए । त्यसक्रममा संक्रमण फैलिएर उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परेको थियो । शिक्षण अस्पतालमा पाँच दिनको उपचारपछि उनी बालुवाटार फर्किएका थिए ।

    चिकित्सकहरुले विश्राम बढाउन र भेटघाट घटाउन सल्लाह दिए पनि सचिवालयले पालना गरेन । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारहरुले बालुवाटार बसेर सरकारका काम कारबाहीमा ठाडो हस्तक्षेप गर्ने, प्रधानमन्त्रीसँगको निकटताको फाइदा उठाई मन्त्रीहरुलाई बाइपास गरेर सचिवालयमार्फत मन्त्रालयका काममा प्रभाव पार्ने, आफूअनुकूल निर्णय गराउने, पार्टीका कयौं नेतालाई महिनौंसम्म पनि प्रधानमन्त्रीसँग भेटघाटबाट रोक्ने, तर आर्थिक लाभ प्राप्त हुने ठेकेदार, व्यापारी, दलालहरुलाई सहज पहुँच दिने, विगतमा ओलीलाई अत्यन्त सहयोग गरेका निकट व्यक्तिहरुलाई बालुवाटार छिर्नै नदिनेजस्ता अनेक काम गर्दै आएका छन् ।

    उनीहरुले पार्टीका सम्बन्धमा तल्लो तहका कार्यकर्ताको धारणा तथा सरकारका काम कारबाहीबारे आम सर्वसाधारणका प्रतिक्रिया र आलोचनाबाट प्रधानमन्त्रीलाई टाढै राख्ने, सरकार अभूतपूर्ण सफल भएको हावादारी प्रशस्ती गराउने, सबै जना खुसी छन् भनी प्रधानमन्त्रीलाई गुमराहमा राख्ने गरिरहेको व्यापक गुनासो छ ।

    पछिल्लो १४ महिनादेखि यस्ता गुनासा आइरहे पनि प्रधानमन्त्री ओलीले बल्ल आफ्नो असफलताको मुख्य कारण पत्ता लगाएका छन् । सबैलाई राजीनामा गर्न लगाएर समाधानको पहल थालेका छन् ।

    को–को हट्दै, को–को आउँदै ?
    प्रधानमन्त्री ओलीले सरकार पुनर्गठनको क्रममा कुन कुन मन्त्री हटाउने र कुन कुन मन्त्री राख्ने भन्ने सार्वजनिक भइसकेको छैन ।

    तर, पछिल्ला केही दिनदेखि पार्टीका दुईअध्यक्ष ओली र प्रचण्डबीच यस विषयमा पटक पटक र लामो छलफल भइरहेको छ ।

    स्रोतका अनुसार तत्कालीन नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन अनन्त दोहोरिने सूचीमा छन् ।

    यस्तै, तत्कालीन नेकपाका तर्फबाट मन्त्री बनेका पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल पनि दोहोरिने सूचीमा रहेका छन् ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई मन्त्रालय परिवर्तन गरी नयाँ जिम्मेवारी दिने सम्भावना रहेको बुझिएको छ ।

    मन्त्रिपरिषद् पुनर्गठनको क्रममा भीम रावल, सुरेन्द्र पाण्डे, देव गुरुङ, अग्नि सापकोटा, देवेन्द्र पौडेल, महेश बस्नेतलगायतले जिम्मेवारी पाउने सम्भावना रहेको बताइन्छ, दृष्टिमा उल्लेख छ ।

    गुरुङ र सापकोटा सकेसम्म सभामुख बन्न खोजिरहेका छन् । सभामुख बन्ने सम्भावना नरहेको अवस्थामा उनीहरुले मन्त्रालय सम्हाल्ने बढी सम्भावना छ ।

    हाल सरकारमा रहेको तर सरकारबाट बाहिरिने घुर्की देखाइरहेको समाजवादी दलका मन्त्रीलाई पनि प्रधानमन्त्रीले राजीनामा गराउने बताइन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…