• काठमाडौं, २६ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल कलेजहरुले सरकारले तोकेको मितिभित्रै बढि शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने बताएका छन् ।

    मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता शर्माले मन्त्रालयले मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग लिएको बढी रकम फिर्ता वा समायोजन गर्नेसम्बन्धी सूचनासमेत प्रकाशित गरेको सुनाए ।

    तोकिएकोभन्दा बढि रकम विद्यार्थीहरुसँग लिएको भए सुचना प्रकाशित भएको १५ दिनभित्र निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग लिएको बढी रकम फिर्ता वा समायोजन गर्न गराउन आग्रह गरिएको उनले जनाए ।

    त्यतिमात्रै नभएर आफूहरुले दिएको समयावधिभित्र निजी मेडिकल कलेजहरुले बढी रकम फिर्ता नगरे विद्यार्थीहरुले आफ्नो प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनसमेत आग्रह गरिएको उनले सुनाए ।

    उनले अनशनरत चिकित्सक डा. गोविन्द केसीका मागहरु आफ्नो मन्त्रालयसँग सम्बन्धित नभएको स्पष्ट पारे । प्रवक्ता शर्माले चिकित्सा शिक्षा आयोगलाई सबैले काम गर्न दिनुपर्ने धारणा समेत राखे ।

    उनले सबै विज्ञहरु राखेर वैज्ञानिक शूल्क निर्धारण गरिनुपर्ने पनि बताए । त्यस्तै, उनले अनशनरत डा. केसीसँग वार्ता गर्नुपर्छ वा पर्दैन भन्ने सवालमा आफू सम्बन्धित व्यक्ति नभएको भन्दै उक्त प्रश्नबाट पन्छिए ।

    नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले डा. गोविन्द केसीले राखेका सबै माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनले भने,‘डा. केसी अनशन बस्नुभएको आज आठौं दिन हो । उहाँले उठाउनु भएका सबै माग जायज छन् । सरकारले विलम्ब नगरी सबै माग पूरा गर्नुपर्छ ।’

    सरकारले केसीले उठाएका माग पूरा गर्दै छिटो समाधान गर्नुपर्ने भण्डारीको भनाई छ । उनले भने,‘सरकारले डा. केसीको माग सम्बोधन गर्दा यसले सरकार, नागरिक र सरोकारवालाको हित हुन्छ ।’ भण्डारीले निजी मेडिकल कलेजहरु पनि नाफामुखी बन्न नहुनेतर्फ ध्यानाकार्षण गराए । ‘निजी मेडिकल कलेजहरुले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्नुपर्छ ।’ उनले थपे ।

    निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढि शुल्क लिनु निन्दनीय भएको पनि उनको टिप्पणी छ ।

    डा. केसीले राखेका मागहरुमध्ये एउटामात्रै माग पूरा गरेर नहुने भन्दै उनले सबै माग पूरा गर्नुपर्नेमा उनको जोड थियो । सरकारले डा. केसीसँग अविलम्ब वार्ता टोली बनाएर वार्ता तथा सम्वाद गर्नुपर्ने पनि उनको आग्रह छ ।

    बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनैपनि जायज नभएको जिकिर गरेका छन् । यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनको दाबी छ ।

    उनले भने,‘पूर्व मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज थिएन् । मैले खोलें । २९ लाख मेचीवासीहरुको हितको लागि मैले कलेज खोलेको हुँ । कोशीमा तीन वटा मेडिकल कलेज छन् । बाग्मतीमा मात्रै दश वटा छन् । सुलभ स्वास्थ्य पाउनु मेचीवासीको अधिकार होईन् ?

    डा. केसीका माग डिनबाट सुरु भएको हो । शक्तिशाली चिकित्सा शिक्षा आयोग पनि बनिसक्यो । उहाँका सबै माग पूरा भएका छन् । मेरो पीडा कसले बुझ्ने ?’

    उनले निजी मेडिकल कलेजले कसले के कति शुल्क लिएका छन् ? त्यसको अनुगमन होस भन्ने पक्षमा आफू पनि भएको सुनाए । उनले भने,‘लगानीको आधारमा शुल्क लिएका छन् ।’

    उनले आफूलाई सरकारले २०६८ साल माघ २४ गते आशयपत्र दिएको पनि सुनाए । तर, आज ८ वर्ष बितिसक्दापनि अनुमति नदिएको उनको गुनासो छ । उनले भने,‘मैले मेडिकल कलेज पर्खिएर बसेको आज यत्तिका वर्ष भैसक्यो । मेरो पीडा कसले बुझ्ने ?’

    प्रसाईले गत वर्षमात्रै आफूले राज्यलाई १७ करोड कर तिरेको सुनाए । त्यतिमात्रै नभएर उनले करिब एक हजारलाई प्रत्यक्ष रोजगारी दिएको पनि बताए ।

    उनले भने,‘म सुरेन्द्र भण्डारीजीलाई भन्छु खोई त मेरो लागि तपाईहरुले बोल्नुभएको हो ? तपाईहरुको पनि त दायित्व भन्ने कुरा होला नि । मैले के सबैभन्दा राम्रो क्यान्सर अस्पताल बनाएको छु, यो बनाउनु के अपराध हो त ?’

    उनले अनशनरत डा. केसीका कुन माग राम्रा छन्? भन्दै देखाउन चूनौति दिए । उनले भने,‘म माफिया होईन, गोविन्द केसीलाई अनशन बस्न धलगाउनेहरु माफिया हुन् । हामीले त डा. केसीलाई साथ दिएकै हो नि । उहाँले सुदुर पुर्व जान भन्नुभयो, मैले बि.एण्ड.सी. खोलें ।’

    उनले आफूमाथि उल्टै अन्याय र अत्याचार भएको आरोप लगाए । उनले देशमा सबैभन्दा राम्रो हस्पिटल र मेडिकल कलेजपनि आफ्नै भएको दाबी गरे । नेपालको सबै पैसा पढाईको नाममा बाहिर गएको पनि उनको आरोप छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…