कार्तिक २८, पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गाप्राप्ति पहल समितिले संघीय मन्त्रालयहरुमा जग्गा व्यवस्थापनको माग अघि सारेको छ ।
संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय समक्ष जग्गा व्यवस्थापनको माग अघि सारेको हो । समितिकी संयोजक एवम् नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित समक्ष आवश्यक कागजात सहितको जानकारी प्रदान गर्दै जग्गा व्यवस्थापन गरिदिन अनुरोध गरेकी छन् ।
समितिका सदस्यहरुको उपस्थितीमा पहल समितिले वन तथा वातावरण मन्त्रालयमा पनि जग्गा प्राप्तिको पहल अघि बढाएको संयोजक वास्तोलाले जनाउनु भयो । मन्त्री शक्तिबहादुर वस्नेतसँग भेटी कुराकानी भएको हो ।
०६८ साउन ३२ को सर्वदलीय सहमतिले वडा नम्वर १० को भूटानी शरणार्थी शिविरमा केन्द्र राख्ने सहमति गरेको र सरकारले पनि त्यहाँ केन्द्र तोकिदिएको थियो ।
तर सरकारी तबरले सो स्थलमा जग्गा व्यवस्थापन नहुँदा कार्यालय भवन निर्माण हुन समस्या परिरहेको टोलीले जानकारी गराएको छ ।
साथै सो टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा नगरमा लामो समयदेखि ठूलो समस्याका रुपमा रहेको बसोबासका समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ ।
मन्त्री पद्मा अर्यालसँग सो विषयमा कुराकानी गर्दा सभामुखको विवादका कारण ऐन प्रमाणित गर्न वाँकी रहेकाले ऐन प्रमाणित भएपछि काम अघि बढ्ने बताउनु भएको टोली संयोजक वास्तोलाले उल्लेख गर्नुभयो ।
टोलीका सदस्यमा, १० नम्वर वडाध्यक्ष सागर राई, कार्यापालिका सदस्य निर्मला गदाल, सामाजिक अगुवा मोहनकुमार न्यौपाने, पर्शुराम कार्की, जीवन खतिवडा, रमेश राई सहित सहभागि थिए ।