जगन्नाथ भट्टराई, उर्लाबारी
लामो समयदेखि जेसीज अभियानमा सक्रिय रहनुभएका युवा समाजसेवी तथा उद्यमी व्यवसायी अशोक शंकरको पक्षमा देशव्यापी जनलहर सृजना भएको छ । समाजसेवी अशोकलाई नेपाल जेसीजको अध्यक्ष जस्तो गहन पदमा निर्वाचित गराउन जेसीजकर्मीहरुको जनलहर उर्लदै गएको हो ।
९ देखि १३ पुसमा चितवनको रत्ननगरमा हुने नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षको उम्मेद्वार बन्नु भएका अशोकलाई देशभरबाट समर्थन प्राप्त हुँदै आएको बताइएको छ । उहाँलाई जिताउन प्रदेश नं. १ लगायत देशैभरि छलफल, बैठक, भेला र भेटघाट भएका छन् । अशोकको पक्षमा एकाएक माहौल खडा भएको जेसीजकर्मीहरु बताउँछन् ।
पथरी जेसीजका संस्थापक अध्यक्ष अशोकले नेपाल जेसीजको विभिन्न तह र तप्कामा बसेर कुशलतापूर्वक पदीय जिम्मेवारी सफल रुपमा गरिसक्नुभएको हो । नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भईसक्नुभएका अशोक लगनशील, कर्तव्यनिष्ठ, कर्मठ र सामाजिक छवि उँचो भएका व्यक्तित्व रहेका कारण उहाँलाई जिताउन जेसीजकर्मीहरु लागि परेका छन् ।
‘जेसीजलाई सहि बाटो हिँडाउने, कसैलाई भेदभाव नगर्ने, जेसीजलाई पारदर्शी र स्वच्छ बनाउनु पर्छ भन्ने मेरो मान्यता हो’ उहाँले उल्लेख गर्नुभयो । विभिन्न देशको भ्रमण गर्नुभएका जुझारु, निर्भीक सक्रिय युवाको नेतृत्व आवश्यक रहेको बताउँदै जेसीजकर्मीहरु भन्छन्, ‘हामीलाई सबैसँग बोल्न सक्ने र स्पष्टवक्ता चाहिएको छ । त्यो अशोकमा छ, त्यसैले उहाँको विकल्प छैन ।
‘युवाहरुको विकास नै मुख्य मिसन हो’ अध्यक्षका उम्मेद्वार अशोकले बताउनुभयो । पथरी जेसीजको संस्थापक भएर महत्वपूर्ण योगदान गर्नुभएका अशोक केन्द्रीय उपाध्यक्ष छँदै कार्यकारिणी उपाध्यक्ष रहनुभएको छ । ग्रामीण क्षेत्रमा रहेर पनि नेपाल जेसीजका हरेक अभियानमा सक्रियता देखाउन सफल उहाँ अहिले देशव्यापी दौडाहामा हुनुहुन्छ । सात वटै प्रदेशका जेसीज शाखामा पुगेर शाखा पदाधिकारी, जेसीज अभियन्ता, जेसीजकर्मीलाई भेटेर निर्वाचनमा आफ्नो पक्षमा माहौल बनाउन उहाँले हार्दिक अनुरोध र अपिल गर्नुभएको छ ।
अशोकको देश दौडाहाले उहाँको पक्षमा माहौल र जनलहर देखापरेको जेसीजकर्मीहरु बताउँछन् । सकारात्मक सोचका धनी अशोकलाई नेपाल जेसीजको अध्यक्ष बनाउन अहिले जेसीजकर्मीहरु जोडतोडले लागेका छन् । ‘जेसीजको अभियान र यात्रामा संगै सहभागीता जनाउने उहाँलाई विजय गराएर जेसीजको अगुवाई गराउनु हाम्रो कर्तव्य हो’ पथरी जेसीजका पूर्व अध्यक्ष दीपेन्द्र तिम्सिना बताउनुहुन्छ ।