काठमाडौं । अहिले राज्य सञ्चालनका मूल साँचो बोकेर बसेका दुई प्रमुख नेताहरु वर्तमान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डको भूमिका समस्या समाधान उन्मुख नरहेको शंका गर्ने आधारहरु प्रशस्त तयार भएका छन् ।
केपी शर्मा ओली : सत्तामा नहुँदा पटक पटक कालापानीलाई राजनीतिक कार्डका रुपमा प्रयोग गरेका ओलीले सत्तामा रहँदा त्यही मुद्दालाई एक पटक पनि औपचारिक रुपमा भारतसमक्ष उठाएका छैनन् ।
यसअघि विपक्षमा रहेका बेला ओलीले २०५५ साउन २५ मा कालापानीबाट भारतीय सेना फिर्ता पठाउन भन्दै नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा गर्ने सम्बन्धमा छलफल गर्न संसदीय विभाग प्रमुखको हैसियतमा सदन स्थगन प्रस्तावसमेत दर्ता गराएका थिए ।
पछिल्लो समयमा धेरै पटक भारतको औपचारिक भ्रमण गरेका ओलीले आफ्नो स्थगन प्रस्तावलाई सम्झनासमेत गरेका छैनन् । कालापानी मुद्दामा केपी ओलीसँगसँगै वर्तमान नेकपाका अन्य वरिष्ठ नेताहरुको भूमिका पनि शंकास्पद नै छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपाको वरियतामा तेस्रो स्थानमा रहेका झलनाथ खनाल पनि प्रधानमन्त्री नभएका बेला सीमाबारे उग्र विचार व्यक्त गर्छन् । तर, प्रधानमन्त्रीकालमा यिनले सिन्कोसम्म पनि भाँचेनन् ।
माधवकुमार नेपाल पनि २०५७ वैशाख २९ गते यही मुद्दालाई लिएर परराष्ट्र मन्त्रालयमा दुई घन्टा धर्ना बसे । तर, आफू प्रधानमन्त्री हुँदा तैं चुप मै चुपको स्थितिमा रहे ।
पुष्पकमल दाहाल प्रचण्ड : जन,यु,द्धपछिका पटक पटकका अभिव्यक्तिले तत्कालीन माओवादीका मूलभूत एजेन्डामध्ये सीमाको रक्षा पनि हो भन्ने सन्देश पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए ।
तर, जनयुद्धकै कारण सीमा सुरक्षामा नेपालको फितलो प्रदर्शन र नेपाली सुरक्षाकर्मी लक्षित अनेकौं आक्रमण हुँदासमेत सीमा अतिक्रमणकारी भारतवि,रुद्ध बोल्नेबाहेकका कुनै गतिविधि नगरेकाले प्रचण्डको भूमिका र जन,यु,द्धको उठानमा शंका गर्ने आधार देखिन्छ ।
प्रचण्डले प्रधानमन्त्रीका रुपमा पटक पटक भारतको औपचारिक भ्रमण गरेका छन् । तर, एक पटक पनि यिनले कालापानीलाई एजेन्डा बनाउने जमर्को गरेनन् ।
साथै, कटवाल प्रकरणमा राजीनामा दिएपछि तत्कालीन माओवादीले राष्ट्रिय स्वाधिनताको आन्दोलन भन्दै आफ्नो नेताहरुलाई विभिन्न सीमा क्षेत्रमा खटायो, तरुणमा उल्लेख छ ।
अध्यक्षका नाताले कालापानी प्रचण्डको भागमा पर्यो । भौगोलिक कठिनाइ र मौसमको बहाना बनाउँदै प्रचण्डले आफ्नो कार्यक्रम टनकपुरमा सार्न लगाएका थिए । प्रचण्ड ब्रह्मदेवमण्डी पुगेर त्यहाँबाट राजधानी फर्किए ।