काठमाडौं– सम्पत्ति शुद्धीकरण विभागले मेडिकल कलेजमा छापा मारेको समाचार सत्य नभएको कलेज सञ्चालकहरुले जनाएका छन्।
आइतबार नेसनल मेडिकल कलेज, चितवन मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारी कागजात जफत गरेको समाचार प्रकाशन भएको थियो।
नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको समाचार सत्य नभएको बताए। ‘विभागले हामीलाई कात्तिक २९ गते विद्यार्थीको भर्ना विवरण र त्यसँग सम्बन्धित कागजात उपलब्ध गराउन पत्राचार गरेको हो, हामीले विभागको पत्रअनुसार सम्पुर्ण विवरण उपलब्ध गराउने छौं, ’ उनले भने, ‘छापा मारेको समाचार गलत हो।’
यसैगरी चितवन मेडिकल कलेजका सञ्चालक डा हरिश न्यौपानेले पनि विभागले छापा मारेको समाचार सत्य नभएको बताए। ‘विभागले विवरण र केही कागजात पत्राचार गरी माग गरेको छ’ उनले भने, ‘मेडिकल कलेजलाई बदनाम गर्ने उद्देश्यले छापा मारेको भन्ने गलत समाचार प्रकाशन भएको हो।’
विद्यार्थीहरु कलेजले शुल्क बढी लिएको भन्दै आन्दोलनमा छन्। कलेज सञ्चालकहरुले भने विश्वविद्यालयको नियमअनुसार नै शुल्क लिएको दाबी गर्दै आएका छन्। शिक्षा मन्त्रालयले बढी लिएको शुल्क समायोजन गर्न कलेज सञ्चालकलाई निर्देशन दिएको छ। मन्त्रालयले दिएको समय मंसिर २९ गते सकिँदैछ।स्वास्थ्य खबरपत्रिका