काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय काभ्रेमा स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । काभ्रेको पाँचखाल नगरपालिकामा विश्वविद्यालय स्थापना लागि जग्गाको तय भएपछि प्रक्रिया अघि बढाइएको हो ।
यसअघि विश्वविद्यालय मकवानपुरको चित्लाङमा स्थापना गर्न अध्ययन भएको थियो । तर, प्राविधिक टोलीले त्यहाँ पायक नपर्ने बताएपछि उपत्यकाबाट करिब ४० किलोमिटरको दूरीमा रहेको पाँचखालमा स्थापना हुन लागेको हो ।
विश्वविद्यालय स्थापनाका लागि पाँचखालको चरुवामा पाँच हजार रोपनी जग्गाको टुंगो लागिसकेको र छिट्टै शिलान्यास हुने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए । विश्वविद्यालयसम्बन्धी विधेयक गत साउनमा संसद्मा दर्ता भइसकेको छ । विधेयक संसदीय समितिमा छलफलको क्रममा छ ।