– धरानको चुनाव प्रचारको क्रम कहाँ पुग्यो ? मतदाताहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
दुईहजार एक सय एक सदस्यीय उपमहानगर स्तरीय निर्वाचन परिचालन समिति गठन भइसकेको छ । १४ वटा उप समितिहरु पनि बनिसकेका छन् । २० वटै वडाहरुमा निर्वाचन परिचालन समितिहरु गठन हुनका साथै ती वडाहरुमा सम्पर्क कार्यालयहरु समेत स्थापना भईसकेका छन् । ९ वटा वडाहरुमा उम्मेदवार सहितको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वडाहरुले वडा स्तरीय घरदैलो कार्यक्रम सञ्चालन गरीरहेका छन् ।
अन्य प्रचारप्रसारका कार्यक्रमहरु तिव्र गतिमा अगाडि बढिरहेका छन् । मतदाताहरु उत्साहित देखिन्छन् । नेकपाको तर्फबाट नगरको प्रमुख पदको उम्मेदवार प्रकाश राईलाई सवैले रुचाएका छन् ।
– धरानवासीले कम्युनिस्टलाई नै नेतृत्व निर्वाचित गर्दै आएकाछन्, फेरि पनि नेपाल कम्युनिस्ट पार्टीलाई नै जिताउछन् भन्ने आधार के हो ?
हो, धरानमा पञ्चायतकालमा पनि बामपन्थी उम्मेदवारलाई नै जनताले निर्वाचित गरे । बहुदलकालमा र पछिल्लो शान्ति प्रकृयापछि पनि निरन्तर कम्युनिस्ट पार्टीकै उम्मेदवारलाई धराने जनताले निर्वाचित गर्दै आएका छन् ।
त्यसैले विचार र चेतनामा मात्र होइन संगठन र जनमतमा पनि धरान वमपन्थीहरुको मजवुत किल्ला हो । यो नै नेकपाको विजयको पहिलो र दरिलो आधार हो । धरानमा आजसम्म जे जति विकासका कार्यहरु भएका छन् ती सवै कम्युनिष्ट पार्टीकै पहल र प्रयत्नमा भएका छन् । धरान एउटा जनसहभागितामा आधारित विकासको मोडेल सहर हो ।
जहाँ नगर सरकार र जनताको योगदान र सहकार्यमा विकासका कार्यहरु अगाडि बढ्छन् । आज धरानले एउटा सुन्दर र सफा सहरको परिचय बनाएको छ । अब धरान विस्तारै खेलकुद र पर्यटनको हव पनि बन्ने छ ।
धरानलाई यो उचाईसम्म ल्याउन नेकपा, नेकपाको सरकार र नेतृत्वले महत्वपूर्ण भुमिका खैल्दै आएको छ । यो दोस्रो आधार हो । आज नयाँ सविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष राज्य, समानुपातिक समावेशी लगायतका जति पनि राजनीतिक उपलब्धीहरु हासिल भएका छन् त्यसमा नेकपाको प्रमुख र नेतृत्वदायी भुमिका रहेको छ । यो तेस्रो आधार हो ।
नयाँ सविधानको घोषणासँगै सविधानको कार्यान्वयन गर्न र नेपाली जनताको विकास र समृद्धीको तिव्र आकांक्षालाई सम्वोधन गर्न स्थिर सरकारको खाँचो थियो । त्यसैले हामीले गएको निर्वाचनमा पार्टी एकता गर्ने संकल्प सहित वाम गठबन्धन गर्यौ ।
जुन कुरा निर्वाचनमा व्यक्त जनताको अभिमतद्धारा सहर्ष अनुमोदन भयो । निर्वाचन पछि हामीले पार्टी एकता गर्यौ । अहिले देशमा शक्तिशाली कम्युनिस्ट पार्टी छ र त्यो पार्टीको नेतृत्वमा शक्तिशाली सरकार छ । सात दशक लामो राजनीतिक अस्थिरता र अराजकता अब सदाको लागि समाप्त भएको छ । नेकपाको नेतृत्वमा विकास र समृद्धीको युग तिर देश बढीरहेको छ ।
हिजो राजनीतिक परीवर्तनको अगुवाई नेकपाले गरेको थियो । आज विकास र समृद्धिको अगुवाइ पनि नेकपाले गरिरहेको छ । यो चौथो आधार हो ।
– के पार्टी एकताले चुनाव जित्न अझ सहज बनेको हो ?
हो, मात्रा र गुण दुवै पक्षबाट दुई ठुला कम्युनिष्ट पार्टीहरुबीचको एकताले धरानमा चुनाव जित्न अझ सहज बनेको छ । कम्युनिस्ट क्रान्तिकारीहरुको एकता आजको वस्तुगत आवश्यकता हो भन्ने कुरा धराने जनताले राम्रोसँग बुझेका छन् । बलियो सरकार र राजनीतिक स्थायित्वले मात्र जनताका विकास र समृद्धीका आकांक्षाहरु हासिल हुन सक्दछन् भन्ने कुरा पनि धरानवासीलाई थाहा छ ।
धेरै पार्टी होइन बलियो पार्टी आजको राष्ट्रिय आवश्यकता हो । यी जनता र राष्ट्रका आवश्यकता र आकांक्षाहरु पुरा गर्न हामी अझ यो पार्टीलाई विस्तार र विकास गर्न चाहान्छौ ।
– देशको समृद्धी र समाजवादी क्रान्तिलाई नेकपाले कसरी अगाडी बढाउछ ?
राजतन्त्रको अन्त्य र नयाँ सविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास भए पछि नेपाली राजनीतिको एउटा अध्याय पुरा भएको छ । २००६ सालमा कमरेड पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी स्थापना गर्दा सामन्तवाद तथा साम्राज्यवाद विरुद्ध नयाँ जनवादी क्रान्तिको कार्यदिशा अँगालेका थिए । तत्कालिन परिस्थितिमा त्यो कार्यदिशा सहि थियो ।
त्यसकारण पछिल्लो अवस्थामा खास गरी १९ सालको तेस्रो महाधिवेशन यता पार्टी विभिन्न गुट र उपगुटहरुमा विभाजित भए पनि सवैले पुष्पलालकै लाईन पक्डे । तर अहिले अवस्था फेरिएको छ ।
२४० वर्षे सामन्ती राजतन्त्रको अन्त्य भएको छ । नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भएर कार्यान्वयनको चरणमा छ । नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार मुलभुत रुपमा पुरा भएको छ । अब विकास र समृद्धीको नेतृत्व गर्दै समाजवादी क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्नु पर्ने ऐतिहासिक दायित्व नेकपाको काँधमा आएको छ ।
यिनै वस्तुगत कारणहरुले हामीलाई पार्टी एकताको लागि प्रेरित गर्यो । अनि हामीले पार्टी एकता गर्यौ । अहिले सरकारको स्थायित्वसंगै राजनीतिक स्थायित पनि छ । हिजो बाहिरी जगतमा नेपालको स्थायी शक्ति राजसंस्था वा नेपाली काँग्रेस भन्ने भ्रम थियो अब त्यो स्थिति समाप्त भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै नेपाल राष्ट्र र नेपाली जनताको स्थायी र भरपर्दो शक्ति हो भन्ने सन्देश विश्व व्यापी गएको छ ।
२३ बर्ष पछि भएको चिनका राष्ट्रपती सि जिन पिङको नेपाल भ्रमणको पनि रणनैतिक महत्व छ । भ्रमणका क्रममा मित्र राष्ट्र चिनका राष्ट्रपतीले नेपाल भुपरिवेष्ठित देश होईन अब भुजडित देश हो भनेर उद्घोष गरे र हाम्रो विकासको सारथी बने । हामीले विकासको लागि त्रिदेशीय साझेदारीको कुरा गरेका छौ । जुन कुराहरु विकास र समृद्धीका आधार हुन् ।
शक्तिशाली कम्युनिष्ट पार्टी र दुई तिहाई बहुमतको सरकारको बलमा निसंकोच लिम्पीयाधुरा, कालापानी, लिपुलेक मात्र होईन विगतका असमान सन्धि सम्झौताहरुको पुनरावलोकन गर्न कुतनीति र राजनीतिक पहल समेत भईराखेको छ । यी कुराहरुलाई नेपाली जनताले सकरात्मक ढंगले लिएका छन् । क्रान्ति र समृद्धी परिपुरक हुन् । हिजो समृद्धीको लागि क्रान्ति गर्यौ । क्रान्तिले समृद्धीको लागि एउटा आधार तय गरेको छ । अब समाजवादी क्रान्तिको लागि समृद्धी हासिल गर्छौ । जुन समृद्धीले समाजवादको आधार निर्माण गर्ने छ ।
– धरानको समृद्धि र विकासका लागि पार्टीको योजना र नीति के हो ?
पहिलो धरान नगर सरकारको प्रशासनलाई सेवाग्राही प्रति पारदर्शी र जवाफदेही बनाउन चाहान्छौ । जनप्रतिनिधि र कर्मचारी मालिक होईन र जनताको सेवक हुन् । उनीहरु जनताप्रति जवाफदेही बन्नै पर्दछ । जनताको काममा आलटाल वा ढिलासुस्ती गर्ने कार्य र भष्टचारको अन्त्य गर्न गर्न चाहन्छौ । दोस्रो खानेपानी आयोजनालाई सम्पन्न गरी र सहज र सरल रुपमा गुणस्तरीय पानी धरानवासीलाई उपलब्ध गराउन चाहान्छौ ।
तेस्रो, सर्दु, सेउती, सेरा, अँधेरी लगायतका खोलाहरुमा तटबन्धन निर्माण गरि खोलाका दायाँ बायाँ सडक, ढल, पार्क निर्माण गर्ने । बस पार्क निर्माणको कार्यलाई यसै कार्यकालमा सम्पन्न गरी स्मार्ट बसपार्क सञ्चालनमा ल्याउने र एयरपोर्ट निर्माणको प्रकृया अगाडी बढाउने । निर्माणाधिन धरान पानवारी सेराखोला छेउको औद्योगिक ग्राम र विजयपुरको बहुजातिय संग्राहालयलाई विशेष प्राथमिकता दिने ।
सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई पहिलो चरणमा घर धुरी नम्बर वितरण कार्य सम्पन्न गर्ने र दोस्रो चरणमा धनीपुर्जाको लागि पहल गर्ने । सबै विजुलीका तारहरुलाई भूमिगत गर्ने लगायतका योजनाहरु छन् । चौथौ धरानलाई खेलकुद र पर्यटनको हब बनाउने हो । धरान रंगशाला र भक्तराज कन्दङवा क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने ।
अन्य विषयगत खेलकुदका संरचनाहरु निर्माण गर्ने । शुरु गरिएका वहुवर्षिय आयोजनाहरु धरान हर्दिया कन्यापोखरी र धरान विष्णुपादुका आहाले सडकलाई पर्यटन प्रबद्र्धनसँग जोडेर तत्काल निर्माण कार्य सम्पन्न गर्ने ।
निजि क्षेत्रसँग सहकार्य गरेर धरान भेडेटार नाम्जे तथा धरान विष्णु पादुका वराहक्षेत्रमा केवलकार सञ्चालनमा ल्याईनेछ । पर्यटनका लागि निजि क्षेत्रसँगको साझेदारीमा अन्य पूर्वाधार निर्माण सम्पन्न गरि सकिनेछ । सबै खाले साहसिक खेल प्रबद्र्धनका लागि एक्स्ट्रीम पार्क निर्माण सम्पन्न गरिनेछ । पाँचौ नेपाली काँग्रेसका तत्कालिन सभापती गिरीजाप्रसाद कोइराला सत्तामा हुँदा धरानमा रहेका धेरै सरकारी कार्यालयहरु विराटनगर र इनरुवा लगियो । नेकपाको सरकार आए पछि प्रदेश सरकारको वन निर्देशनालयको कार्यालय स्थापना भएको छ ।
पर्यटन निर्देशनालयको कार्यालय राख्ने निर्णय भईसकेको छ । मालपोत र नापी कार्यालयहरु स्थापना भएका छन् । अब हामीले प्रदेश प्रमुखको कार्यालय र खलकुदको निर्देशनालय पनि धरानमा ल्याउने योजना बनाएका छौ । यसरी धरानलाई प्रशासनिक केन्द्र पनि बनाउने नेकपाको योजना छ ।
– प्रकाश राई नै धरानको नगरप्रमुखको उम्मेदवार हुनुपर्ने कारण के हुन् ?
प्रकाश राई तारा सुब्बाको उत्तराधिकारी हो । दिवंगत तारा सुब्बाका सपना र योजनाहरु प्रकाश राईबाट मात्र पुरा हुन सक्दछ । प्रकाश राई प्रति धराने जनताको अथाह माया र विश्वास पनि छ । प्रकाश राई नेकपाको उम्मेदवार हुनुको नाताले मात्र होईन उहाँसँग स्पष्ट भिजन र योजना पनि छ । धरानवासी र धरानको विकास प्रति गहिरो लगाव, इच्छाशक्ति र समर्पण पनि उहाँमा देखिन्छ । त्यसैले प्रकाश राई धरानको मेयर हुँदा नै धरानवासी र धरानको विकास सुनिश्चित छ ।
– निकट्तम प्रतिस्पर्धिको तुलनामा नेकपाका उम्मेदवार प्रकाश राई नै विजयी हुने आधार के छन् ?
गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा तिलक राई नै उठ्नु भएको थियो । त्यसवेला उहाँले प्राप्त गरेको मत १६ हजार लगभग हो । दिवंगत मेयर तारा सुब्बाले प्राप्त गरेको मत २० हजार हो (साविक एमाले) ।
अईन्द्र विक्रम बेघाले प्राप्त गरेको मत ११ हजार हो (साविक माओवादी केन्द्र) । अहिले पार्टी एकता भएर नेकपा बनेपछि नेकपाको मत ३० हजार रहेको छ । यो ३० मत भनेको प्रकाश राईलाई जाने मत हो । यसरी मतको अन्तर हेर्दा प्रकाश राईको विजयलाई सहजै अनुमान गर्न सकिन्छ ।
नगर प्रमुख हुनु भनेको स्थानीय सरकार मार्फत धरान र धरानवासीको अझ बढी सेवा र विकास गर्नु हो । तिलक राईको व्यक्तिगत इच्छा त्यो हुन सक्छ तर वस्तुगत अवस्था त्यस्तो छैन । १५ वडामा नेकपाको सेट छ । ५ वडामा मात्र काँग्रेसको सेट छ । यस्तो अवस्थामा मानिलिऔँ कथमकदाचित तिलक राईले जित्नु भयो भने पनि अल्पमतको सरकार जस्तो हुन्छ । दुई तिहाई बहुमत प्रतिपक्षमा हुन्छ ।
के यस्तो अवस्थामा धरानको विकास हुन्छ ?
यो कुरालाई धरानका सचेत नगरवासीले राम्रोसँग बुझ्नुभएको छ । त्यसैले जहिल्यै पनि मतदाताहरुले आफ्नो मत हाल्दा सकेसम्म आफ्नो मत खेर नजाओस भनेर सोँच्छन् ।
– निकट्तम प्रतिस्पर्धी राजनीतिक पार्टीका उम्मेदवार र नेकपाका उम्मेदवार दुवैजना राई भएकाले राईको मत विभाजनको अवस्था के देख्नुहुन्छ ?
मतदाताले अन्तिममा अब्बल, सक्षम र जित्नेलाई रोज्छन् । त्यसैले राईहरुले रोज्दा तिलक राई भन्दा अब्बल, सक्षम र जिन्ने प्रकाश राईलाई नै रोज्छन् ।
मुलुकको ध्यान अहिले मंसीर १४ गते हुन लागिरहेको स्थानीय तहको उप निर्वाचनमा केन्द्रित छ । अहिले सिंगो मुलुक र दलहरु अ-आफ्नो दललाई लिएर चुनावी अभियानमा होमिएका छन् । अहिले धरान उप महानगरपालिकाको प्रमुख पदमा नेकपाको तर्फबाट प्रकाश राई उम्मेदवार भएका छन् । यसै सिलशीलामा चुनाव प्रचार प्रसारमा एउटा जिम्मेवारी सम्हालेर चुनावी मैदानमा जोड घटाउको हिसाबमा ब्यास्त रहेका नेकपाको १ नं. प्रदेश समिति सदस्य तथा लिम्वूवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष मुक्साहाङ मेन्याङ्वो ‘मुकेश’ संग eposttimes.com का प्रतिनिधीले चुनावी अभियानको बारेमा केही अन्तरसम्बाद गरेको अंश :-हामीले साभार गरेको हो ! All rights to related news- eposttimes.com