• रामशरण गैरे, सामाजिक सञ्जालले हिजोआज मानिसलाई सञ्चारका लागि धेरै सहज बनाएको छ । मनमा खेलेका कुराहरु समेत सामाजिक सञ्जालमा लेखेर सामाजिक विषयवस्तु बनाउन सकिन्छ । इन्टरनेटले व्यापकता पाएसँगै विभिन्न खाले सामाजिक सञ्जालको प्रयोग बढ्दो छ ।

    मोबाइल फोनमै इन्टरनेट सुविधा उपलब्ध हुन थालेपछि विशेषगरी फेसबुकको प्रयोग गाउँसहर सर्वत्र पुगेको छ । सामाजिक सञ्जाल धेरैका लागि आपसी अन्तरक्रिया बढाउने, घनिष्ठता बढाउने र सूचना आदानप्रदान गर्ने माध्यम बनेको छ ।

    फेसबुक, ट्वीटर, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका विभिन्न खालका सामाजिक सञ्जालका प्रयोगकर्ता दिनदिनै बढिरहेका छन् । स्मार्ट फोनमा इन्टरनेटको सुविधा भएपछि त मानिसहरु आफ्नो कामधन्दा भुलेर घन्टौँ सामाजिक सञ्जालमा भुल्न थालेका छन् ।

    सामाजिक सञ्जालको विभिन्न फाइदाहरु छन्, यसले हामीलाई विश्वको कुनै पनि कुनामा भएका व्यक्तिसँग जोडिन सहयोग गर्छ । यसले मानिसको शारीरिक दूरीलाई भुलाउन मद्दत गर्छ । धेरै पुराना साथीसँग अनायासै भेट हुन्छ । कुराकानी हुन्छ ।

    क्षण–क्षणका तस्बिरहरु राखेर साथीसँगीको प्रतिक्रिया लिन सकिन्छ । आधुनिक सञ्चार प्रविधिले मानवसमाजलाई दिएको ठूलो उपहार हो यो । तर, यिनै सुविधालाई कहिलेकाहीँ हामीहरु निकै नै अशोभनीय तरिकाले प्रयोग गर्छौं ।

    फेसबुकको भित्तो त आफ्नै हो, तर त्यहाँ राख्ने कतिपय विचार तथा तस्बिरले कतै अरुलाई त कुनै हानि भएको छैन ? भन्ने कुनै हेक्का राख्ने संस्कार हामीमध्ये धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा विकास भएकै छैन । सामाजिक सञ्जाल चलाउन जान्ने भइसकेका हामीहरु सामाजिक संवेदनशीलतासँग जोडिएका यस्ता विषयहरुमा चुकिरहेका छौँ ।

    प्रविधिले विश्वलाई एउटै घरजस्तो बनाइदिए पनि मानिसबीच सुखदुःख आदानप्रदान, एउटाको गफ अर्काले सुन्ने, संस्कृति पुस्तान्तरण, मानिस भेटघाट हुने क्रम बिस्तारै घट्दै गएको छ । मानिसहरु मानिसको हुलमा भन्दा एउटा कोठामा बसेर युट्युव, फेसबुक र गुगल चलाउँदा खुसी देखिन्छ ।

    त्यतिमात्रै होइन, वर्षौंपछि भेट भएका साथीभाइ वा आफन्त पनि आफ्ना अनुभव र सुखदुःख साट्नभन्दा बढी मोबाइलका फोटो देखाउन थाल्छन् कि अगाडि बसेर मोबाइल चलाउन थालिहाल्छन् ।

    सहरमा मात्रै होइन, गाउँघर पनि प्रविधिमैत्री बनिसकेको छ । गाउँघरमा आफूभन्दा ठूला व्यक्तिका कुरा सुन्ने, मानिस भेला भएर अनुभव, सुखदुःख बाँड्ने काम निष्क्रिय देखिएका छन् । त्यसैले, आजको समाज मानिसमैत्री होइन प्रविधिमैत्री बनेको छ ।

    यसलाई कतिपयले अपराधको माध्यमसमेत बनाएका छन्, यसबाट अन्य विभिन्न विकृति पनि सिर्जना भएका छन् जुन चिन्ताको विषय हो ।

    सामाजिक सञ्जाल दुरूपयोग नियन्त्रणका लागि राज्यबाट पहल भए पनि प्रभावकारी देखिएको छैन । अपराधका घटना र उजुरी पर्ने क्रम बढ्दोरुपमा समेत देखिएकाले राज्यले यसलाई गम्भीररुपमा लिनुपर्ने भएको छ । प्रविधिको विकाससँगै विशेषगरी युवाहरु सामाजिक सञ्जालको कुलतमा फस्दैछन् ।

    आजकाल पत्रकार बन्न वर्षौंको अनुभव वा कुनै युनिभर्र्सिटीमा पत्रकारिता पढ्न पर्दैन । युट्युवले भिडियो शेयरिङका लागि व्यक्तिगत पेज बनाउने व्यवस्था बनायो । युट्युव आफूले यो व्यवस्थालाई च्यानल भन्छ । त्यही च्यानललाई टिभी भनिदियो, पुग्यो ।

    एउटा क्यामेरा किन्यो, बुम जोड्यो वरिष्ठ टिभी मालिक या पत्रकार बनिहाल्यो । युट्युव एक्सपोजरको गतिलो माध्यम बन्यो । भिडियो शेयरिङ साइट भएकाले युट्युव धेरैका लागि अनिवार्यजस्तै बन्यो । दुई–चार कलाकारलाई मनपरी सोध्यो, खतरनाक पत्रकार ! युट्युवमा भिडियो अपलोड गरेर, अरुले हेरिदिएबापत डलर कमाउनकै लागि पसिना बगाउनेलाई युट्युवर भन्ने चलन छ । सिर्जना जोकसैले गर्न सक्दैन ।

    सिर्जना गर्न सक्ने थोरै र नक्कल गर्ने असंख्यक छन् । नेपालमा सिर्जनशील पत्रकार थोरै र ‘झोले टिभीका मालिक पत्रकार’ अर्थात् युट्युवर धेरै भए ।

    झोलामा टिभी बोकेर हिन्ने मालिक पत्रकार । दर्शक तान्न अनेक नौटंकी गर्न यिनले अनेक जानेका छन् । मनपरी लेख्न, बोल्न कसैको चरित्र हत्या गर्नु परे यिनैको सहारा उपलब्ध छ ! घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी चाहिँदैन । झोले टिभीका मालिक पत्रकारले प्रहरीभन्दा पहिले अपराधी पत्ता लगाउँछन् ।

    हातमा क्यामेरा र बुम भए पुग्यो । यहाँ त यस्तो वातावरण बन्यो कि आफूलाई गायक, कलाकारको रुपमा ठूलै ठान्नेहरु पनि क्यामेरा र बुम बोकेर दगुरेका देखिन्छ । त्यतिमात्र भए त ठिकै थियो । आफू हर्ताकर्ता रहेकै टिभीमा आफैँ गेष्ट बनेर अन्तर्वार्ता दिनेको संख्या पनि कम छैन ।

    झोले टिभीका मालिक पत्रकार भन्दै गर्दा उनीहरुले समाजका लागि गरेका कतिपय योगदान सम्मान गर्न लायक छन् । युट्युवरको भित्री चाहना अर्थ उपार्जनै किन नहोस् । उनीहरुको अर्थ उपार्जनको स्वार्थले समाजमा केही सकारात्मक योगदान पुगेकै छ ।

    सामाजिक सञ्जालमा प्रवाह भएका समाचार तथा सूचनाहरु पत्याइहाल्ने अवस्था छैन । यसमा नेपालको सन्दर्भमा रहेर कुरा गर्ने हो भने सामाजिक सञ्जालका कुरा धेरैले पत्याउँदैनन् । २ प्रतिशतले मात्रै सञ्जालमा आएका समाचार तथा सूचनाहरु पत्याउँछु भनेको अवस्था छ ।

    यो भनेको सामाजिक सञ्जालमा आउने सूचनाहरु धेरैले पत्याउने रहेनछन् भन्ने नै हो । यसबीच त्यहाँको पत्रकारिताले समाजमा सकारात्मक मात्र होइन, केही नकारात्मक प्रभाव पनि पारेको अनुभव गरियो ।

    पीत पत्रकारिता भन्ने शब्दावली यही युगमा प्रचलनमा आएको हो । पत्रकारिता पेसा मात्र होइन, जवाफदेहिता पनि हो । पत्रकारले आफूले लेखेका या बोलेका हरेक शब्द र वाक्यको जवाफ दिनुपर्छ । एक्स्पोजको माध्यम जेसुकै होस् । मिडिया सबै एक्पोजका माध्यम हुन् । त्यसमा युट्युव पनि पर्छ, जहाँ सबैको सहज पहुँच रहन्छ ।

    अर्को एउटा सशक्त पक्ष प्रेस सूचनामूलक र समाचारसँगसँगै विचारप्रधान हुनुपर्ने विश्वव्यापी मान्यता एकातिर छ भने त्यसभित्रका आडम्बरी सोच, शक्तिकेन्द्रित गर्ने मह¤वाकांक्षा र धनआर्जन गर्ने माध्यम बनाइँदा समाजमा सही सूचना र समाचार प्रवाह हुन सकेको छैन ।

    समाजलाई सुसूचित गर्ने मूलधर्मबाट प्रेस कतै टाढा जाँदै त छैन ? कतिपय विषयवस्तुमा मूलधारका भनिने सञ्चारमाध्यमले बेवास्ता गरेझैँ, आमनागरिकको पहुँच नपुगेको समेत अनुभव हुन थालेको छ । त्यसैले होला, सञ्चारमाध्यमको विकल्पका रुपमा पछिल्लो दशकमा सामाजिक सञ्जालको भूमिका बढ्दै गइरहेको छ ।

    हामी सस्ता युट्युवर, अनलाइन मिडिया र फेसबुक समूह तथा पेजमा आएका अनर्गल प्रचारलाई पत्याएर धारणा बनाउँछौँ अनि बहकिन्छौँ । आफैँ वकिल, पुलिस र न्यायाधीश बन्छौँ ।

    हाम्रो धारणा निर्माणको आधार के हो ? त्यो कत्तिको भरपर्दो र विश्वसनीय छ ? भन्ने ख्याल गर्दैनौँ । सत्ता र शक्तिमा भएकालाई जसरी पनि नकारात्मक दृष्टिले हेर्न हामी अभिशप्त छौँ । फेसबुकमा आउने फेक भिडियोलाई पत्याएर कसैलाई कत्लेआम गर्नमा मजा मान्छौँ ।

    हुन त, समाज निर्माण र सोचको विकास कसरी गर्ने÷गराउने भन्नेमा राज्यव्यवस्थाको हात हुन्छ । सत्तासँग ज्यादा आकांक्षा राख्नेहरु चाँडै निराश हुन्छन् । र, उनीहरुले भनेको नहुनेबित्तिकै सत्ताको सत्तोसराप गर्छन् । समाजमा बढ्दो नकारात्मकतालाई नियन्त्रण गर्न सन्देशवाहक माध्यमलाई व्यवस्थित गर्न जरूरी छ ।

    चाहे त्यो मासमिडिया होस् या सामाजिक सञ्जाल । कुन समाचार आयो भन्दा पनि कुन मिडिया आयो ? भन्ने कुराले ज्यादा अर्थ राख्छ । ठेकेदार, नेता, तस्कर सबैका आआफ्ना मिडिया छन् ।

    उनीहरुले आफूअनुकूल सामग्री तय गरेर प्रकाशन, प्रसारण गर्छन् । अनि त्यसैलाई आधार बनाएर आमनागरिकले धारणा बनाउँछन् । यसर्थ, सन्तुलन बिग्रिएको समाजलाई सन्तुलनमा ल्याउन आवश्यक छ ।

    पछिल्लो घटनाक्रमले प्रमाणित गरिदिएको छ कि नेपाली समाजको ‘मानसिक सन्तुलन नै बिग्रिएको छ । कुनै तथ्य र प्रमाणका आधारमा होइन व्यक्तिगत आग्रह÷पूर्वाग्रहका आधारमा मानिस बहकिएका छन् ।

    परिणामतः समाज नै खल्बलिएको छ । यिनै सामाजिक सञ्जालमा आएका विषयहरुलाई लिएर केही अनलाइन मिडियाहरुले समाचार नै बनाउँछन् । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता त्यति छुट्टयाउने क्षमतासम्म राख्दैनन् ।

    सामाजिक सञ्जालमा आएका सामग्रीमध्ये के हेर्ने ? के पढ्ने ? के शेयर गर्ने ? र, त्यसमा के लेख्ने ? भन्ने प्रश्न आफैँले आफैँलाई गर्दैनन् । कसले कुन स्वार्थले पेज बनाएर कस्तो भ्रमको खेती गरिरहेको छ, त्यो पनि बुझ्दैनन् । एउटा मान्छेले केही शेयर गरे ‘भेँडा’ कै शैलीमा सबैले शेयर ठोक्छौँ ।

    अनावश्यक विषयको अफवाहले सामाजिक सञ्जाल एकातर्फ ‘फोहोरी’ नै बनिसकेको छ । यो आफैँमा फोहोरी होइन । तर, प्रयोग जसरी ग¥यो परिणाम पनि त्यसरी नै आइरहेको छ ।

    प्रश्न उठ्छ, यसरी भेँडा नबन्न अब सामाजिक सञ्जाल नै प्रयोग नगर्ने त ? त्यो हुँदै होइन । प्रयोग गर्ने, तर त्यहाँ आफू प्रयोग नहुने । सबैभन्दा ठूलो सूत्र नै यही हो । कसैले कारबाही गरेर केही सुधार हुनेवाला छैन ।

    आफूलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमा लेख्नु आफ्नो निजी चाहना हुन सक्ला, तर त्यसले समाजमा के सन्देश दिन्छ भन्ने कुरा आफ्नो विवेकमा भर पर्ने भएकोले अरुलाई असहज लाग्ने विषय सार्वजनिक ठाउँमा नराखेकै राम्रो । आफ्नो घरको भित्ता त हो भनेर मनपरी लेख्न कहाँ पाइएला !

    अनुमतिबिना साथीको तस्बिर सामाजिक सञ्जालमा राख्न हुँदैन भने नितान्त घरायसी मामिलाका विषयहरु समेत सामाजिक सञ्जालमा राख्न हुँदैन । दुर्घटना भयो भने सामाजिक सञ्जालमा बग्रेल्ती लासका फोटाहरु प्रविष्ट गरेको देखिन्छ । तर, उक्त तस्बिर देख्दा मृतकका आफन्तको मन कस्तो होला भन्ने कुनै होसियारी अपनाएको पाइँदैन ।

    अनि, अर्को संवेदनशीलताको विषय पनि छ । आफ्नै बाबुआमा को मृत्युमा सम्म फेसबुकमा हृदयविदारक तस्बिर राखेर कमेन्ट र लाइक गन्दै बस्नु कति जायज होला त ! कसैको मलामी जाँदा लास जलाउँदै गरेको तस्बिर राखेर श्रद्धाञ्जली दिनुले मृतकप्रति श्रद्धाञ्जली हुन्छ ?

    घरपरिवारमा संवेदना हुन्छ कि झन् पीडा थपिन्छ ? कुनै विपत्तिको समयमा राहत बाँड्नुपर्दा तथा कोही व्यक्तिलाई सहयोग गर्नुपर्दा केही जिम्मेवार कर्मचारी तथा पदाधिकारीहरुले समेत आज यो अवसरमा यो व्यक्तिलाई राहत वितरण गर्दै भनेर मुसुक्क हाँसेर राहत दिँदै गरेको तस्बिर फेसबुकमा अपलोड गर्नुले के सन्देश दिन्छ ? मानौँ, म विधाता हु र लिनेहरु सबै निर्जीव हुन् भन्ने सोचाइबाहेक अरु के हुन सक्ला !

    यो विश्वव्यापी सञ्जालमा आफ्नो पहिचान कस्तो बनाउने ? यो व्यक्तिगत विषय हो । लेखेको अर्थात् शेयर गरेको कुराले समाजमा सकारात्मक प्रभाव परे त्यो राम्रो भयो । तर, नराम्रो प्रभाव परे को जिम्मेवार हुने ? यसको नियमन कुनै राज्य संयन्त्रले गर्दैन ।

    सामाजिक सञ्जाल भएकाले हरेक प्रयोगकर्ताले आफैँ सचेत हुनुपर्छ । त्यसैले, केही पोस्ट र शेयर गर्नुअघि केही सेकेन्ड मात्र सोच्नु आवश्यक छ । मानवीय संवेदनाका सवालमा पनि यी दुवैको प्रयोग अशोभनीय ढंगले बढ्दो छ । तर, सञ्चारमाध्यम र सामाजिक सञ्जाल एउटै होइन । अहिले जति सञ्चारमाध्यमप्रति जनविश्वास खस्कँदो छ, यो चिन्ताको विषय हो ।

    धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता कानुनी प्रावधान र कारबाहीबारे बेखबर छन् । लापर्बाहीपूर्ण तरिकाले सामाजिक सञ्जाल प्रयोग गर्छन् । समाजमा राम्रै हैसियत बनाएका व्यक्तिहरु समेत गैरजिम्मेवार ढंगले प्रस्तुत भएको देखिन्छ ।

    अरुको आश्वासनलाई शंकाका दृष्टिले हेर्न र गलत क्रियाकलाप भए सम्बन्धित ठाउँमा उजुरी गर्न अभ्यस्त देखिँदैनन् । सामाजिक सञ्जाललाई अपराधको माध्यमका रुपमा प्रयोग गर्ने क्रम बढिरहेका बेला निर्दोष व्यक्तिसमेत फस्न सक्ने जोखिम छ । दुरूपयोग रोक्न प्रयोगकर्ता नै मुख्य जिम्मेवार हुनुपर्छ ।

    सामाजिक सञ्जाललाई सही ढंगले प्रयोग गर्न र अरुबाट ठगिन वा फस्नबाट जोगिन आफैँ सचेत हुनुपर्छ । फेसबुक जुनसुकै उमेरका व्यक्तिले पनि प्रयोग गरिरहेको देखिन्छ । आफ्ना छोराछोरीबाट दुरूपयोग नहोस् भन्नेमा अभिभावकहरुले पनि निगरानी गर्न आवश्यक छ ।

    सामाजिक सञ्जालको दुरूपयोगले अपराध बढाएको भन्दै विभिन्न क्षेत्रबाट बेला–बेला सञ्चालन हुने गरेका अभियानलाई व्यापकता दिनुपर्ने भएको छ । राज्यका तर्फबाट पनि नागरिकलाई सचेत बनाउने खालका सामग्रीको प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्छ र निगरानीमा ध्यान दिन पनि उत्तिकै खाँचो छ । चितवन पोष्टका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…