काठमाडौं, ५ मंसिर । प्रमुख विपक्षी दल कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको दुई तिहाईको सरकार २१ महिनापछि २१ विषयमा नै असफल भएको दाबी गरेको छ ।
उपनिर्वाचनको संघारमा कांग्रेसले मंगलबार ‘नेपाली कांग्रेसको आह्वान’ पुस्तिका सार्वजनिक गर्दै सरकार २१ विषयमा असफल भएको बताएको हो ।
पुस्तिका सार्नजनिक गर्न पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका २१ असफलता सार्वजनिक गरेका हुन् । प्रवक्ता शर्माले तीन दर्जन बढी युवाहरूलाई एक साथ राखेर सो पुस्तक सार्वजनिक गरेका हुन् ।
सरकारका असफलतामा कांग्रेसले राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायराको विस्तार, सत्ताको सैद्धान्तिक चरित्र निक्र्योल, संघीयताको बाँकी कार्यभार पूरा गर्ने विषय असफलता देखाएको हो ।
कांग्रेसले कूटनीतिक मामिलामा अपरिपक्वता, विप्लव प्रकरण, शान्ति सुरक्षा, निर्मला प्रकरण, मूल्य वृद्धि, वाइडबडी काण्ड, मेलम्ची परियोजना, बालुवाटार जग्गा काण्डलगायतमा समेत सरकार असफल भएको भनेको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले पाँच वर्षका लागि गठन भएको सरकारको आसन्न उपनिर्वाचनमा मतदान गर्नुअघि मतदाताले २१ महिनामा सरकारका २१ असफलतालाई गहिरोसँग केलाउन जरुरी रहेको समेत औंल्याए । अभियान टाइम्सका साथमा ।