लेटाङ/ सबै जमिन बाँझै थियो । केही फल्दैनथ्यो । धेरै पटक बिक्री गर्न खोजे बिक्री भएन । यसै खेर गएको थियो । बालीनाली पनि खास राम्रो हुदैनथ्यो । लामो सयम यस्तै अवस्थामा रहेपछि यसको कसरी सदुपयोग गर्ने भन्ने बिकल्पको खोजीगर्न थाले । अन्तिममा यस्तो माटोमा कागती खेती राम्रो हुन्छ भन्ने थाहा पाए । यसपछि २०६९ सालमा पाँचसय बिरुवा कागतीका बिरुवाबाट सुरु गरेको हुँ । यही कागती खेतीले अहिले लाखौं आम्दानी दिइ रहेको छ । मोरङ जिल्लाको लेटाङ नगरपालिका ३ निवासी ५० बर्षिय बिनोद कुमार वस्तिको भोगाई हो यो ।
चुरेको भन्दा केही तल भिरालो जग्गा तीन बिगाहा क्षेत्रफलमा अहिले लटरम्मै रमित लाग्ने गरि कागती फलेका छन् । केही बर्ष अघिसम्म एक रुपयाँ पनि आम्दानी नदिएको उत्त जग्गाबाट अहिले बार्षिक ५० लाख भन्दा बढीको कागती फल्ने गरेको छ । अहिले कागती बगानमा सिजन अनुसार पाँचदेखि १० जनासम्म स्थानीयले रोजगार समेत पाएका छन् । उनले लेटाङ नगरपालिकाको वाड्न ९ जाँतेमा बहुउदेश्य कागती र्फम स्थापना गरेर ब्यवसायीक खेती गर्न थालिएको बताए । ‘यो क्षेत्रमा कागती खेती हुन्छ भन्ने भएपछि परिक्षणका लागि सुरुमा पाँच सय मात्र बिरुवा लगाए । अनुभव र सिँचाईको प्रबन्ध नहुदा आधा जति मरेर गए’ वस्ति बताउँछन् ।
बाँचेका आधालाई समेत तीन बर्षसम्म बोकेर पानी हाले । यति गर्दा फल्न सुरु गरे फलेपछि बजारमा माग राम्रो भएकाले बढाउदै लगेको उनले बताए । अहिले तीन बिगाहा जग्गामा तीन हजारबोट कागती छन् । सुरुमा पाँच लाख रुपयाँमात्र आम्दानी भयो अर्कोसाल १६ लाख भयो भने अब बार्षिक रुपमा ५० लाखसम्म आम्दानी गर्ने लक्ष रहेको उहाको अनुभव छ । सुरु बर्षमा ९ टन कागती फलेको थियो । अर्कोबर्ष ३० टन फल्यो भने अब एकसय टन फलाउने लक्ष रहेको उनको भनाई छ । एकसय टन कागतीको मुल्य ५० लाख रुपयाँ हुन्छ ।
https://www.youtube.com/watch?v=JppDndfrx2I
मद्रासी जातको कागती चाँडो बिक्री हुने र राम्रो आम्दानी हुनेभएकाले उनले यो जातको कागती ल्याएका हुन । कोदो, तोरी र मकै खेतीमात्र हुने सुख्खा जमिनमा तीन चार बर्षसम्म घैलामा पानी बोकेर कागतीको बोटमा सिचाई गरेको बताए । तेती बेला घैलामा पानी ओसार्दा पिल्सिएको काँध अहिले कागतीले दिएको आम्दानीले फेरिदै गएको वस्तीको भनाई छ । लगातारको मेहनेतबाट अहिले कागतीबाट पाएको सन्तुष्टिबाट दङ्ग छन् वस्ती परिवार । उमेरले ५० पुगेपनि बिहान उठेदेखि साँझसम्म बगानमा नै हुन्छु । फुटेका हत्केला देखाउदै भन्छन्‘ मेरो काममा धेरै सन्तुष्टी मिलेको छ । जमिनको भौगोलिकता अनुसार केको खेती गर्दा उपयुक्त हुन्छ भन्ने अध्यान हुन आवश्यक छ । यस्तो भएमा तेही अनुसारको खेती गर्न सकिन्छ र राम्रो आम्दानी हुन्छ ।’
लेटाङको कोशेली
यहा उत्पादन भएको कागतीबाट आफ्नै घरमा लेटाङको कोशेली भनेर अचार उत्पादन गर्न समेत सुरु गरेका छन् । उनले बगानभित्र नै अचार बनाउने मेशिन समेत राखेर बिक्री बितरण सु्रु गर्नु भएको छ । उनले प्याकेजिङ, डस्टिङ र अचारको बट्टा शिल गर्ने मेशिन समेत ब्यवस्थापन गरेका छन् । उनलाई कागती खेतीमा प्रत्साहन गर्ने उदेश्यले लेटाङ नगरपालिकाले समेत चारलाख रुपैयाँ बराबर अनुदानमा अचार बनाउने मेशिन उपलब्ध गराएको छ ।
बजारमा बिचौलियाकै बिगबिगी
यसरी मेहनेत गरेर उत्पादन गरेको कागतिमा समेत बिचौलाले बजार कब्जा गरेर बिक्री गर्न नदिएको उनको भनाई छ । भारतबाट सस्तो मुल्यमा पाइने भन्दै बिचौलियाले बोटबाट दुई रुपयाँमा किनेको कागती बजारमा पाँच रुपयाँ प्रतिगोटा बेच्ने गरेका छन् । किसान र उपभोक्ता बीचमा बिचौलियाले प्रतिगोटा आधाभन्दा बढी मुल्य खाने गरेको पाईन्छ । यसलाई नियन्त्रण गर्न समेत सरकार समक्ष पटक पटक पुग्दा समेत नियन्त्रण हुन नसकेको उनले बताए । उनले कागतीको बिरुवा समेत आफै उत्पादन गर्न थाल्नु भएको छ । हालसम्म ८० हजार भन्दा बढी बिरुवा बिक्री गरि सकेकोे जनाएका छन् ।