बाहुण्डाँगी । म्याग्दी जेसीजको आयोजनामा हुन लागेको १८ औं जेसीज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने अन्तर विद्यालय फुटबल प्रतियोगिताको पूर्व सन्ध्यामा जिल्लाका विभिन्न विद्यालयहरुमा रनिङ्ग ट्रफिको प्रदशर्न गरिएको छ ।
यो प्रतियोगिता जिल्लाकै प्रतिष्ठित र सबैको नजर पर्ने विद्यालय स्तरको ठूलो प्रतियोगिता हो । म्याग्दी जेसीजले १८ वर्ष देखि सञ्चालन गर्दै आएको यो प्रतियोगितामा जिल्लाका २० वटा विद्यालयले सहभागिता जनाउने शाखा अध्यक्ष खमबहादुर थापा मगरले बताउनु भयो । प्रतियोगितामा विजेता टिमले नगद ५१ हजार ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगद ३१ हजार ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् ।
यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याच बापत नगद २५ सय र ट्रफी, मेडल र प्रमाण पत्र पाउने शाखा अध्यक्ष थापाले बताउनु भयो ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उदयमान खेलाडी अवार्ड, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, उत्कृष्ट डिफेन्सको अवार्ड पाउने प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले बताउनु भयो ।
उहाँका अनुसार मुख्य प्रयोजकमा सन्तोष स्मृति कोष रहेको छ भने प्रायोजकमा रारा हार्डवयर र मिन विश्वकर्मा स्मृति कोष रहेका छन् । टाइटर स्पोन्सरमा नरेश मोवाएल रहेको छन् ।
प्रतियोगिताका लागि ७ लाख ९१ हजार बराबरको खर्च अनुमान गरिएको छ ।
यो प्रतियोगिता खेल्नका लागि यस क्षेत्रमा विभिन्न विद्यालयहरुले राम्रा खेलाडी विद्यार्थीहरुलाई शैक्षिक सत्रको सुरुवातीमै किन्ने गरेका छन् । फुटबलमा राम्रो खेल्न सक्ने विद्यार्थी वा सम्भावना भएका विद्यार्थीहरुले जिल्लाका प्रतिष्ठित बोडिङ स्कुलहरुमा निःशुल्क रुपमा पढ्न पाउने अवसर समेत पाएका छन् । जुन यो प्रतियोगिताको ठूलो देन छ । यस प्रतियोगितामा खेल्नकै लागि समेत खेलाडीहरु किन्ने गरिएको छ ।
फुटबल क्षेत्रको उर्वरभूमि मानिने विद्यालय स्तरमा हुने गरेको म्याग्दी जेसीज कप हेर्न समेत हजारौँ दर्शकको घुइचो लाग्ने गर्छ ।