धरान । पूर्व पर्यटन मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले आगामी १० वर्ष भित्र धरानमा केवलकार कुद्ने बताएका छन् ।
बुधबार ७ नम्बर वडाको चुनावी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता आचार्यले सो कुरा बताएका हुन् । ‘धरान पर्यटकीय क्षेत्रको १ नम्बर प्रदेशकै हब हो, पर्यटनको प्रवल सम्भावना रहेको छ । त्यसैले यसको प्रवद्र्धन र विकासको लागि अब नयाँ योजना सहित काम हुने छ’, उनले भने ।
सुनसरी क्षेत्र नम्बर १ को १ नम्बर प्रदेश सांसद समेत रहेका आचार्यले धरानमा सरकारको पर्यटन कार्यालय समेत स्थापना गर्ने बताए ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट वडा नम्बर ७ का लागि वडाध्यक्ष पदका उम्मेद्धवार जीवन सुवेदी, नेकपा नेता आइन्द्र विक्रम वेघा, वेणु काफ्ले लगायते कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।
यसैबीच उप निर्वाचनको माहोल तातिरहेका बेला धरानमा रहेका अव्यवस्थित, भुमिहीन र सुकुम्वासीको लागि सुरक्षिति घरवासको व्यवस्था नेकपाले गर्ने दाबी गरेको छ ।
मेयर पदका लागि नेकपाबाट उम्मेद्वारी दिएका प्रकाश राई अहिले सुकुम्बासी वस्तीसहित घरदैलो अभियानमा व्यस्त छन् ।
सुकुम्वासीहरुले वर्षौदेखिको पीडालाई उम्मेद्वारसँग राखिरहेका छन् । आफुहरुको स्थायी वसोवासको ग्यारेण्टी गर्नुपर्ने लगायतका मागहरु उठाइरहेका छन् ।
बुधबार धरान ११ स्थित सोलिङ मार्गको घरदैलो अभियानमा पुगेका नेकपा उम्मेद्वार राईसँग ६८ वर्षीय विष्णु माया लिम्बुले विजयको शुभकामना दिँदै घरवास सुरक्षित गर्नको लागि आग्रह गरिन् ।
उनले भनिन्, ‘विकास गर्नुस्, भोट सुर्यलाई दिन्छौँ । हामीले अहिले सम्म सुर्यलाई नै भोट दिँदै आएका छौँ । अब हामीलाई यो वस्तीमा घरवासको स्थायी गरिदिनु प¥यो ।’
उम्मेद्वार राईले पनि वृद्ध–वृद्धा र सुकुम्वासीको हित र अधिकारको लागि विषयमा गम्भीर भएर लाग्ने बताए । उनले भने, ‘धरानलाई सुकुम्वासी मुक्त शहर बनाउने छु । धरानलाई समृद्धिको शहर बनाउने छु ।’
नेकपा धरानका सचिव सुदर्शन श्रेष्ठले भुमिहीन र सुकुम्वासीलाई घर नम्बर दिएर लालपुर्जाको लागि प्रक्रिया अघि बढाई सकेको बताए । आगामी १० वर्षभित्र सुरक्षित आवास सहितको घरवासको ग्यारेण्टीको व्यवस्थ गर्ने उनको भनाइ छ ।