पोखरा : नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारी सम्मानित भएका छन्। डेमोक्र्याटिक लयर्स एशोसिएसन डिएलएले आफ्नो वार्षिक साधारणसभाको अवसरमा पत्रकारद्वय सिवाकोटी र भण्डारीलाई सम्मानित तथा पुरस्कृत गरेको हो।
हाम्रा कुरा डटकमका सम्पादक सिवाकोटी र राष्ट्रिय समाचार समिती 'रासस' का उप-सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिइन्।
पोखरामा शुक्रबार आयोजित डिएलएको वार्षिक साधारणसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सिवाकोटीलाई कानुन पत्रकारिता सम्मान तथा भण्डारीलाई क्रियाशिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गरेका हुन्।
साधारणसभामा देशभरबाट डिएलएका प्रतिनिधि सहभागी थिए । साधारणसभाले पोखरा धोषणा पत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिए। प्रजातन्त्रवादी कानुन व्यवसायीको संगठन डिएलएको स्थापना २०४७ सालमा वरिष्ठ कानुनविद् स्व. लक्ष्मणप्रसाद अर्यालको नेतृत्वमा भएको थियो।
 
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        