बागलुङ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र नेकपाको राष्ट्रवाद कालापानीमा बिलय भएको कटाक्ष गरेका छन्। कांग्रेसले बागलुङको निसीखोलामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्टको चर्को भाषण र बोलीको राष्ट्रवादको असली हविगत अहिले देखिएको बताए।
पोखराको चुनावी सभामा भारतले प्रधानमन्त्री केपी ओलीको सहमतिमै नयाँ नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिएका सभापति देउबा यहाँको सभामा भने केही नरम देखिए।
‘भारतले सार्वजनिक गरेको नयाँ नक्सामा देशका भू-भाग पर्दा पनि सरकारले उचित पहल गर्न सकेको छैन,’पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘यो सरकार हर हिसाबले असफल भइसक्यो।’राष्ट्र र राष्ट्रियताका सवालमा वर्तमान सरकार उदासिन देखिएको सभापति देउवाको आरोप थियो।
प्रधानमन्त्री ओलीको राष्ट्रवादको नारा लिपुलेक, लिम्पुयाधुरा र कालापानीमा गएर टुंगिएको देउवाको दाबी छ। देशको दुई तिहाइको सरकार विकास र समृद्धिका लागि नभई लुट्नमै लागि परेको उनले बताए। जनतालाई साथ भन्दा पनि बढी दुःख दिने गरेको उनले गुनासो गरे।
अब देशको विकास र हरेक समस्याको निकास दिनका लागि नेपाली कांग्रेसलाई जनताको साथ आवश्यक रहेको भन्दै जनतालाई उपचुनावमा मत दिन आव्हान गरे। ‘कांग्रेस पार्टी फोस्रा कुरा गरेर जनतालाई छल गर्दैन,’ उनले थपे, ‘केन्द्रदेखि गाउँ तहसम्म भ्रष्टचार संस्थागत हुँदै गएको छ, सरकारले केही नयाँ काम गरेन। कांग्रेसकै पालामा भए गरेका कामलाई देखाएर सस्तो प्रचारमा रमाइरहेको छ।’
ढोरपाटनमा निर्माण हुने उत्तरगंगा जलाशययुक्त आयोजना बागलुङ तर्फबाटै बहाव हुने गरी निर्माण गर्न कांग्रेस लड्ने बताए। पश्चिम बागलुङलाई छुट्टै जिल्लाको मागलाई कांग्रेसका तर्फबाट सक्दो सहयोग गर्ने उनले आश्वासनसमेत बाडे।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रलाई खतरामा पार्न खोजेको बताए । ‘सरकार राम्रा भन्दा पनि नराम्रा काम गर्नमा उद्धत छ,’ नेता पौडेलले भने, ‘यस्तै चालले अबको तीन वर्षमा देश खतरामा जाने संकेत देखिएको छ।’
कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गाउँ समाजको समृद्धिका लागि आफ्ना उम्म्दवारलाई जिताउन आग्रह गरे। चुनावी सभामा कांग्रेसका युवा नेता गगन थापा, प्रदिप पौडेललगायतले बोलेका थिए।
कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर : अन्नपूर्ण