देबु बानियाँ
बाहुण्डाँगी । म्याग्दी जेसीजले आयोजना गर्दै आएको अन्तर विद्यालय फुटबल प्रतियोगिता ‘जेसीज कप’ म्याग्दी जिल्लाकै गौरब बन्दै आएको छ ।
विगत १८ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको यो प्रतियोगिता १८ औँ संस्करणमा आइपुग्दा यसले म्याग्दी जिल्लामै फरक छाप छोड्न सफल भएको छ । फुटबल क्षेत्रको उर्वरभूमि मानिने विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गर्दै आएको प्रतियोगितामा यस क्षेत्रका विद्यालयहरुले सहभागिता जनाउँदै आएका छन् । निरन्तर हुदै आएका प्रतियोगिताले यस जिल्लाका खेलप्रेमीको मात्र होइन राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि मन जित्न सफल भएको छ । जुन प्रतियोगितालाई सबैले खुलेर आर्थिक सहयोग गर्दै आएका छन् । म्याग्दीमा जन्मिएर देशविदेशका रहेका नेपालीहरुले शुभेक्षासहित सहयोग गर्दै आएको शाखा अध्यक्ष खमबहादुर थापाले बताउनु भयो ।
३५ सय रुपैयाँ पुरस्कार राशीबाट सुरु गरिएको प्रतियोगिता आजका दिनमा आइपुग्दा विजेता टिमले ५१ ह्जार पुग्नु आफैमा सफलताको विषय रहेको देखिन्छ । यसैगरी उपविजेता टिमले नगद ३१ हजार र हरेक विधामा उत्कृष्ट खेलाडीहरुलाई नगसहितको पुरस्कार राखिएको छ । जसमा अनुशासित टिमलाई सात हजार रुपैया रहेको छ भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट कोच, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उत्कृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर÷ रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको शाखाका निवर्तमान अध्यक्ष कमल विश्वकर्माले बताउनु भयो ।
‘यो प्रतियोगिता म्याग्दी जेसीजका लागि मात्र नभइ समग्र जिल्लाका लागि नै एउटा ब्राण्ड नै बनिसकेको छ ।’ म्याग्दी जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहनु भएका धनन्जय श्रेष्ठले भन्नुभयो ‘यस खेलमा सहभागि गराउनकै लागि यहाँका निजी विद्यालयहरुले खेलमा अब्बल विद्यार्थीहरुलाई निशुल्क पढाउँदै आएका छन् । जुन म्याग्दी जेसीज र खेलप्रेमीहरुका लागि उपलब्धी मात्र नभइ पूर्ण सफलता पनि हो ।’
तथापी खेल जगतमा राष्ट्रले अरबौ रुपैयाँ खर्च गरिरहँदा म्याग्दी जिल्लाका युवाहरुभित्र रहेको खेलप्रतिको लगाव र क्षमतालाई राज्यले पहिचान र खासै प्रोत्साहन गरेको पाइदैन । आफैमा युवा र राज्यको लागि दुःखद कुरा हो ।
प्रतियोगितालाई सफल बनाउनका लागि यस शाखाका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु, शाखाका पदाधिकारीहरुको ठूलो त्याग र लगनशिलता रहेको छ ।