देबु बानियाँ
बाहुण्डाँगी । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनको पूर्व तयारीका लागि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले महाधिवेशनको स्थलगत अनुगमन गर्नु भएको छ ।
रत्ननगर जेसीजको आतिथ्यतामा हुने महाधिवेशन आउन २६ दिन बाँकी रहँदा राष्ट्रिय अध्यक्ष पौडेलले महाधिवेशनको पूर्व तयारीका लागि रत्ननगरमा पुगेर विविध विषयमा छलफल तथा महाधिवेशनको स्थलगत अवलोकन गर्नु भएको हो ।
पुष ९ गते उद्घाटन हुने महाधिवेशनको तयारीमा जुटिरहेको रत्ननगर जेसीजलाई थप उर्जा र आवश्यक सल्लाह सुझावका लागि अध्यक्ष पौडेल र नेपाल जेसीजका महासचिव सिनेटर अभिषेक श्रेष्ठले महाधिवेशन आतिथ्यता टिमसँग छलफल तथा परामर्श गर्नु भएको थियो ।
छलफल समारोहमा शाखाका शाखाका अध्यक्ष सुभाष पोखरेल, पूर्व अध्यक्ष तथा महाधिवेशनका महासचिव निरज श्रेष्ठ, महाधिवेशन निर्देशक सल्लाहकार पुरुषेत्तम रिजाल, पूर्व राष्ट्रिय उपाध्यक्ष तथा आवास संयोजक विश्वास रायामाझी, स्मारिका प्रकाशन समि, रजिष्ट्रेशन संयोजक दिपेन्द्र शर्मा, थिम सेमीनार संयोजक देवेन्द्र श्रेष्ठले विविध विषयमा राष्ट्रिय अध्यक्ष पौडेलसँग जिज्ञासा र परामार्श लिएका थिए । महाधिवेशनका स्टेरिङ समितिमा शाखाका पूर्व अध्यक्षहरु रहनु भएको छ ।
छलफलमा विभिन्न समितिका संयोजकहरुले आफ्नो विधाको काममा अहिलेसम्म भएको र अबका दिनमा गर्नु पर्ने कामका बारेमा जानकारी गराउनु भएको थियो ।
महाधिवेशनका लागि स्मारिका छाप्ने काम भइरहेको, किटव्याग निर्माणको क्रममा, स्टेजको काम थालनी गरिएको, कार्यक्रमका लागि भवनको सबै तयारी भएको, खानाका लागि जिम्मा लगाइसकिएको र होटलका लागि सौराह र रत्ननगरमा बुक गरिसकिएको जानकारी गराउनु भएको थियो । साथै आर्थिक संकलनका लागि विभिन्न दाता तथा संघसंस्थामा जानकारीसहितका पत्र गइसकेकाले संकलन गर्न सुरु गरिने बताइएको छ ।
अनुगमनपछि राष्ट्रिय अध्यक्ष पौडेलले महाधिवेशनका लागि रत्ननगरले आफ्नो तयारीलाई तिब्र गतिमा अघि बढाएको बताउनु भयो । यहि गतिमा काम गरेर पुस ५ गतेसम्ममा अधिकांश काम सम्पन्न गर्ने बताउनु भयो ।
महाधिवेशनका लागि आतिथ्यता शाखाले कार्यक्रमको मोडल तयार पारेर नेपाल जेसीजलाई बुझाउछ भने नेपाल जेसीजले त्यसकै आधारमा थपगढ गर्ने गरेको छ । महाधिवेशनमा करिब ३ हजार जेसीजकर्मीहरुको सहभागिता रहनेछ ।
त्यसका लागि खाना र बस्नको आवश्यक प्रबन्ध भइरहेको महाधिवेशन महासचिव निरज श्रेष्ठले बताउनु भयो ।
यो महाधिवेशनले नेपाल जेसीजलाईए २०२० का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । जेसीजमा एक पद एक कार्यकाल र एक वर्ष रहने प्रावधान छ ।
जसका लागि अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । नेपाल जेसीजमा एक महिना अघि दर्ता भएको उम्मेदवारीमा अशोक शंकर, अरुणेश्वर खनाल, विकास मानन्धर र विनोद सुवेदी रहनु भएको छ । ४ कार्यकारीणी उपाध्यक्षका लागि १२ जना र १२ उपाध्यक्षका लागि २३ जनाको उम्मेदवारी परेको नेपाल जेसीज सचिवालयका कर्मचारी प्रभाव श्रेष्ठले बताउनु भयो ।