२०७६ मंसिर १४ शनिवार
धरान ! धरानमा ११ स्वतन्त्र सहित २३ जना मेयरका प्रत्यासी छन् । यस्तै, वडा नं ७ मा ४ जना अध्यक्षका प्रत्यासी छन् । धरानको वडा नं १८, कार्मेल हाइस्कुल स्थित मतदान केन्द्रमा पुगेर आज बिहानै नेकपाका उम्मेदवार प्रकाश राईले मतदान गरेका थिए ।
कार्मेलमा नै केन्द्र पर्ने नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले भने दिउँसो मात्र मतदान गर्ने भएका छन् । सोही मतदान केन्द्रमा अर्का स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पनि मतदान गरेका छन । यस्तै प्रदेश १ का सभामुख प्रदिप भण्डारीले पनि बिहानै धरान १३ स्थित लोटस स्कुलमा रहेको मतदान केन्द्रमा मत हालेका छन । यता प्रतिनिधी सभा सदस्य जयकुमार राईले पनि विहानीको समयमा नै वडा नं. १५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विधालयमा गएर मतदान गरेका छन ।
धरानको मेयर पद र वडा नं ७ को वडाअध्यक्ष पदको लागि आज शनिबार विहान ७ बजेदेखि धरानको विभिन्न मतदात केन्द्रहरुमा मतदान शुरु भएको छ । मतदानका लागी धरानका मतदाताहरु बिहानै मतदान केन्द्रमा पुगेका छन । मतदान साँझ ५ बजेसम्म रहनेछ ।
धरानमा २८ मतदान स्थलमा ९९ मतदान केन्द्र रहेको छ । निर्वाचन कार्यालयका अनुसार धरानमा यस उपनिर्वाचनका लागी कुल ९२ हजार ८ सय ५३ मतदाता छन् जुन अघिल्लो स्थानीय तह निर्वाचन २०७४ को भन्दा १३ हजार ५ सय ७१ बढी हो । धरानका मेयर तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको एक वर्ष कार्यकाल नबित्दै निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो ।
मतदानको सुरक्षाको लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाए । उनले ७ सय ५० भन्दा बढी जनपद, ५ सय बढी सशस्त्र प्रहरी परिचालन भएको तथा नेपाली सेनाको गस्ती टोली पनि परिचालन गरिएको बताए । मतदानको लागि अशक्त, वृद्धवृद्धाहरुलाई विशेष प्राथमिकता दिइएको मुख्य निर्वाचन अधिकृतले जनाएको छ ।