धरान । उपमहानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनका कुल ५९ प्रतिशत मात्र मत खसेको छ । शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचनमा गएको स्थानीय तहको भन्दा कम मत खसेको हो ।
२०७४ साल असार १४ गतेको निर्वाचनमा ६७ दशलमव ८६ प्रतिशत मत खसेको थियो । गएको निर्वाचनमा कुल ७९ हजार २ सय ९० मतदाता रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो । यसपटक १३ हजार बढी मतदाता थपिएका थिए । यस पटक ९२ हजार ८ सय ५३ मतदाता रहेको मध्ये धरानमा ५५ हजार १ सय ६३ मत अर्थात् ५९ प्रतिशत मात्र मत खसेको निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले टाकुरालाई जानकारी दिए ।
धरानका तत्कालिन मेयर तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको एक बर्ष कार्यकाल नबित्दै निधन भएपछि अहिले उपनिर्वाचन भएको हो । धरानमा २८ मतदान केन्द्र र ९९ मतदानस्थलमा चुनाव भएको थियो । धरानमा शनिबार भएको निर्वाचनमा कुनै अप्रिय घटना भने हुन पाएन । धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का अध्यक्ष पदका लागि निर्वाचन भएको थियो । मेयर पदका लागि दलका १३ जना र स्वतन्त्र गरी धरानमा २३ जनाको उमेद्धारी परेको थियो ।
दलको सहमति अनुसार आजै राती १० बजेबाट धरानमा मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ ।