• प्रदेशसभा अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल विजयी भएका छन् । उनले १३ हजार ४ सय ४९ मत प्राप्त गरे ।

    उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार देवी ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरे । यस्तै नेमकिपाका निरज लबजुले ५ हजार ८ सय २९ मत प्राप्त गरे ।

     

    नेकपाको किल्ला रहेको भक्तपुर क्षेत्र नम्बर १ को (ख) कसरी कांग्रेसको हातमा गयो त ? यसको जवाफ खोज्न २०७४ सालको निर्वाचनमा फर्किनुपर्ने हुन्छ ।

     

    ०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका डीपी ढकाललाई वाम गठबन्धनका आधिकारिक उम्मेदवार बनाइयो ।

    त्यतिबेला तत्कालीन एमालेतर्फका हरिशरण लामिछाने बागी उठे र चुनाव पनि जिते ।

    बागी उम्मेदवार लामिछानेले १२ हजार ७ सय ८९ मत पाएर विजयी हुँदा वाम गठबन्धनका आधिकारिक उम्मेदवार डीपी ढकालले जम्मा ७ सय ८६ मत ल्याएका थिए ।

    यसबाट उक्त क्षेत्रमा तत्कालीन एमालेका मतदाताको पकड कतिसम्म रहेको छ भन्ने पुष्टि हुन्छ ।

    गत वैशाख ३१ गते हृदयघातबाट लामिछानेको निधन भएको थियो ।

    उपनिर्वाचनमा उम्मेदवारी तय गर्न बसेको नेकपाको सचिवालय बैठकले उक्त क्षेत्रमा पहिलेकै आधिकारिक उम्मेदवार ढकाललाई बनाउने आत्मघाती निर्णय गर्‍यो, जबकि उक्त क्षेत्रका मतदाताले ढकाललाई यसअघिको निर्वाचनमा जम्मा ७ सय मत दिएका थिए भने बागी उम्मेदवार लामिछानेलाई १२ हजार बढी मत दिएका थिए ।

    वाम गठबन्धन होस् या पार्टी एकीकरण होस्, त्यहाँका तत्कालीन एमालेका मतदाताहरूले कुनै वास्ता गरेनन् ।

    पहिला अस्वीकार भएका उम्मेदवारलाई नै दोस्रोपटक चान्स दिएपछि यस्तै हुने नेकपाका एक केन्द्रीय कमिटी सदस्यले बताए ।

    सचिवालय बैठकले डीपी ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेपछि भक्तपुरमा नेकपाभित्रको विवाद उत्कर्षमा पुग्यो ।

    पूर्वएमाले पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी नै गरिदियो । यो मुख्यतः व्यक्तिप्रतिको रुझान थियो ।

    पार्टी सचिवालय बैठकको निर्णय नमानेर पूर्वएमाले मतदातालाई भड्काउन केही तत्वहरू सक्रिय रहेका देखिन्थे ।

    अन्ततः स्थिति झडपकै सन्निकट पुग्यो । यसले नेकपाको चुनावी अभियानलाई नै प्रभाव पार्‍यो ।

    पार्टीका शीर्ष नेताहरू पुगेर जतिसुकै एकताका पक्षमा भावनात्मक भाषण गरेर फर्केको भएपनि त्यहाँका पूर्व एमालेका मतदाताहरूलाई रिझाउन सकेनन् ।

    अन्तर्घातको सिलसिला यतिमै सकिएन ।

    डीपी ढकालका चुनावी अभियानका एक सहयोगीले भने, 'ठाउँ-ठाउँमा पैसा बाँडियो, माओवादीलाई भोट नहाल्ने भनेर ठूलो अभियान चलाइएको थियो । पार्टीभित्रैबाट यत्रो ठूलो अन्तर्घात होला भनेर हामीले सोचेका थिएनौं ।'

    आफूसँग अन्तर्घातको प्रमाण रहेको जिकिर गर्दै उनले त्यो आवश्यक ठाउँमा देखाउने बताए ।

    भक्तपुरमा अन्तर्घात हुने आशंका नेकपाका कतिपय नेताहरूले पहिल्यैदेखि गरेका थिए ।

    अहिले कांग्रेसले जितेपछि अन्तर्घातको परिणामलाई लिएर टाउको ठोक्नुको विकल्प नेकपासँग रहेन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…