काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर १४ मा सकिएको उपनिर्वाचनमा कहीँ कतैबाट घात-अन्तरघात नभएको निचोड निकालेको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निचोड निकालेको हो।
बैठकले उपनिर्वाचनको समीक्षात्मक प्रतिवेदन तीन दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
बैठकले सोचेजस्तो मतपरिणमा ल्याउन नसकेको निष्कर्ष निकाल्दै तीन दिनभित्र तल्लो तहसम्मको प्रतिवेदन ल्याउन निर्देशन दिएको हो। नेकपाले आफ्नो गढ मानिएको भक्तपुरको प्रदेशसभा, सुनसरीको धरान उपमहानगरपालिका र अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरका तीनवटै वडामा पराजय हुनुको कारणसहित रिपोर्ट दिन निर्देशन दिएको हो।
'अहिलेसम्म औचपारिकरुपमा कहीँबाट पनि घात अन्तरघातको जानकारी प्राप्त भएको छैन', प्रवक्ता श्रेष्ठले भने, 'तर औपचारिक समीक्षा आगामी बैठकबाट निर्वाचनमा भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि गर्ने छौँ।'
२०७४ मा भएको निर्वाचनपछि विभिन्न कारणले रिक्त ३७ जिल्लाको ५२ पदमा भएको उपनिर्वाचनमा नेकपाले ३० पद मात्रै जितेको थियो। दुईतिहाइको बहुमतसहित सरकार चलाइरहेको नेकपाले सोचे जस्तो नतिजा ल्याउन नसकेपछि यसैबारे बैठकमा छलफल भएको हो।
उनका अनुसार उक्त बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा, पार्टी सङ्गठनात्मक एकीकरणको बाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउनेबारे निर्णय लिने छ। नेकपाले सचिवालयको अर्को बैठक आगामी मङ्सिर २३ गते बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा राखेको छ ।