• काठमाडौं, मङ्सिर १९ गते । गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक जित्नुभएको छ । उहाँले २०० मिटरको फ्रि स्टाइल स्पर्धामा भारतकी शिवांगी शर्मालाई हराउँदै स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।
    सातदोबाटोस्थित कम्प्लेक्समा सम्पन्न पौडीको स्पर्धामा उहाँले निर्धारित दूरी दुई मिनेट पाँच दशमलब शुन्य छ सेकेण्डमा पुरा गर्नुभयो ।

     

    भारतकी शिवांगीले उक्त दूरी पार गर्न दुई मिनेट सात दशमलब १९ सेकेण्ड लाग्यो। दक्षिण एसियाली खेलकुदको पछिल्लो संस्करणमा उहाँले एक रजतसँगै तीन कास्य पदक जित्नुभएको थियो ।
    ब्राजिलको रियो दे जेनारियोमा सम्पन्न २०१६ को ग्रीष्मकालीन ओलम्पिकमा विश्वकै सबैभन्दा कान्छो ओलम्पियानको रुपमा सहभागी हुनुभएको थियो । पौडीको महिला १०० मिटर विधामा सहभागी हुँदा उहाँको उमेर मात्र १४ वर्ष थियो । गौरिकाले तेह्रौं संस्करणको विभिन्न ९ विधामा सहभागी हुने तय गरिएको छ ।

     

    गौरिका हाल २०२० को टोक्यो ओलम्पिकका लागि छात्रवृत्ति पाएर बेलायतको लण्डनमा प्रशिक्षणरत रहँदै तेह्रौं सागमा सहभागी हुनुभएको छ । गौरिकाको स्वर्णसँगै नेपालले ३३ औं स्वर्ण पदक जितेको छ ।
    यसअघि बुद्धिबहादुर तामाङले नेपालको लागि ऐतिहासिक ३२ औं स्वर्ण पदक दिलाउनुभयो । उहाँले साइक्लिङ्गको क्रस कन्ट्री पुरुष विधातर्फ स्वर्ण हात पार्नुभयो । त्यसैगरी, लक्ष्मी मगरले साइक्लिङ्गको क्रस कन्ट्री विधामा स्वर्ण पदक जित्नुभयो । उक्त स्पर्धामै उषा खनालले रजत पदक प्राप्त गर्नुभयो ।

    गोकर्णमा साइक्लिङ्ग क्रस कन्ट्री विधामा चार किलोमिटर दूरी लक्ष्मीले १ मिनेट२०.२० सेकेण्डमा पुरा गर्नुभयो । उषाले उक्त दूरी १ मिनेट ३५.५२ सेकेण्डमा पुरा गर्नुभयो । सोही स्पर्धामा भारतकी प्रनिता प्रफुल सोमनले दूरी पार गर्न एक मिनेट ३६.२९ सेकेण्ड लगाएर कास्य पदक प्राप्त गर्नुभयो ।
    साइक्लिङ्गमै नेपालले बुधबार दुई स्वर्ण जितेको थियो । बुधबार साइक्लिङ्गको डाउनहिल स्पर्धामा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण पदक दिलाउनुभएको थियो । बुद्धिबहादुर र लक्ष्मीको स्वर्णसँगै नेपालले साइक्लिङ्गमा चार स्वर्ण जोडेको छ ।

    निमा घर्तीमगरले १३ औं दक्षिण एसियाली खेलकुद सागको ऊसु विधा अन्तगर्तको थाउलो नान्दौमा स्वर्ण पदक जित्नुभएको छ । उहाँले बङ्गलादेशकी मोर्जिना अख्तरलाई पराजित गर्नुभयो ।
    लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा निमाले १८.१९ स्कोर ल्याउन स्वर्ण पदक जित्नुभयो । बङ्गलादेशकी अख्तरले १६.३ अङ्क ल्याउनुभयो । श्रीलङ्काकी सञ्जु कुमारीले १४.७९ अङ्क जोडेर उक्त विधामा कास्य पदक जित्नुभयो ।

    निमाले यसअघि १२ औं दक्षिण एसियाली खेलकुदमा समेत स्वर्ण पदक जित्नुभएको थियो । उहाँले उसुमा लगातार दुईपटक स्वर्ण पदक जित्ने कीर्तिमान समेत बनाउनुभयो ।
    नेपालले साग उद्घाटनको दोस्रो दिन सबैभन्दा बढी १५ स्वर्ण जितेको थियो । मङ्गलबार ८ स्वर्ण जितेको नेपालले बुधबार ऊसु, कराँते र डुवायथोलन तथा तेक्वान्दोमा एक एक र साइक्लिङ्गमा दुई स्वर्ण थप्दै २९ स्वर्ण पुर्याएको थियो ।
    पदक तालिकामा नेपाल दोस्रो स्थानमा यथावत छ । भारतले ४० स्वर्णसहित पदक तालिकामा शिर्ष स्थानमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…