काठमाडौं, २० मंसिर । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको छ ।
बेरी र प्रचण्डबीचको यो भेट प्रचण्डले चीन भ्रमणकोे सबै तयारी पूरा भइसकेपछि अचानक आफ्नो चीन भ्रमा रद्द गरेको घोषणालत्तै भएको थियो । प्रचण्ड र बेरीबीच गत मंगलबार बिहान प्रचण्डनिवासमै भेटघाट भएको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनासाथ चीनले प्रचण्डलाई पार्टी अध्यक्षका हैसियतबाट चीन भ्रमणको निम्तो दिएको थियो ।
यही निम्तो मान्ने सन्दर्भमा प्रचण्डले आफ्नो भ्रमण टोलीमा संलग्न हुने दलका ६० जना नेताको सूचीसमेत चिनियाँ पक्षलाई बुझाइसक्नु भएको थियो । तर, अचानक प्रचण्डले आफ्नो चीन भ्रमण रद्द गर्नु भएको थियो ।
प्रचण्ड चीन भ्रमणको तयारीमै रहनु भएका बेला अमेरिकी दूतावासका केही अधिकारीले प्रचण्डलाई भेटेको र त्यो भेटलगत्तै प्रचण्डले आफ्नो चीन भ्रमण रद्द गर्नु भएको समाचार स्रोतले बताएको छ ।
प्रचण्डले भ्रमण रद्द गरेको समाचार बाहिरिएसँगै बेरीले प्रचण्डाई भेट्नु भएको थियो । बेरीलाई भेट्नुअगावै प्रचण्डले नेकपा वरिष्ठ नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेटेर राजदूतले भेटका क्रममा उठाउन सक्ने सम्भावित विषयमाथि छलफलसमेत गर्नु भएको स्रोतको दाबी छ ।
प्रचण्डको सचिवालय स्रोतका अनुसार बेरीसँग भेट्नुअघि प्रचण्डले नेकपाका नेताद्वय माधव र नारायणकाजीसँग भेट्नु भएको थियो । माधव र श्रेष्ठ बिहानै प्रचण्डनिवास पुग्नु भएको थियो ।
बेरी आइपुग्नु भन्दा केही बेरअघि दुवै नेता प्रचण्ड निवासबाट बाहिरिनु भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि नेपाल आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीलाई प्रचण्डले भन्नु भएको थियो–अमेरिकाको तथाकथित इण्डो प्यासिफिक रणनीतिमा नेपाल सामेल हुँदैन ।
उहाँको सो भनाई चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरिदिएपछि अमेरिकासँग चिसिएको आफ्नो सम्बन्ध सुधार्नका लागि प्रचण्ड प्रयत्नरत हुनुहुन्थ्यो ।
यसैका लागि उहाँले निरन्तर प्रयाससमेत गरिरहेका सन्दर्भमा विकसित पछिल्लो घटनाक्रम र प्रचण्डको चीन नजाने रणनीति सार्वजनिक भएको राजनैतिक वृत्तले टिप्पणी गर्न थालेको छ ।
स्रोतले बताएको छ– प्रचण्डले चीन भ्रमण रद्द नै गर्नुभएको होइन । उहाँ आफूअनुकूल वातावरण निर्माण गर्ने प्रासमा हुनुहुन्छ, विमर्शमा उल्लेख छ ।
त्यसैले चीन भ्रमणभन्दा पहिले अमेरिकी राजदूतसँग परामर्श गरेझैं देखाएर अमेरिकी विश्वास पनि जित्ने अनि भारतप्रति पनि आफूनिकट रहेको सन्देश दिने रणनीति अनुसार नै पछिल्लो पटक प्रचण्ड चल्नु भएको छ ।