• कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साहसमेत जेल चलान भएका छन् ।

    सो घटनामा २३ जना पक्राउ परेकामा १० जना जेल चलान भएका हुन् । जेल चलान हुने अन्यमा लवाङ लामा, श्रवणकुमार श्रेष्ठ, चन्द्रबहादुर बुढा, विजयकुमार साह, गणेशकुमार बस्याल, यज्ञराज भट्ट र मालती न्यौपाने छन् । चारजनालाई धरौटीमा छाड्ने आदेश भएको छ । जसमा सुनीता लामालाई १०, रामकृष्ण भुसाललाई २५, मालती न्यौपानेलाई १०, लक्ष्मी तामाङलाई १० लाख, निमा तामाङलाई १० हजार, अशिम श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । बैतडीका जनकबहादुर कुँवर पनि अनुसन्धानमा पक्राउ परेकोमा उनको प्रत्यक्ष संलग्नता नदेखिएपछि अभद्र व्यवहार मुद्दा चलाइएको थियो । पैसा राख्ने पुष्पराज खड्का र विद्यासागर लामिछाने भने साधारण तारेखमा छुटेका छन् ।

     

    महानगरीय अपराध महाशाखाले गत ७ असोजमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बैंकका कर्मचारीकै मिलेमतो देखिएपछि उनीहरूलाई समेत पक्राउ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताए ।

     

    यस्तो थियो पाँच अर्ब लुट्ने योजना
    ५ असोजमा बानेश्वरस्थित पानस रेमिटबाट एउटै कोडबाट धेरैले शंकास्पद कारोबार गरेको सूचना प्रहरीले पायोे । सोही आधारमा अनुसन्धान गर्न प्रहरीले पैसा निकाल्ने सञ्जय घले, लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङलाई पक्राउ गर्‍यो । उनीहरूले लवाङ तामाङको निर्देशनअनुसार आफूहरूले पैसा निकालेको बताए ।

    प्रहरीले त्यसपछि लवाङलाई पक्राउ गर्‍यो । उनीसँग ३१ लाख रुपैयाँ भेटियो । त्यो पैसाको स्रोत खोज्ने क्रममा कृषि विकास बैंकमा ह्याकिङ भएको खुलेको हो । उनले सुरुमा कृषि विकास बैंकबाट सो रकम निकालेको बताएका थिए, तर स्रोत खुलाउन नसकेपछि अवैध रूपमा निकालेको खुल्यो । त्यसपछि आफूहरूले कृषि विकास बैंकलाई जानकारी गराएको अपराध महाशाखाका एसएसपी थापा बताउँछन् । अनुसन्धानका क्रममा गिरोहका नाइके अफ्रिकन मूलका भारतीय नागरिक पिटर भएको खुलेको छ । उनी केही महिनाअघि नेपाल आएको र लवाङसँग चिनजान भएको थियो । उनकै निर्देशकअनुसार लवाङले विभिन्न व्यक्तिलाई पैसा निकाल्न परिचालन गरेका थिए ।

    बैंकका कर्मचारीलाई पनि उनले नै सेटिङ मिलाएको प्रहरीले जनाएको छ । पैसा ट्रान्सफरसम्बन्धी गोप्य कोड पाएर उनले रातारात पैसा ट्रान्सफर गरेका थिए । यसरी पाँच अर्ब रुपैयाँ निकाल्ने उनको योजना थियो । यसरी निकालिएको मध्ये केही रकम नेपालीहरूलाई नै दिने उनको प्रस्ताव थियो । सो रकममध्ये १० लाख उनले भारतीय व्यापारी सुबन्कर पन्जामार्फत हुन्डी गरेर लिएका थिए ।

    चार किलो सुन गायब
    तस्करीको चार किलो सुन गायब बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकका विष्णु खड्कालाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । स्रोतका अनुसार उनी सुुन तस्करीका भरिया हुन् । उनले आफूले चार केजी सुन ल्याएको तर अपरिचित व्यक्तिले लुटेको बताएका छन् ।

    स्रोतका अनुसार सुन तस्करीमा संलग्न व्यक्तिहरूकै सूचनाका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको हो । तर, सुन तस्करीमा लगाउने समूहमाथि भने प्रहरीले अनुसन्धानमा चासो दिएको छैन । तस्करी गर्नेसँग मिलेर भरियालाई थुनेको आरोप प्रहरीमाथि लागेको छ । नयाँ पत्रिकामा खबर छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…