• बिर्तामोड । सत्तारुढ दलका स्थानीय एक नेताले करोडौंको सार्वजनिक जग्गा नियमविपरित व्यक्तिका नाममा सारेको पाईएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले ती नेताको पिछा गरिरहेको बुझिएको छ ।

    झापाको दमक नगरपालिका वडा नम्बर–८ को बालुवाटार भनेर चर्चित करोडौं मूल्यको सरकारी जमिन सत्तारूढ नेकपा स्थानीय नेताले गगन पुरीले अपचलन गरेको प्रहरीले बताएको छ । यसरी सार्वजनिक जग्गा अवैध बाटोबाट अपचलन गर्न प्रयाश गरेको सूचना पाएपछि प्रहरी पुरीको घरसम्म उनलाई पक्राउ गर्न पुगेको तर उनी सीमापारी भारत तर्फ गएकोले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ । झापा प्रहरीका अनुसार, पुरीलाई गिरफ्तार गर्न झापा जिल्ला अदालतले समेत अनुमति दिईसकेको छ ।

    अनुसन्धानमा संलग्न एक सूत्रका अनुसार, पूर्व माओवादी नेता पुरीले दमकको त्यो मूल्यवान जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र यसमा चन्द्रगढीका मालपोत र नापी कार्यालयका केही कर्मचारीको समेत मिलेमतो रहेको प्रमाण भेटिएको छ ।

    पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरी शनिश्चरे नगरपालिकाको एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउने प्रयास खोजेको जिल्ला प्रहरी कार्यालय (झापा) का प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् । जमिन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेको प्रहरीले थाहा पाएको छ ।

    साविकको कित्ता नम्बर ३० को जमिन ३ कित्तामा फेरिएको छ । अहिलेको कित्ता नम्बर ७४ को जमिन पौडेलको नाममा देखिएको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    पौडेललाई प्रहरीले मंसिर १६ गते नै पक्राउ गरिसकेको छ । २ कठ्ठा जग्गा दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउने गरी काम अघि बढाएको अनुसन्धानमा देखिएको बुझिएको छ ।

    एमाले र माओवादी एकिकरण हुनुअघिसम्म प्रचण्डका विश्वासिला सहयोगी रहेका गगन पुरी नेकपाको गठनपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट पुगेका छन् । उनी ओली निकट पुगेपछि दमक क्षेत्रका पूर्व एमाले नेता कार्यकर्ता असन्तुष्ट बनेको एक ओली समर्थक बताउँछन् ।

    गगन पुरीले चर्चित व्यापारी अजेयराज सुमार्गीसँग साझेदारीमा दमक क्षेत्रमै ठूलै लगानीमा डिज्नेल्याण्ड निर्माण गर्ने तयारी गरिरहेको काठमाडौंस्थित एक जानकार सूत्रले बताएको छ । बिगत स्थानीय निर्वाचनमा दमकको मेयरमा उम्मेदवार बनेका पुरी स्थानीय युवावीच लोकप्रिय नै मानिन्छन् ।

    पुरीको चेतावनी

    गगन पुरीले आफ्ना बारेमा समाचार प्रकाशमा आएपछि दुइदिन अघि फेसबूकमा यस्तो प्रतिक्रिया लेखेका छन्–‘गुन्द्रुक खबर डट कम का सम्पादक नमस्कार, प्रहरिको टोलिले मेरो घरमा कहिले छापा मार्यो अरे ? अनि के के बरामत गर्यो अरे ? म र मेरो घर अनि छर छिमेकिलाइ था नहुने। जे पायो तेहि लेख्ने ? पत्रकारिता गर्ने भए आचार सहिताम रहनुहोस । इमान्दरिताका साथ काम गर्नुहोस । मेहनेत गर्नुहोस। खान पुगेन भने मेरो जुत्तामा पोलिस लगाउनुहोस पेट भरिदिने काम म गरिदिन्छु। हेर म नेपाल आएर तिमिलाइ कसरी कानुनको कठ्घरामा उभ्याउछु थाहा पाउछौ। काग कराउदै गर्छ पिना सुक्दै गर्छ।'

    पुरीलाई शुभचिन्तकको सुझाव

    पुरीका फेसबूक मित्र रुद्र पौडेलले सुझाएका छन्– ‘हजुरको गलती छैन भने ढिलो नगर्नुहोस् छिट्टो सम्पर्कमा आएर आफुलाइ निर्दोष साबित गर्नु होस, सम्पर्कमा आउन किन ढिलाई गर्नु भएको नि। असल ब्यक्ति ले सिधा सम्पर्कमा आएर नडराइ आफ्नु आरोपको छान बिन गर्न लगाउछ ।'

    टेकबहादुर थापा बूढाप्रियाले पुरीका बारेमा यस्तो प्रतिक्रिया लेखेका छन्– ‘गगन पुरीजी नेकपा (मसाल) मा हुदाँ सर्बहारा वर्गको क्रान्तिकारी जनवादी राज्य सत्ताको कुरा गर्नु हुन्थियो, जमिन कस्तो ? जोत्नेको, उहाँहरुको नारा थियो, पछि दिनानाथ शर्मासंगै नेकपा (मसाल) छाडेर तत्कालिन नेकपा (माओवादी) मा आएर बिलिन हुनुभयो, माओवादीमा हुदाँ पनि मओसेतुंगले आफ्ना कार्यकर्ताहरुको लागि जारी गर्नु भएको तीन नियम तथा आठ आचार संहिताका बारेमा निकै राम्रो ब्याख्या गर्नु हुन्थियो, अहिले नेकपासम्म आइपुग्दा त उहाँ सरकारी जग्गा व्यक्तिको नाउमा पास गराउने भूमाफियाको धन्दा पो थाल्नु भएछ, हुनत अहिले पनि उहाँ कम्युनिष्ट पार्टीमै हुनहुन्छ तर व्यवहार किन यस्तो ? नेकपाका उपल्लो तहका नेता देखि स्थानीय तहका नेताहरुको व्यवहार हेर्दा कमरेड माओको एउटा भनाइ सम्झनु सान्दर्भिक हुन्छ,'विचार ठिक भए मात्र सबै कुरा ठिक हुन्छ,अहिले नेकपा भन्ने पार्टी संसदीय व्यवस्था स्वीकार गर्ने पार्टीमा रुपान्तरित भएकोछ, संसदीय व्यवस्था (Westminster system) पुँजीवादीहरुको नासो हो, संसदीय व्यवस्था अंगिकार गरिसकेपछि माओका तीन तथा आठ नियम अब कम्युनिष्ट पार्टीका सदस्यहरुले पालना गर्न आवश्यक पर्दैन किनभने गरिब देशमा संसदीय व्यवस्थाको अभ्यास भनेको-'जिस्का लाठी उसका भैस न हो !’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…