• दुई महिनाभन्दा बढी भयो संघीय संसदमा सभामुख पद रिक्त रहेको। तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएयता सभामुख चयनका लागि औपचारिक प्रयास भएको छैन।

    बजेट अधिवेशन सकिएर हिउँदे अधिवशेन सुरू भएको छैन। सम्भवत: पुसमा बोलाइने हिउँदे अधिवेशनमा नै सभामुखको चयन हुनेछ।

    सभामुख पदका लागि एक प्रमुख दाबेदार उपसभामुख शिवमाया तुम्बाहाङफे हुन्।

    ‘मसँग चार दशकभन्दा लामो अवधि राजनीति गरेको अनुभव छ। राजनीति क्षेत्रमा के हुन्छ कसरी अघि बढ्ने भन्ने मलाई राम्रोसँग थाहा छ,’ सेतोपाटीसँग कुरा गर्दै तुम्बाहाङफेले भनिन्, ‘संसदीय अभ्यासमा उपसभामुख नै पछि सभामुख भएर कार्यसञ्चालन गरेको हामीले देखेका छौं। त्यो नजिर छ हामीसँग, त्यही कुरालाई निरन्तरता दिएर जान सकिन्छ भन्ने नै हो, मेरो पनि।’

    यसअघि सभामुख ओनसरी घर्ती एक कार्यकाल उपसभामुख भएकी थिइन्। दोस्रो संविधानसभामा उपसभामुख भएकी ओनसरी २०७२ सालमा संविधान जारी भएपछि सभामुख बनेकी थिइन्।

    योभन्दा अगाडि उपसभामुख नै सभामुख भइसकेकाले मेरो हकमा किन लागु नहुने भन्ने प्रश्न आफ्नो रहेको उनले बताइन्।

    सभामुख भएर जिम्मेवारी पूरा गर्न सक्छुजस्तो लाग्छ भन्ने प्रश्नमा उनले भनिन्-म आफू क्षमतावान् छु वा छैन भन्ने भन्दा पनि मेराबारे जति पनि सुनेको छु, त्यो सुन्दा मलाई कसैले पनि अहिलेको उपसभामुख क्षमतावान् छैन भनेको थाहा छैन।

    अरूले गरेको मूल्यांकनले पनि आफू सभामुखका लागि सक्षम रहेको स्पष्ट हुने उनको तर्क छ।

    जसले जसरी मूल्यांकन गरे पनि अन्त्यमा निर्णय गर्ने सत्तासीन राजनीतिक दलले नै हो भन्ने उनले बुझेकी छन्।

    त्यसैले त उनी दलले कसरी कुरा अघि बढाउँछ भन्ने प्रतीक्षामा छन्। सभामुख चयनको प्रक्रियामा दलले आफूसँग पनि पक्कै कुरा गर्छ भन्ने आशामा उनी छन्।

    ‘उपसभामुख पद यसै बनाइएको मात्रै होइन। संविधानअनुसार यो ठाउँमा राखिएको हो,’ उनले भनिन्, ‘म अहिले कुनै पनि दलमा आवद्ध छैन। साधारण सदस्यबाट राजीनामा दिएको अवस्था छ। तर अन्तिम फैसला गर्ने बेलामा दलले उपसभामुखलाई पनि बोलाएर छलफलमा सहभागी गराउँछ भन्ने प्रतीक्षामा छु।’

    पार्टीले के निर्णय गर्ला भन्नेमात्रैले पनि उनी चुप लाग्ने पक्षमा छैनन्, पार्टीभित्र आफ्नो मूल्यांकन हुनुपर्छ भन्ने उनको तर्क छ।

    ‘पार्टीले जे निर्णय गर्छ त्यो ग्रहण गर्छु भन्ने मात्रै हुँदैन। संसदमा आएर मैले गरेको कामको पनि मूल्यांकन हुन्छ होला,’ उनले भनिन्, ‘सभामुखले गरेको गल्तीमा उपसभामुख पनि सँगै सती जानुपर्छ भनेर कुनै ऐन कानुन र संविधानमा लेखेकै छैन।’

    संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा तत्कालीन सभामुख महरा पुर्पक्षका लागि जेल चलान भएका छन्। सभामुख र उपसभामुख चयन हुँदा महरा तत्कालीन नेकपा माओवादी केन्द्रको कोटामा परेका हुन् भने शिवमाया तत्कालीन नेकपा एमालेको कोटाबाट उपसभामुख भएकी हुन्।

    दुई पार्टी एकता भइसकेपछि नेकपा बन्यो। सभामुख र उपसभामुख यथावत् रहिरहे। अब भने सभामुख नेकपाले लिने हो भने उपसभामुखले राजीनामा दिनैपर्छ। किनकी संविधानअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्दैन।

    शिवमायालाई उपसभामुखमै यथावत् राखेर अन्य दललाई सभामुख दिने भन्ने कुरै भएन। यस्तो अवस्थामा आफूलाई उपसभामुखबाट राजीनामा गराएर सभामुख नबनाउने हो भने अन्याय हुने उनको तर्क छ।

    यसअघि मंसिर पहिलो साता मन्त्रिपरिषदको पुनर्गठनका बेला उनी मन्त्री बन्ने चर्चासमेत चलेको थियो। नेकपाकै अर्का कुनै नतालाई सभामुख बनाउन तुम्बाहाङफेलाई मन्त्री बनाउन लागिएको चर्चा थियो।

    ‘मैले पनि समाचार पढेर थाहा पाएको हो। चर्चा चल्नु स्वभाविक नै हो,’ उनले भनिन्, ‘एउटा माननीय, मन्त्रीका लागि चर्चामा रहनु स्वभाविक हो। तर संविधानअनुसार सभामुखको निर्वाचन प्रक्रिया नचल्दासम्म यो पदलाई रिक्त बनाउन नहुनेमा म सचेत छु।’

    प्रतिनिधि सभा एउटा संस्था भएको र यसलाई खाली राख्न नहुने भएकाले आफूले काम गरिरहेको उनले बताइन्।

    सभामुख नभए पनि प्रतिनिधिसभाको दैनिक काममा कुनै असर नपरेको उनको तर्क छ।

    ‘सभामुख रहँदाखेरि जुन काम हुन्थ्यो, अहिले पनि त्यहि काम भइरहेको अवस्था छ। विधेयक प्रमाणिकरण गर्न के गर्ने भन्नेमा भने परामर्श लिइरहेको छु,’ उनले भनिन्, ‘अहिले जुन घट्ना घट्यो यो बिल्कुलै नयाँ भएकाले हामी छलफल गरिरहेका छौं। विधेयक प्रमाणिकरण गर्नेबाहेक अन्य काममा कुनै असजिलो भएको महसुस मैले गरेको छैन।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…