काठमाडौँ, मङ्सिर २६ गते ।
यःमरी च्वामु’, उकी दुने हाक...
ब्युम्ह ल्यासे, मब्युम्ह बुरीकुति...
(मनपर्ने रोटी चुच्चो छ, त्यसभित्र कालो छ, दिने जवान, नदिने बुढी) भन्दै यःमरी माग्न जाने बेला युवकयुवती एकअर्कालाई जिस्क्याउनेसमेत गर्छन् । नेवार समुदायमा यही गीत गाउँदै बिहीबार यःमरी पूर्णिमा धुमधामसँग मनाइँदै छ । घरघरमा बिहानदेखि नै पूजा गरी ताइचिन चामलको यःमरी (मनपर्ने रोटी) पकाउने गरिन्छ ।
तर, सामूहिक रूपमा जम्मा हुँदै यःमरी माग्न जाने प्रचलन भने हराउँदै गएको छ । हाल यःमरी माग्ने चलन हराउँदै गएकोमा संस्कृतिविद् सत्यमोहन जोशी चिन्ता व्यक्त गर्नुहुन्छ । “देउसी भैलो सबैलाई थाहा छ, नेवारहरूले समेत देउसी भैलो मनाउन थाले तर यःमरी माग्ने आफ्नै संस्कृति बिर्से । यःमरी माग्न टाढा जाने पनि होइन, आफ्नै दाजुभाइ, छिमेकीकहाँ जाने हो । यो भाइचारा बढाउने पर्व हो माग्नुभन्दा पनि यो एकअर्कासँग यःमरी साटासाट गर्ने पर्व हो उहाँले भन्नुभयो ।
जोशीका अनुसार पहिला रोटीका नाममा सुक्खा रोटी मात्रै बन्थ्यो, अहिले जस्तो विभिन्न प्रकारका रोटी बनाइन्नथ्यो, पछि आफैँसँग भएका खाद्यान्नको उपयोग गरी नेवार समुदायमा यःमरीको विकास गरिएको हो । त्यसबेला तिलको धुलो, चाकुको झोललाई मिसाएर चामलको पीठोमा राखेर आधुनिक रोटीको विकास भएको उहाँको कथन छ । यसरी नयाँ प्रकारको रोटी बनाउँदा सबैलाई मिठो लागेको र सबैलाई मनपर्ने भएकाले यसको नाम ‘यगु मरी’ हुँदै हाल ‘यःमरी’ रहन गएको जोशीले जानकारी दिनुभयो ।
व्यावसायिक बन्न थाल्यो
विशेष अवसर र समयमा मात्रै बनाइने यःमरी अहिले बाह्रै महिना पाउन सकिन्छ । नेवार समुदायको परिचय बनेको यःमरी व्यावसायिक हुँदै गएको छ । इन्द्रचोकको गल्लीमा विगत १० वर्षदेखि यःमरीको व्यापार गर्दै आउनुभएकी सन्तमाया महर्जन भन्नुहुन्छ, “यःमरीको व्यापार पहिला पहिला अलि कम भए पनि अहिले राम्रो छ । ” दैनिक पाँच सयवटासम्म यःमरी बिक्री हुने जानकारी दिँदै आफूले चाकु, खुवा र मासको यःमरी बनाउने गरेको जानकारी दिनुभयो ।
यता संस्कृतिविद् ओम धौभडेलका अनुसार यःमरी किनबेच गर्ने वस्तु नभई दान गर्ने खानेकुरा हो । यःमरीलाई व्यावसायिक बनाए पनि त्यसको मौलिकता कायम हुनुपर्ने उहाँको धारणा छ । समय र समाज दुवै परिवर्तन भइसकेको छ । रेस्टुरेन्टदेखि क्याफेसम्म यःमरी बन्न थालेका छन् ।
संस्कृतिविद् धौभडेलले भन्नुभयो, “यःमरी बनाउनु भनेको लक्ष्मी भिœयाउनु हो । खेती गरेर आएको चामलको पहिलो पीठोबाट यःमरी बनाउनु भनेको लक्ष्मीको आगमन गराउनु हो । आधुनिकीकरणसँगै यःमरीमा आउने परिवर्तनले यःमरीको माग त बढाउला तर मौलिकता भने हराउँछ ।
नेवार समुदायमा यःमरीको विशेष महìव रहेको र जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक भएको संस्कृतिविद् जोशी बताउनुहुन्छ ।
यस्तो छ कथन
यःमरी पूर्णिमाबारे धार्मिक कथनअनुसार तत्कालीन पाँचाल (पनौती) देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा दम्पती भगवान् विष्णुका परम्भक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रकी श्रीमतीले ब्राह्मणरूपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाइन् ।
उनको सत्कार देखेर प्रशन्न भएका कुवेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर जानुभयो । त्यहीअनुरूप यःमरी पुन्हिको दिनमा पूजा गरी चढाएको यःमरी चार दिनपछि मात्र निकालेर प्रसादका रूपमा खाने चलन छ । जसले गर्दा भकारी सधैँ भरिभराउ हुने मान्यता रहिआएको छ ।